काठमाडौं । वसन्तपुर दरबार क्षेत्रमा अहिले फूलसहितका गमला राखिएको छ । दैनिक कोही मूर्ति र गमलामा रङरोगन गर्दै गरेका भेटिन्छन् त कोही गमलामा पानी हाल्दै गरेका देखिन्छन् ।
नेपाली सेना र सम्पदा संरक्षण अभियन्ता हनुमानढोका दरबार क्षेत्र वरिपरि अनुगमनमा खटिएका छन् । फोहोर फाल्न नदिन र फुटपाथ व्यापार गर्न नदिन उनीहरु तल्लीन हुन्छन् ।
फुटपाथ र पार्किङ हटाइ गमला
यही फागुन ३ गते वसन्तपुरको गुरुजुको पल्टन (नेपाली सेना) र काठमाडौं महानगरपालिकाले सरोकारवाला सबै निकायलाई एकैठाउँमा ल्याएर सम्पदा संरक्षण अभियान सुरु गर्यो । अभियानले दरबार क्षेत्रभित्र पार्किङ गर्न, फुटपाथ व्यापार गर्न रोक लगाउँदै पार्किङ क्षेत्र र फुटपाथ क्षेत्रमा गमलाले सजाउने योजना बनाएको छ ।
गुरुजु पल्टनका सेनानी विकास शाक्यका अनुसार सांस्कृतिक नगरी क्षेत्र महामारी अवधिभर अस्तव्यस्त भएको थियो । ‘‘३ गतेदेखिको अभियानले ठूलो परिवर्तन ल्याएको छ । सुरक्षित हनुमानढोका कायम राख्न र पर्यटन प्रवद्र्धन गर्न फुटपाथ र पार्किङ क्षेत्र हटाएर गमला राखेका छौँ । सबै सुरक्षा निकाय एक ठाउँमा नआउँदा यसअघि राखिएका गमला कसैले चोरेर लगे त कसैले फुटाए,” उनले भने, ‘‘अहिले सबै निकाय एक ठाउँमा आएर सुरक्षा दिइरहँदा सबै व्यवस्था मिल्दै गइरहेको छ । पहिला बेवारिसे रूपमा राखिएका गमलालाई सुरक्षा गर्न पाइएन ।”
तीन महिनाअगाडि अमेरिकाबाट आएका ओमबहाल निवासी सूर्यराज श्रेष्ठले ३० हजार रुपैयाँ गमला किन्न भनी सेनानी शाक्यलाई दिए । उक्त रकमले गुरुजुको पल्टनले भक्तपुरबाट गमला ल्यायोे । सेनानी शाक्य भन्छन्, ‘‘नेपाली सेनाले आफैँले गमला रङरोगन गरी तयार बनायौँ । ती गमला सजाएर राख्यौँ । त्यसपछि मनकामना केबलकारका प्रमुख राजुबाबु श्रेष्ठले पनि १०० वटा फूल दिए । गमला किनेर त्यसलाई पनि दरबार क्षेत्रमा सजाएर राख्यौँ । यसबाट थप दरबार क्षेत्रको शोभा बढ्दै गएको छ ।”
नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठ सेनानी शाक्यका साथी हुन् । उनले सेनानीलाई तीन÷तीन महिनामा ४०० वटा फूल दिने गरेका छन् । ती फूललाई राख्न काठमाडौं महानगरपालिका वडा नम्बर–१९, २०, २३ र २४ को पहलमा हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमबाट गमला राख्ने स्ट्यान तयार गरियो । गमला कसले संरक्षण गर्ने र कसले पानी हाल्ने भनी योजना बनाइयो । त्यसबमोजिम गमलाको पछाडिपट्टिको स्ट्यानमा कार्ड बनाएर वसन्तपुर क्षेत्रभित्रका सम्बन्धित निकाय र संघ–संस्थाको नाम राखियो । यसले सबैलाई आफ्नो पनको अनुभूति गराउने र नाम राखेका संघ–संस्थाले पनि हेरचाह गर्ने भए । यति भएपछि गमला सुरक्षित हुने गुरुजु पल्टनको अपेक्षा छ । यतिमात्रै होइन, सेनानी शाक्यले गमला नर्सरी बनाउने योजना पनि अघि सारेका छन् ।
विश्व सम्पदा क्षेत्रमा फुटपाथ व्यापार निरुत्साहित गर्नको लागि स्थानीय बासिन्दाको अगुवाइमा जनचेतना जगाउने कार्यक्रम पनि रहेको उनले जानकारी दिए ।
अभियन्ता भन्छन्...
सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा व्यवस्थापन र संरक्षणको कार्यको थालनी भएको बताए । महामारीको समयमा दरबार क्षेत्र अस्तव्यस्त बन्दै गएकाले अहिले व्यवस्थित बनाउने अभियान थालेको उनी बताउँछन् । उनी भन्छन्, ‘‘फुटपाथ व्यापार गरेर जताततै फोहोर फाल्थे । तर, अहिले भने त्यो गर्न पाइँदैन । पुरातात्विक महत्वको हनुमानढोका दरबार क्षेत्र कोरोना महामारीसँगै अस्तव्यस्त हुन पुगेको थियो । फुटपाथ पसल, पार्किङ क्षेत्रले गर्दा अस्तव्यस्त भएको ठाउँलाई व्यवस्थित गर्न सामूहिक रूपमा यस्तो निर्णय निकालियो । यसअघि पनि यस्तो प्रयास नगरेको भने होइन । अभियन्ता मात्रै भएकाले योजना पूरा भएन । तर, अहिले भने प्रतिफल प्राप्त गर्न सफल भएका छौँ ।”
सांस्कृतिक बाजा सिक्दै गुरुजुको पल्टन
नेपाली सेनाको टोलीले प्राचीन नेवारी सांस्कृतिक बाजा सिकिरहेको छ । नेपाली सेना गुरुजुको पल्टनमा १७० जनाको टोली छ । टोलीका केहीले सांस्कृतिक बाजा सिकिरहेका सेनालाई धिमेबाजा सिकाउँदै आएका बज्र कलाकुञ्जका बाजा प्रशिक्षक सुदनमान मुनिकारले बताए ।
नेपाली सेनाकै ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको यस पल्टनले काठमाडौं, ललितपुर, भक्तपुरलगायत बाहिरी जिल्ला गरेर ५६ वटा जात्रा–पर्वमा सहभागिता जनाउने गर्छ । ‘‘हनुमानढोका दरबार क्षेत्रमा पनि सांस्कृतिक बाजा बजाउँदा स्थानीय खुसी हुन्छन्,’’ ‘उनले भने, ‘‘हनुमानढोका दरबार क्षेत्र नेवारी सांस्कृतिक नगरी हो । यस नगरीभित्र नेपाली सेनाको टोलीले नेवारी प्राचीन बाजा बजाएर जात्रा गर्दा संस्कृतिप्रति लगाव देखिन्छ । उत्साह बढ्छ । जात्राको रौनक पनि पनि छुट्टै कायम हुन्छ ।” अर्का प्रशिक्षक धर्म मुनिकारले बाँसुरी वाद्यवादन सिकाइरहेका छन् ।
मूर्ति सिंगारपटारको काममा गुरुजुको पल्टन
दरबार क्षेत्रका मूर्तिको चमक पनि बढ्दै गएको छ । उक्त पल्टनले मूर्तिमा रङरोगन गर्ने काम गर्दै आएको छ । मूर्तिकै कारणले मन्दिर परिसरको आकर्षण बढ्ने सेनाको ठम्याइ छ । मासिक रूपमा मूर्ति तेल लगाएर सम्पदाको चमक निकाल्ने काम भइरहेको पल्टनले जनाइएको छ ।