site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर बजारमा तरलताको त्रास कि राजनीतिक भय ?

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारमा उतार–चढाव कायम देखिएको छ । बुधबार प्रिओपन सेसनमा नै ६ अंकले घटेर २४४९.२३ अंकमा खुलेको नेप्से तीव्र उचार–चढावबीच ३९.२३ अंकले घटेर २४१६.०१ अंकमा बन्द भएको छ ।

बुधबार २४४९ अंकको विन्दुमा खुले पनि नेप्से ‘इन्ट्रा–डे’ कारोबारमा २४०० अंकको विन्दुबाट तल झरेर २३९१.१४ अंकसम्म झरेको थियो भने २४५३.६७ अंकको उच्च विन्दुसम्म पुगेको थियो ।

अघिल्लो आइतबार २६४० अंकको ऐतिहासिक उचाइमा पुगेको नेप्से गत साता र यो साताको आज चौथो कारोबार दिनमा आउँदा २२५ अंकले घटिसकेको छ । यो साता मात्रै चार कारोबार दिनमा १ दिन सोमबार ४० अंकले वृद्धि हुँदा पनि समग्रमा नेप्से १४० अंकले घटिसकेको छ ।

धितोपत्र दलाल व्यवसायी भरत रानाभाट अनलाइन ट्रेडरले गर्दा सेयर बजारमा बढी उतार–चढाव देखिएको बताउँछन् । बजार बढ्न लाग्दा किन्न पाइँदैन कि भनेर खरिद चाप एकैपटक बढाउने र घट्न लाग्दा बेच्न पाइँदैन कि भनेर बिक्री चाप बढाउढा सेयर बजारमा बढी उतार–चढाव देखिएको उनको दाबी छ । यद्यपि, बजार परिसूचक १२/१३ सय हुँदा र अहिले २५/२५ सय हुँदाको घटबढ प्रतिशतमा हेर्ने हो भने उस्तै रहेको उनको दाबी छ ।

नेप्से तल हुँदा १०/२० अंकले घटबढ हुँदा पनि प्रतिशतमा डेढ/दुई प्रतिशत घटबढ भइरहेको हुने र अहिले नेप्से माथि हुँदा डेढ/दुई प्रतिशतले नै घटबढ हुँदा अंकमा भने ठूलो देखिएको उनको बुझाइ छ । “बजारमा ८/१० प्रतिशतको घटबढलाई सामान्य मानुपर्छ । अहिले पनि समग्र बजार हेर्दा १० प्रतिशतले छटेको छैन,” उनले भने, “अनलाइन ट्रडेर बढिरहँदा बजार बढ्न लाग्यो भने पुनः ह्वात्तै माथि जान पनि सक्छ । आज पनि सुरुमा नै ३०/३१ अंकले घटेको नेप्से केही समयमै फर्किएर माइनस १ अंकमा पुग्यो । त्यसपछि ६२/६३ अंकले घटेर पुनः माइनस ३० अंकसम्म पुग्यो भने पुनः ५० अंकले झरेर बन्द हुने बेलामा ४० अंकले मात्रै घट्यो । त्यसैले यो अनलाइन ट्रेडरले गर्दा बढी उतार–चढाव भएको हो ।”

सेयर विश्लेषक निरव पुडासैनी भने हिजोको दिनमा यसरी छोटो समयमा नै बजार बढेर यति माथि पुग्नुपर्ने कारण पनि कुनै नरहेको भन्दै अहिले घट्नुको पनि कुनै त्यस्तो कारण नभएको बताउँछन् । यद्यपि, अहिले बैंकिङ प्रणलीमा तरलता कम हुँदै जाँदा ब्याजदर बढ्ने र सेयर कर्जा नपाइने हो कि भन्ने त्रासले पनि सेयर बजार प्रभावित भएको उनको बुझाइ छ ।

“बैंकहरुमा तरलता घट्दै जाँदा ब्याजदर बढ्ने र सेयर धितो कर्जा नपाइने हो कि भन्न त्रास पनि देखिएको छ । यद्यपि, बैंकहरुले भने विगतको जस्तो अवस्था अहिले नआउने बताइरहेका छन्,” उनले भने, “अर्कोतर्फ कम्पनीको आधारभूत (फन्डामेन्टल) अवस्थाको विश्लेषण नगरी कतिपय कम्पनीको सेयर मूल्य हल्लाको भरमा पनि बढाएका थिए, जुन कुनै न कुनै दिन घट्नै थियो । अर्कोतर्फ, छोटो अवधिमा बजार धेरै माथि जाँदा ट्रेडरले नाफा बुक गर्दा पनि अहिले नेप्सेमा बढी नै उतार–चढाव देखिएको छ ।”

अर्कोतर्फ, प्रतिनिधिसभा पुनर्गठन भएसँगै थप अन्योल बनेको राजनीतिले पनि सेयर बजार प्रभावित भएको सेयर विश्लेषक पुडासैनी बताउँछन् । अबको राजनीतिक कोर्स कता जान्छ भन्ने अन्योलको वातावरण रहेको अवस्थामा ट्रेडरहरुले नाफा बुक गरौँ भनेर बिक्री बढाउँदा पनि सेयर बजार घटेको उनको दाबी छ । राजनीतिक अन्योलता समाधान नहुँदासम्म सेयर बजारमा उचार–चढाव देखिनसक्ने उनी बताउँछन् ।

उनले भनेजस्तै बैंकमा तरलता कम हुँदै जाँदा ब्याजदर कोभिड–१९ अगाडिकै जस्तो उच्च हुने हो कि भन्ने आशंका पनि बजारमा देखिएको छ । बैंकरहरु भने बैंकमा तरलता केही कम भए पनि राष्ट्र बैंकले पुनर्कर्जा बजारमा पठाइरहेको र सरकारले पनि आर्थिक वर्षको अन्त्यतिर आउँदा पुँजीगत खर्च बढाउने भएकोले बैैंकमा सामान्य ब्याजदर बढे पनि तत्कालै तरलता अभाव हुने र ब्याजदर पहिलेकै जस्तो उच्च हुने सम्भावना नरहेको बताउँदै आएका छन् ।

विशाल बजार कम्पनीको कारोबार रोक्का भए पनि एक मात्रै कम्पनीका कारोबार हुने व्यापार उपसूचक साल्ट ट्रेडिङको मूल्यमा सकारात्मक सर्किट लाग्दा ९.२६ प्रतिशतले बढेको छ । यस्तै, चन्द्रागिरि हिल्सको सेयर मूल्यमा लागेको सकारात्मक सर्किटले होटेल तथा पर्यटन उपसूचक पनि १.६५ प्रतिशतले बढेको छ ।

अन्य उपसूचकमा सर्वाधिक ४.२३ प्रतिशको गिरावट हुँदा इन्भेस्टमेन्ट उपसूचक २.३६ प्रतिशत र जीवन बिमा उपसूचक २.६९ प्रतिशतले घटेको छ । यस्तै, बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.९९ प्रतिशले घटेको छ ।

नेप्सेको ओरालो यात्रा सुरु भएसँगै बजारमा कारोबार रकम पनि घट्दै गएको छ । गत सातासम्म औसतमा नै ८ अर्बमाथिको कारोबार भइरहेको नेप्सेमा यो साता भने मुस्किलले ६ अर्बको आसपासमा कारोबार भइरहेको छ । आज बजारमा सवा ६ अर्बको कारोबार भएको छ ।

आज नेप्सेमा ६३ हजार ६७४ पटकमा २१२ कम्पनीको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २५ करोड ४८ लाख ९ हजारको कारोबार भएको छ । नेप्सेमा नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा धेरै २९ करोड ९७ लाख ६ हजारको कारोबार हुँदा एसियन लाइफको २८ करोड ९ लाख ७५ हजारको कारोबार भएको छ । नेप्से लगातार ओरालो लाग्दा पनि चन्द्रागिरि हिल्स र साल्ट ट्रेडिङ कर्पोरेनसको सेयर मूल्यमा भने आज पनि सकारात्मक सर्किट लागेको छ ।

यता, एसियन लाइफ र बरुण हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतमाथिले घट्दा नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य पनि करिब ६ प्रतिशतले घटेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro