काठमाडौं । नेपालमा दुई धारका चलचित्र निर्माण भइरहेका छन् । भलै यसलाई केही चलचित्रकर्मी स्विकार गर्छन् भने केहीले अस्विकार गर्दै आएका छन् । बलिउड सूत्रमा आधारित रहेर निर्माण गरिने एकखालका चलचित्र र उक्त सूत्रबाहिर रहेर निर्माण गरिने चलचित्र ।
अक्सर बलिउड सूत्रमा रहेर पुराना निर्देशक तथा निर्माताहरुले चलचित्र निर्माण गरिरहेका छन् भने नयाँ मेकरहरुले नयाँ चलचित्र निर्माण गर्दैै आएका छन् । चलचित्र निर्माणको यो आधारलाई हर्ने हो भने बलिउड सूत्रमा आधारित रहेर निर्माण भएका चलचित्रलाई नेपाली बजारका लागि केन्द्रित रहेर निर्माण भएको मानिन्छ । जसमा पहिलो लक्ष्य ‘विजनेस’को हुन्छ । यसमा आर्टलाईभन्दा पनि विजनेशलाई केन्द्रमा राखिन्छ । सूत्रमा बन्ने चलचित्रमा चारवटा गीत, तीनवटा फाइट, लभ, रोमान्स, अवरोध र अन्त्यमा हिरो–हिरोइनको विजय प्रायः अनिवार्य पक्ष हो । फरक धारका चलचित्रमा गीत र फाइटलाई अनिवार्य मानिँदैन भने बलिउड फर्मुलाका चलचित्रमा जस्तो गठिलो र वलिष्ठ शरीर भएको हिरो र आकर्षक नायिका मात्रै यसमा मुख्य पात्र हुँदैनन् ।
विदेशी बजारका लागि चलचित्र बनाउने निर्देशकमा नवीन सुब्बा, छिरिङ रितार शेर्पा, मीन भाम, दीपक रौनियारलगायत छन् । यसैगरी विनोद पौडेल, नरेश कुमार केसी, सुजित विडारीले पनि फरक धारका फिचर फिल्म निर्माण गरेका छन् ।
यी बाहेक अधिकांश निर्देशकहरुले नेपाली बजारलाई केन्द्रित गरेर चलचित्र निर्माण गरिरहेका छन् । दीपाश्री निरौला, रामबाबु गुरुङ, दिनेश राउत, झरना थापा, भुवन केसी, निश्चल बस्नेत, प्रदीप भट्टराई, सन्तोष सेन, विकास आचार्य, निश्चल बस्नेत, दीपेन्द्र के खनाल, सुदर्शन थापा, दिपेन्द्र लामा, हेमराज विसी, छवी ओझा, दिवाकर भट्टराई आदि नेपाली बजारमा केन्द्रित रहेर चलचित्र निर्माण तथा निर्देशन गरिरहेको निर्देशक केपी पाठक बताउँछन् ।
“नेपाल र नेपालबाहिर दुबै बजारका लागि एकसाथ चलचित्र निर्माण हुनुपर्छ । आम दर्शकलाई लक्षित गरेर पनि चलचित्र बनाउनु पर्ने साथसाथै विदेशमा नेपाली चलचित्र पुर्याउन पनि एकसाथ चलचित्र बनाउनु पर्छ,” पाठक भन्छन् । चलचित्र उद्योगलाई ‘सस्टेन’ गर्न पनि घरेलु बजारका चलचित्र पनि ठूलो संख्यामा बन्नु आवश्यक रहेको उनको भनाइ छ ।
दुई प्रतिशत दर्शकले मात्रै नेपाली चलचित्र हेरिरहेको भन्दै चलचित्र निर्देशक नरेशकुमार केसी यसको दायरा अझ फराकिलो बनाउनु पर्ने बताउँछन् । “बजार केन्द्रित चलचित्रमा जुन परिमाणमा लगानी भइरहेको छ । त्यही परिमाणमा आर्ट मुभीमा पनि लगानी हुनुपर्छ । जुन चलचित्र फेष्टिभलमा जान सक्छन् ।” नेपालमा सामान्यतया दुई प्रतिशतभन्दा पनि कमले चलचित्र हेर्ने गरेका छन् । यही दुई प्रतिशतलाई मात्रै लक्षित गरेर चलचित्र निर्माण गर्नुभन्दा विदेशी बजार पनि खोज्दै चलचित्रमा लगानी गर्नुपर्ने उनको भनाइ छ ।
चलचित्र जुनसुकै दर्शकलाई लक्षित गरेर बनाए पनि राम्रो बनाउन सके त्यसले विश्वभरको ध्यान खिच्न सक्ने निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठ बताउँछन् ।
“चलचित्र गुणस्तरीय हुनुपर्छ । राम्रो हुँदै जानुपर्छ । बजारलाईभन्दा गुणस्तरलाई महत्त्व दिएर बनाउन सके फेष्टिवललाई लक्षित गरे पनि सबैले मन पराउँछन् । नेपाली दर्शकलाई मात्रै लक्षित गरे पनि त्यही चलचित्र फेष्टिवलमा पनि पुग्छ,” प्रचण्डमान भन्छन्, “धेरै राम्रो चलचित्र बनेको छ भने त्यसले स्वतः नेपालबाहिर जाने हैसियत राख्छ । व्यवसायिक भनेर बनाए पनि फेष्टिभलमा अवसर पाइरहेकै छ ।”
व्यवसायिक भनेर निर्माण गरिएको भारतीय चलचित्र ‘गल्ली व्वाई’ बर्लिन फिल्म फेष्टिवलमा प्रिमियर भएको भन्दै उनी राम्रो चलचित्रले आफैं दर्शक खोज्नेमा ढुक्क रहन आग्रह गर्छन् ।
“प्यारासाइट कोरियन दर्शक र फेष्टिभललाई भनेर बनाइएको चलचित्र संसारभर ब्लकबस्टर भयो । भारतमा नचलेको लञ्च बक्स अमेरिकामा सुपरहिट भयो,” उनी भन्छन्, “राम्रो चलचित्र बनाएको खण्डमा, त्यसले दर्शक पाउँछ नै ।”
व्यवसायिक चलचित्र होस् अथवा आर्ट मुभी दुबैमा मौलिक कुरालाई समेट्दै गुणस्तरमा सम्झौता नगरेको खण्डमा चलचित्रको बजार सधैं सबै ठाउँमा खुला हुनेमा प्रचण्डमानको विश्वास छ ।
बर्सेनि दर्जनौं चलचित्र बन्ने नेपाली चलचित्र उद्योगमा नेपाली बजार र फेष्टिवलका लागि भनेर कथा लेखनदेखि नै भिन्न तरिकाले काम गर्ने चलन छ । फेष्टिभल लक्षित चलचित्रको कथा नै ग्रान्टका लागि प्रतिस्पर्धा गरेर लगानी जुटाउने गरिँदै आएको छ ।