
काठमाडौं । सीड फाइनान्सियल एकेडेमीले २०२५ को ग्राजुएसन समारोह सम्पन्न गरेको छ । एकेडेमीले काठमाडौंको मेरियट होटलमा एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्टस् (एसीसीए)को अध्ययन पूरा गरेका ४७ जना विद्यार्थीहरूको उपलब्धिलाई सम्मान गरेको हो ।
सीड फाइनान्सियल एकेडेमी नेपालमा एसीसीए स्नातकहरूका लागि ग्राजुएसन समारोह आयोजना गर्ने पहिलो संस्था भएको दाबी गरेको छ । सन् २०२३ मा पहिलोपटक सीडले यो परम्पराको सुरुवात गरेको हो । यसअघि नेपालमा कुनै पनि कलेज वा संस्थाले एसीसीए स्नातकहरूका लागि ग्राजुएसन समारोह आयोजना नगरेको एकेडेमीले जनाएको छ ।
समारोहमा एसीसीए नेपालका प्रमुख रविन कटवालले लेखा तथा वित्त क्षेत्रमा व्यावसायिक उत्कृष्टताको महत्त्वलाई जोड दिए । एसीसीए एसिया प्यासिफिक क्षेत्रकी शिक्षा तथा अध्ययन प्रमुख एस्थर थङले विशेष भिडियो सन्देशमार्फत स्नातकहरूलाई बधाई तथा शुभकामना दिएका थिए ।
समारोहमा सीड फाइनान्सियल एकेडेमीका प्रमुख कार्यकारी अधिकृत अनन्त गौतमले स्नातकहरूलाई बधाई दिँदै उनीहरूको समर्पण र कठिन परिश्रमप्रति गर्व व्यक्त गरे। उनले भने, “आज तपाईंहरूले केवल आफ्नो शैक्षिक यात्रा सम्पन्न गर्नुभएको छैन, तपाईंहरूले ज्ञान र इमानदारीका माध्यमबाट नयाँ यात्राको थालनी गर्नुभएको छ ।”