
काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको सम्पूर्ण सम्पत्ति र दायित्व मूल्यांकन (डीडीए) रिपोर्ट तयार भएको छ । बैंकको मर्जर समितिले गराएको ‘डीडीए’मा दुई बैंकबीच १:१ बराबरको स्वापमा मर्जरमा जान सकिने देखिएको हिमालयन बैंकको एक सञ्चालकले बताए ।
हिमालयन बैंकको यही फागुन २३ गते बस्ने सञ्चालक समितिमा बैठकमा डीडीए रिपोर्ट पेस हुने र सञ्चालक समितिको छलफलको आधार थप प्रक्रिया सुरु हुनेछ । केही समयअगाडि दुवै बैंकले मर्जरलाई निर्णायक रुपमा अगाडि बढाउने भन्दै कतिको स्वामा मर्जरमा जान सकिन्छ हेर्न भन्दै डीडीए गर्ने निर्णय गरेका थिए ।
हिमालयन बैंकका एक सञ्चालकका अनुसार डीडीएमा १:१ मै मर्जरमा जान सकिने देखिएको छ । ‘डीडीए’मा हिमालयन बैंकको भन्दा नेपाल इन्भेस्टमेन्ट बैंक केही सबल देखिए पनि सोही रेसियोमा दुई बैंक मर्जरमा जान सकिने देखिएको हो ।
तर, ‘डीडीए’ रिपोर्ट बैंकको सञ्चालक समितिमा पेस हुन बाँकी नै रहेकाले सञ्चालक समितिले कस्तो ‘इनिसियसन’ लिन्छ त्यसमा भर पर्ने स्रोत बताउँछ । बैंकले नेपाल इन्भेस्टमेन्ट बैंकबाट तथ्यांक मगाएर कतिको स्वापमा मर्जरमा जान सकिन्छ भन्ने निर्क्योल गर्न ‘डीडीए’ गरेको भए पनि अन्य बैंकसँग मर्जरको कुनै छलफल नै नभएको स्रोतको दाबी छ । “नेपाल इन्भेस्टमेन्ट र हिमालयन बैंकको ‘डीडीए’ गर्दा इन्भेस्टमेन्ट सामान्य अगाडि भए पनि १:१ को स्वापमा मर्जरमा जान सक्ने देखियो,” हिमालयन बैंकका एक सञ्चालकले बाह्रखरीसँग भने, “आइतबार बस्ने सञ्चालक समितिमा ‘डीडीए’ रिपोर्ट पेस हुँदै छ, सञ्चालक समितिले ‘डीडीए’ रिपोर्ट हेरेपछि थप छलफल अगाडि बढाउने भयो भने केही समयमा मर्जरको प्रारम्भिक सम्झौता होला । नत्र कुरा त्यहीँ टुङ्गिन्छ ।”
दुई बैंकबीच मर्जर सम्भावना न्यून देखिएको बैंक स्रोतको दाबी छ । हिमालयन बैंकमै पनि एक समूह मर्जरको विपक्षमा छ । मर्जरका लागि कुर्सी नै सबैभन्दा ठूलो बाधक बन्न सक्ने देखिएको स्रोत बताउँछ ।
अहिले दुवै बैंकमा ७/७ गरेर १४ जना सञ्चालक छन् । तर, मर्जरपछि बन्ने बैंकमा सातजना मात्रै सञ्चालक बन्न सक्नेछन् । त्यसमा हिमालयन बैंकबाट बढीमा तीनजना मात्रै सञ्चालक बन्न सक्ने देखिन्छ । विगतदेखि नै सञ्चालकको विषयमा विवाद हुँदै आएको बैंकमा ‘सञ्चालकमा को जाने ?’ भन्ने विषयमै सहमति हुने सम्भावना छैन ।
अर्कोतर्फ मर्जरपछि बन्ने बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे देखिएका छन् । त्यसका लागि हिमालयनका सीईओ अशोक राणालाई मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाउन पनि उनी तयार रहेको स्रोतको दाबी छ । तर, पाँडे एक कार्यकाल मात्रै भए पनि मर्जरपछि बन्ने बैंकको नेतृत्व गर्न चाहन्छन् । यदि आफूले बैंकको नेतृत्व गर्न नपाउने हो भने पाँडे मर्जरका लागि तयार नहुन सक्ने स्रोतको आकलन छ । हिमालयन बैंकको केही समूह पाँडेलाई अध्यक्ष स्वीकार्न तयार नरहेको स्रोत बताउँछ ।
मर्जरपछि बन्ने बैंकको नामका विषयमा ठूलो मतभिन्नता नरहे पनि पद व्यवस्थापन सबैभन्दा ठूलो समस्या देखिएको हो । यसले गर्दा बैंकको केही समूह मर्जरप्रति त्यति सकारात्मक नरहेको स्रोतले बतायो । नेपाल इन्भेस्टमेन्ट बैंकमा भने हिमालयन बैंकसँगको मर्जरका विषयमा ठूलो समस्या नरहेको स्रोत बताउँछ ।
दुवै बैंकका मुख्य सेयरधनीबीच पारिवारिक सम्बन्ध रहेकाले पनि मर्जर हुनेमा आशावादी देखिएका थिए । हिमालयन बैंक नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयनशमसेर राणाको नेतृत्वमा स्थापना भएको हो । नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे हुन् । उनी पनि हिमालयन बैंकको संस्थापकमध्ये एक हुन् । पाँडे हिमालयशमशेर राणाका ज्वाइँ पनि हुन् ।
अहिले पनि पाँडे हिमालयन बैंकका ठूला सेयरधनीमध्येका एक हुन् । यसबाहेक चिनी उद्योगी शशिकान्त अग्रवालको पनि दुवै बैंकमा बलियो होल्डिङ छ । दुवै बैंकमा केही समान सेयरधनी हु्नुले पनि हिमालन र इन्भेस्टमेन्ट बैंकको बजारलाई प्राथमिकता दिइएको छ ।
तर, हिमालयन र इन्भेस्टमेन्टको मर्जर लक्ष्मी र एभरेस्ट बैंकको जस्तै हल्लामै सीमित हुने अवस्था देखिएको स्रोतको दाबी छ । लक्ष्मी र एभरेस्टले पनि मर्जरमा जाने भन्दै डीडीएसम्म गराएका थिए । अन्तिममा मर्जरको सम्झौता हुन सकेको थिएन ।
हिमालयन बैंकले इन्भेस्टमेन्ट बैंकबाहेक अन्य बैंकसँग मर्जरको छलफल नगरेको स्रोत बताउँछ । “हाम्रो बैंकको मर्जर समिति गठन हुनुअघि सिभिल बैंकले पत्र लेखेर मर्जरको औपचारिक प्रस्ताव गरे पनि बैंकसँग कुनै छलफल भएन,” स्रोतले बाह्रखरीसँग भन्यो, “अन्य कुनै पनि बैंकसँग छलफल भएको छैन दुवै बैंकको पहिलो प्राथमिकता एक-अर्कासँग मर्जर हुनुपर्छ भन्ने नै हो ।”
स्रोतका अनुसार बैंकको सञ्चालक समिति र व्यवस्थापन नेतृत्वको विषय नै दुई बैंकबीचको मर्जरमा बाधक बन्ने अवस्था देखिएको छ । दुई बैंक मर्जर भएर बन्ने बैंकको पुँजीकोष करिब ५० अर्बको हुने र उक्त बैंकले जतिसुकै ठूलो परियोजनामा लगानी गर्न सक्ने भएकाले मर्जरमा जोड दिए पनि छलफल भने सकारात्मक हुन नसकेको स्रोतको दाबी छ ।
अहिले अन्य बैंकले स्वाप गरेर लगेको कर्जा पनि ठूलो र बलियो बैंक भयो भने आफैं फर्कन भन्दै मर्जरको विकल्प नरहेको उनले बताए । अहिले ग्लोबल आईएमई बैंकले ठूलो बैंक हुँदा पाएको व्यावसायिक लाभ भोलि हिमालयन र इन्भेस्टमेन्ट बैंकले उठाउन सक्ने सम्भावना रहे पनि केही पदीय स्वार्थले मर्जर सम्भावना न्यून बन्दै गएको देखिन्छ । यदि हिमालयन र इन्भेस्टमेन्ट बैंक मर्जर हुने हो भने अरुलाई पनि मर्जरको दबाब पर्ने देखिन्छ ।