
काठमाडौं । गएको साताबाट सुरु भएको सेयर बजारको उतार–चढावले आज पनि निरन्तरता पाएको छ । विभिन्न हल्ला फैलाउने र बजारमा चलखेल गर्नेहरु हावी हुँदा सेयर बजार प्रभावित बनेको छ ।
सेयर बजारमा सूचक घटबढ हुनु स्वाभाविक भए पनि केही दिनयता बजारमा असामान्य रूपमा घटबढ हुँदा चलखेल भएको आशंका समेत हुन थालेको छ । साताको तेस्रो कारोबार दिन नेप्से ५९.७७ अंकले करेक्सन भएर २४५५.२६ अंकमा बन्द भएको छ ।
गएको साता सोमबार २६४० अंकको ऐतिहासिक उचाइमा पुगेर घट्न सुरु भएको सेयर बजारमा गएको साता ३ प्रतिशतमाथिको करेक्सन भयो ।
यो साता आइतबारदेखि नै अत्यकिध उतार–चढाव देखिएको नेप्सेमा आइतबार करिब ८० अंकको भारी गिरावट भयो भने सोमबार पनि तीव्र उतार–चढावका बीच नेप्से करिब ४० अंकले बढेर बन्द भयो । तर, आज मंगलबार पुनः घट्ने क्रमले निरन्तरता पाएको छ । पछिल्लो केही दिनयता सेयर बजारमा देखिएको उतार–चढाव स्वाभाविक नभएको बजारका जानकारहरु बताउँछन् ।
जिम्मेवार निकायका अधिकारीहरु नै अनौपचारिक रूपमा बजार अस्वाभाविक भएकाले यसलाई साइजमा ल्याउने भन्दै हिँड्दा सेयर बजार प्रभावित भएको एक दलाल व्यवसायले बताए । “सेयर बजार घटबढ हुनु स्वाभाविक हो । अहिले लगानीकर्ताले नाफा बुक गर्दा बजार परिसूचकमा उतार–चढाव देखिएको चर्चा भए पनि जिम्मेवार निकायका अधिकारीकै गैरजिम्मेवारीपना हो,” एक दलाल व्यवसायले बाह्रखरीसँग भने, “अर्थ मन्त्रालय, नियामक नेपाल धितोपत्र बोर्ड र राष्ट्र बैंकजस्तो निकायका अधिकारीहरु नै अनौपचारिक रूपमा अहिलेको सूचक अस्वाभाविक भएको भन्दै यसलाई साइजमा ल्याउने बताउँदै हिडेका छन् ।”
केही सरोकारवाला उच्च अधिकारी नै ‘यो अस्वाभाविक भयो, यसलाई ठाउँमा राख्नुपर्छ’ भनेर लागेको ती दलाल वयवसायीको दाबी छ । अहिले सेयर बजारमा ठूला खेलाडी मात्रै नभएर पदमा बसेका जिम्मेवार अधिकारीहरुले नै अनौपचारिक रूपमा ‘यस्तो पनि बजार हुन्छ, अहिलेको अवस्थामा यो स्वाभाविक होइन, यसलाई साइजमा ल्याउँछु’जस्ता कुरा गर्ने गरेको स्रोत बताउँछ । जसको नतिजा सेयर बजारमा देखिएको हो ।
कुनै प्रभावबिना स्वतन्त्र रूपमा छोड्नुपर्ने अनि संवेदनशील बजारमा जिम्मेवार अधिकरी नै गैरजिम्मेवार बन्दै जाँद सेयर बजारमा अस्वाभाविक उतार–चढाव देखिएको हो ।
आज मंगलबार पनि नेप्सेमा ९५ अंकको उतार–चढाव देखिएको छ । आज २५२३.४६ अंकको विन्दुमा खुलेको नेप्सेले आजको इन्ट्रा–डे कारोबारमा २५३१.१५ अंकको उच्च विन्दु र २४३६.३५ अंकको न्यून विन्दुको बीचमा घुमेको थियो ।
नेप्सेमा साल्ट ट्रेडिङ लिमिटेडको मात्रै कारोबार भइरहेको वयापार उपसूचक ९.१८ प्रतिशत र होटेल तथा पर्यटन उपसूचक ०.८ प्रतिशतले बढे पनि त्यसबाहेकका सम्पूर्ण उपसूचकमा गिरावट देखिएको छ ।
५ कम्पनी सूचीकृत भएको होटेल तथा पर्यटन उपसूचक पनि चन्द्रागिरि हिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा हरियो बन्न पुगेको हो । आज नेप्सेमा जीवन बिमा उपसूचक सर्वाधिक ३ प्रतिशतले घट्दा लघुवित्त उपसूचक ६१ प्रतिशत, निर्जीवन बिमा उपसूचक २.६५ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसूचक २.७६ प्रतिशत र बैंकिङ उपसूचकमा पनि २.५ प्रतिशतको गिरावट भएको छ । यस्तै, अन्य, विकास बैंक र हाइड्रोपावर उपसूचक पनि २ प्रतिशतमाथिले घटेका छन् ।
नेप्सेमा ठूलो अंकको गिरावट भए पनि कारोबार रकम भने सोमबारको तुलनामा बढेको छ । सोमबार करिब ५ अर्ब ७० करोडको कारोबार भएको बजारमा आज ६ अर्ब नाघेको छ । यद्यपि, पछिल्लो केही साता यताको औसत कारोबारभन्दा आजको कारोबार कम हो । पछिल्लो केही साता औसतमा नै ८ अर्बमाथिको कारोबार भइरहेको थियो ।
आज नेप्सेमा ६४ हजार ७८७ पटकको कारोबारमा २०८ कम्पनीको १ करोड ३१ लाख ६ हजार ७३८ कित्ता सेयर कारोबार हुँदा ६ अर्ब ११ करोड ९६ लाख ३९ हजारको कारोबार भएको छ । आज नेप्सेमा एसियन लाइफको सबैभन्दा धेरै २८ करोड २६ लाख ९४ हजारको कारोबार भएको छ । यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा धेरै ८ हजार ७९० पटकको कारोबारमा २५ करोड ८० लाख ७१ हजारको सेयर किनबेच भएको छ ।
नेप्सेमा साल्ट ट्रेडिङ र चन्द्रागिरि हिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा हिमालयन पावर पार्टनर, हाइड्रो इलेक्ट्रिसिटी एन्ड डेभलमेन्ट कम्पनी, मेरो माक्रोफाइनान्स र गुड्विल फाइनान्सको सेयर मूल्यमा मात्रै वृद्धि हुँदा सबैजसो कम्पनीको सेयर मूल्य घटेको छ ।
नेपाल हाइड्रो डेभलपर्स कम्पनी, कर्पोरेट डेभलमेन्ट बैंक, सिनर्जी पावर र साधना लघुवित्त भने सेयर मूल्य घट्नेमा अगाडि रहेका छन् ।