काठमाडौं । बैंकहरूको वित्तीय विवरणमा कोभिड १९ को प्रभाव देखिएको छ । सञ्चालनमा रहेका २७ मध्ये २६ वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । जसमध्ये अधिकांशको खुद मुनाफा घटेको छ । राष्ट्रिय वाणिज्य बैंकले भने वित्तीय विवरण गर्न बाँकी छ ।
कोभिड १९ को कारण बैंकहरूमा भएको अधिक तरलताले गर्दा बैंकहरूको ब्याज खर्च बढेको छ । अर्कोतर्फ अधिक तरलताले गर्दा बैंकहरूको कर्जा खोसाखोसको अवस्था देखिएको थियो । जसले गर्दा आफ्नो व्यवसाय जोगाउन बैंकहरूले कर्जाको ब्याजदर घटाए भने न्युट्रल फन्ड राख्नुभन्दा कम कम स्प्रेडमा भए पनि कर्जा लगानी गर्न बैंकहरूबीच भएको प्रतिस्पर्धाले स्प्रेड रेट घटेको छ । जसको प्रभाव बैंकहरूको आम्दानीमा पनि देखिएको छ ।
बैंकहरूले व्यवसाय विस्तार गरेर ब्याजबाट प्राप्त हुने आम्दानी बढाए पनि न्युट्रल फन्ड धेरै हुँदा बैंकहरूको निक्षेपको लागत बढ्न पुग्यो । जसले गर्दा बैंकहरुको खुद ब्याज आम्दानी नै घटेको छ । जसको प्रत्यक्ष प्रभाव बैंकहरूको खुद मुनाफामा परेको हो ।
२०७६ पुस मसान्तमा २६ वाणिज्य बैंकले ३० अर्ब २१ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा कमाएकामा चालु आर्थिक वर्षको सोही अवधिमा २९ अर्ब ३२ करोड ४३ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.३१ प्रतिशतले कम हो ।
बैंकहरूले कोभिडको प्रभावका कारण प्रभावित उद्योग व्यवसाय अझै पूर्ण रुपमा सञ्चालनमा नआउँदा प्रोभिजन पनि बढाएका छन् । अर्कोतर्फ बैंकहरूमा अधिक तरलता रहँदा ब्याज खर्च बढेको र ब्याज खर्च बढेको छ । भने अर्कोतर्फ स्प्रेड रेटमा संकुचनको कारण खुद ब्याज आम्दानी पनि घटेको छ । जसलाई पनि बैंकहरूको खुद नाफा घट्नुको कारणका रुपमा लिनुपर्ने हुन्छ ।
कोभिडपछि कर्जा लगानीमा आक्रामक बन्दै बैंकहरू
पुस मसान्तको वित्तीय विवरणले बैंकहरूको वास्तविक चित्रण गर्न नसक्ने वित्तीय क्षेत्रका जानकारहरू बताउँछन् । बैंकहरूले प्रकाशित गरेको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणलाई गत आर्थिक वर्षको सोही अवधिको वित्तीय विवरणसँग तुलना गर्न नमिल्ने पूर्वबैंकर अनलराज भट्टराई बताउँछन् । कोभिडले थलिएको अवस्थामा बैंकहरूको पुस मसान्तको वित्तीय विवरणलाई सन्तोषजनक मान्नुपर्ने उनको भनाइ छ ।
कुनै बैंकले राष्ट्र बैंकले तोकेजति मात्रै प्रोभिजन गरेको र कुनै बैंकहरूले राष्ट्र बैंकले तोकेभन्दा बढी प्रभोजिन पनि गरेको हुनसक्ने भट्टराईको तर्क छ । अहिलेको अवस्थामा बैंकहरूले प्रोफिटाबिलिटीभन्दा पनि वित्तीय स्थायित्वलाई बढी ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
“गत वर्ष कोभिडको प्रभाव नहुँदै आएको वित्तीय विवरण र अहिलेको वित्तीय विवरण तुलना गर्नै मिल्दैन,” उनले भने, “कोभिडको प्रभावपछि बल्ल आर्थिक क्षेत्र लयमा फर्किंदै गरेकाले अहिले आएको प्रोफिटाबिलिटीले बैंकको वास्तविक अवस्थालाई प्रतिबिम्बित गर्दैन ।”
कसैले पछि प्रोभिजन बढाउनुपर्छ भनेर तोकेभन्दा बढी प्रोभिजन पनि गरेको हुनसक्छ त्यसैले गत वर्षसँग यो वर्षको मुनाफा तुलना गर्न नमिल्ने उनको दाबी छ । कोभिड महामारीपछि पनि वित्तीय क्षेत्रको स्थायित्वमा ठूलो असर नपरेको झलक बैंकहरूको वित्तीय विवरणले देखाएको उनको तर्क छ ।
उनले भनेजस्तै स्वस्थ बैंकिङ गर्ने भनेर पहिचान बनाएका एभरेस्ट, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबीआई तथा हिमालयन जस्तो बैंकहरूको मुनाफा सबैभन्दा बढी घटेको देखिन्छ । कर्जा विस्तारमा एग्रेसिभ देखिएका सिभिल बैंकको पनि मुनाफा धेरै घट्नेमा छ ।
मुनाफा बढाएका बैंकहरूमा कुमारी बैंकले राष्ट्रिय स्तरको देव विकास बैंकलाई गाभेर एकीकृत कारोबार गरेको छ भने प्राइम कमर्सियल बैंकले राष्ट्रिय स्तरको कैलाश विकास बैंकले क्षेत्रीय स्तरको सहयोगी विकास बैंक, मेगा बैंकले राष्ट्रिय स्तरको गण्डकी विकास बैंकलाई गाभेको छ ।
एनएमबी बैंकले गत आर्थिक वर्षको अन्त्यमा कञ्चन विकास बैंकलाई गाभेको थियो भने दोस्रो त्रैमासमा ओम डेभलपमेन्ट बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरेको थियो । यस्तै ग्लोबल आईएमई बैंकले पनि गत आर्थिक वर्षको दोस्रो त्रैमासको बीचमा जनता बैंकलाई मर्जर गरेर एकीकृत कारोबार सुरु गर्दा जनता बैंकले मर्जरअगाडि कमाएको मुनाफा नदेखाई प्रकाशित गरेको वित्तीय विवरणलाई तुलना गर्न उचित नहुन सक्छ ।
यसलाई आधार मान्ने हो भने मर्जर भएका बाहेक प्रभु बैंकको खुद मुनाफा २८ प्रतिशतभन्दा माथिले नाफा बढेको छ । यस्तै नेपाल बंगलादेश बैंकको १४ प्रतिशतमाथि र एनआईसी एशिया बैंकको २ प्रतिशले मुनाफा बढेको छ । त्यसबाहेक सबैजसो बैंकको मुनाफामा गिरावट आएको छ ।
यद्यपि तीन अर्ब बैंकको खुद मुनाफा दुई अर्ब नाघेको छ भने नौवटा बैंकले एक अर्बमाथि मुनाफा आर्जन गरेका छन् । ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै करिब दुई अर्ब ३२ करोड मुनाफा आर्जन गर्दा एनआईसी एशिया बैंकले २ अर्ब ६ करोड र नबिल बैंकले करिब २ अर्ब २ करोड खुद मुनाफा आर्जन गरेका छन् ।
यद्यपि कोभिडको प्रभावका बाबजुत पनि बैंकहरूको निष्क्रिय कर्जा खासै वृद्धि नहुँदा बैंकहरूले ग्रिनिङ गरेको हुनसक्ने आशंका भने गर्न सकिन्छ । बैंकहरूले कर्जा तिर्न नसक्ने ऋणीलाई ब्याज तिर्न कर्जा थपेर उक्त कर्जालाई ग्रिनिङ गरेको हुनसक्ने आशंका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको छ । बैंकहरूले कोभिडपछि अर्थतन्त्र विस्तारै चालयमान हुँदै गर्दा गत वर्षको भन्दा बढी कर्जा विस्तार गरेका छन् । जसले पनि उनको आंशकमा बल पुगेको देखिन्छ ।