site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
माउन्ट केटुमा घन्कियो सयौं थुँगा फूलका हामी...

काठमाडौं । पाकिस्तानमा रहेको माउन्ट केटुमा नेपाली राष्ट्रिय गान सयौं थुँगा फूलका हामी... घन्किएको छ । विश्वको दोस्रो अग्लो शिखर माउन्ट केटुमा नेपाली पर्वतारोहीको टोलीले सफल आरोहणसँगै सयौं थुँगा फूलका हामी... बजाएर खुसी साटे । विश्वको अग्लो शिखर सगरमाथा नेपालमै रहे पनि माउन्ट केटु भने पाकिस्तानमा छ ।

नेपाली पर्वतारोहीको १० जना सम्मिलित टोलीले हिउँदमा माउन्ट केटुको सफल आरोहण गरेको हो । जसले विश्व रेकर्डसमेत कायम गरेको छ । माउन्ट केटु आरोहण गर्ने २९ प्रतिशत आरोहीले ज्यान गुमाउने गरेको तथ्यसमेत रहेकाले यो हिमाल ‘किलर माउन्टेन’ का रुपमा समेत परिचित छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माउन्ट केटु आरोहण गरेको १० सदस्यीय टोलीमध्ये नौ जना फर्किएका छन् । एकजना भने काम विशेषले पाकिस्तानमै छन् । हिमाल आरोही टोलीको आगमनसँगै विमानस्थलमा
यो नेपाली शिर उचाली संसारमा लम्किन्छ
जुनकिरी झैँ ज्योति बाली
अन्धकारमा चम्किन्छ...

भन्ने राष्ट्रगीतको धुन नेपाली सेनाको टुकडीले बजाएर स्वागत गरेको थियो । आरोहीको सम्मान स्वरुप सेनाले बजाएको यो गीतको धुनले स्वागतका लागि उभिएका आफन्त तथा शुभेच्छुकहरु निकै उत्साही देखिन्थे । त्यहाँको माहोल केहीबेरका लागि मनमोहक देखिन्थ्यो । आरोहीको स्वागतका लागि आएकाहरुमध्ये प्राय:ले हिमाली भेकमा लगाउने पहिरन लगाएका थिए ।

Dabur Nepal

स्वागतका लागि बसेकाहरुले आरोहीको आगमनसँगै खादा-माला लगाए । उनीहरुलाई झिलिमिली बनाएर स्वागत गर्दा सबैको मुहारमा खुसी झल्कन्थ्यो । गलामा माला र मनभरी खुसी बोकेर उनीहरु विमानस्थलबाट काठमाडौंका मुख्य चोक हुँदै भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्ड पुगे । त्यहाँ उनीहरुलाई स्वागत गर्न पर्यटन बोर्डको सभाहल खचाखच मानिस भेला भइसकेका थिए ।

यही भेलामा आरोहणको नेतृत्व सम्हालेका निर्मल पुर्जा मगर (निम्स दाइ) ले अनुभव बाँडे । “माउन्ट के टु आरोहणको उत्साह शब्दमा उतार्न सकिँदैन । किनभने त्यहाँ नसोचेको सफलता थियो,” उनले अनुभव सुनाए, “त्यहाँ खुसी थियो, त्यहाँ हर्सोल्लास थियो ।” आरोहण टोली शिखरमा पुग्नु नै ठूलो उपलब्धि भएको उनी सुनाउँछन् । "योभन्दा पनि पाकिस्तानमा हामीलाई गरिएको स्वागत हाम्रा लागि झनै ठूलो खुसी थियो," उनले भने ।

नेपाली आरोही टोलीलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खान, प्रधानसेनापतिलगायतका उच्च अधिकारीहरुले स्वागत गरेका थिए । माउन्ट केटु आरोहणपछि स्वदेश फर्किँदा पाएको स्वागतले आफूहरुलाई अझै हौसला थपेको उनले सुनाए । राम्रो कुरा गरेर मात्र परिवर्तन नहुने उनी सुनाउँछन् । मुलुक र मुलुकको पर्वतारोहण क्षेत्र सुधारका लागि केही राम्रा कुरा गर्नुपर्ने उनले सुझाए ।

“तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेको सय वर्ष नाघ्दा पनि पर्वतारोहण क्षेत्रमा अपेक्षाकृत विकास हुन सकेन । नेपालमा पर्यटन बोर्ड छ, मन्त्रालय छ, नेपाल पर्वतारोहण संघ छ तर...” उनी केही बेर रोकिए । उनी रोकिनुको कारण नेपालमा पर्वतारोहणका लागि संस्थाहरु भए पनि उपलब्धिमूलक काम नभएको गुनासो सुनाए ।

कसरी बन्यो केटु आरोहण गर्ने योजना
विश्वका ४० भन्दा धेरै मुलुकका टोली केटु चढ्ने तरखरमा रहेको भएको निर्मल पुर्जा मगर (निम्स दाइ) ले थाहा पाए । उनलाई पनि लाग्यो हिमाल आरोहण पनि एक प्रकारको दौड हो । “हाम्रा देशमा आठवटा आठ हजार मिटरभन्दा धेरै उचाइ भएका हिमाल छन् । तर कुनै पनि हिमाल आरोहणको कीर्तिमान नेपालका शेर्पाहरुको नाममा थिएन,” उनले भने, “सबैलाई थाहा छ विदेशीहरु कसरी हिमाल चढ्छन् भनेर । तर हाम्रो नाममा कीर्तिमान छैन ।”

नेपालमा पनि क्षमता भएका आरोही छन् । उनलाई यो प्रमाणित गर्नु थियो । त्यसैले उनले माउन्ट केटु आरोहण गर्ने तयारी थाले । केही साथीसँगीलाई आफ्नो तयारी सुनाए । उनको तयारीसँगै केही साथीले आर्थिक सहयोगसमेत गरे । त्यही सहयोग रकमबाटै माउन्ट केटु आरोहण सम्भव भएको निर्मल बताउँछन् ।

“हाम्रो देशमा सरकार त छ ?” उनी सरकारले हिमाल आरोहीका लागि केही नगरेको भन्दै आक्रोशले रोस्ट्रममा मुड्की बजारे । उनले बजारेको मुड्कीले रोस्ट्रममा भएको माइकको ‘कनेक्सन’ टुट्यो र आवाज आउन बन्द भयो । उनले खुसीको कुरा मात्र सुनाएर मानिसअघि बढ्न र सुधार हुन नसक्ने बताए । “नेपाल सरकार र संस्थाहरुले केही सहयोग गर्न सकेको छैन,” उनले सुनाए ।

निर्मलसँगै मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले माउन्ट केटुको सफल आरोहण गरेका हुन् ।

म माउन्ट केटु चढेको भए फर्कन पाउँदिन थिएँ : प्रधानमन्त्री
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकै दोस्रो सर्वोच्च शिखर ‘माउन्ट केटु’ सफल आरोहण गरेर फर्किएका आरोहीहरुलाई बधाई दिएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको कार्यक्रममा जीवन जोखिममा राखेर शिखर आरोहण गरेकामा व्यक्तिगत तर्फबाट मात्र नभई समग्र नेपालीका तर्फबाट धन्यवाद दिएको ओलीले बताएका छन् ।

“नेपाल बहादुर लडाकुको मात्र देश नभएर साहसीहरुको देश हो भनेर पुष्टि भएको छ,” कार्यक्रममा ओलीले भने, “विश्वमा जति पनि साहसिक काम छ अब त्यो नेपालीहरुलाई छाडिदिए हुन्छ ।” पर्वतारोहीहरु सीधै अग्ला पहाड नचढी धेरै अभ्यासपछि मात्र आरोहण गर्ने भएकाले यो एक प्रकारको साधना भएको प्रधानमन्त्रीले सुनाए ।

हिमाल आरोहण गर्नेलाई सरकारले अवार्ड दिन्छ : प्रधानमन्त्री

“हामीलाई त जुन पनि हिउँको थुप्रो उस्तै हो । जो कोहीलाई हिमालको दुःख थाहा हुँदैन । हिमाल चढ्ने बेलामा चुचुराको नजिकबाटै फर्कन पनि पर्न सक्छ । हरेक पाइलामा गाह्रो हुन्छ, तब न आरोही,” उनले ठट्यौली पारामा भने, “नत्र भने त म पनि जान्थेँ नि । तपाईँहरु दशजना हुनुहुँदो रहेछ । म पनि सहभागी भएको भए एघारजना हुन्थ्यौँ ।”

उनले देशको प्रधानमन्त्री नै हिमाल चढेको भए त नेपालको परिचय नै छुट्टै हुने पनि बताए । तर आफूले त्यो दुस्साहस गरेको भए आफू फर्कन नपाउने बताउँदै उनले भने, “शिखर आरोहण जो-सुकैबाट हुने कुरा होइन । म चढेको भए नाम हुन्थ्यो, तर म फर्किन सक्ने थिइनँ । त्यसैले जो पनि शिखर आरोहण गर्न सक्दैनन् ।”

-तस्बिर : सुनील प्रधान/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  २०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro