काठमाडौं । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरअन्तर्गतको बोक्च्यागौंडाको भिरमा ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ । योसँगै आवतजावतमा सहज हुने भएको छ ।
डेढ वर्षदेखि डोरी र सिँढीको सहायताले भिर पार गर्दै आएका हुम्लावासीलाई आउजाउ गर्न सहज हुने भएको हो ।
स्थानीय छवि थापाका अनुसार स्थानीयहरु डेढ वर्षदेखि जोखिमपुर्ण रुपमा भिर पार गर्न बाध्य थिए । ‘‘खार्पुदेखि सुनखाडा क्षेत्रको बोक्च्यागौंडाको काम अन्तिम चरणमा पुगेसँगै आउन–जान सहज भएको छ,’’ उनले भने, ‘‘भिर फुटाउने काम हुँदा हुम्लावासी खुसी भएका छन् । चट्टा नै चट्टान भएको ठाउँमा एक वर्षदेखि विस्फोट र मेसिनले काम गर्दै आएको थियो ।’’
भिर छिचोल्ने काम अन्तिम चरणमा पुगेको हिल्सा–सिमकोट सडक आयोजनाको सडक मर्मत कार्यका इन्चार्ज सन्तोष यादवले जानकारी दिए । ‘‘नेपाली सेनाको उपस्थितिमा विस्फोटको काम हुँदै आएको थियो,’’ उनले भने, ‘‘अब एकपटक विस्फोट गरेपछि भिर फुटाउने काम पूरा हुनेछ । त्यसलाई मिलाउने काम मात्रै बाँकी रहनेछ ।’’
खार्पु–सुनखाडा खण्डको १५ किमि सडकको ट्र्याक खोल्न लागिएको छ । त्यसमा साढे सात किमि क्षेत्रमा निर्माण कार्य भइरहेको हो । निर्माण कम्पनी पीएस क्याराभान जेभीका स्थानीय प्रतिनिधि कुलबहादुर लामाले उक्त खण्डको लालीबगरसम्म सडक बनाइने बताए ।
स्थानीय दीपराज शाहीले भने, ‘‘अहिले हामीलाई गाउँबाट सदरमुकाम सिमकोटसम्म जान सहज भएको छ । हामीलाई त भिर फुटाउने काम असम्भवजस्तै लागेको थियो । तर, अहिले आएर यस्तो बाटो बन्दा छक्कै परेका छौँ । यही भिरको कारणले बिरामी बोक्नसमेत गाह्रो भएको थियो । ठूला भारी पनि बोकेर लैजान सकिने अवस्था थिएन ।’’
बोक्च्यागौंडामा होटेल व्यवसाय गर्दै आएका वीरबहादुर शाहीका अनुसार सडकमा विस्फोट गर्नुभन्दा पहिला मसिनो घोरेटो बाटो थियो । ‘‘विस्फोट हुँदै गर्दा उच्च जोखिम मोलेर डोरीको सहायताले भिर तर्न बाध्य थियौँ । उनले भने, ‘‘अहिले हामीलाई सहज भएको छ । होटेलमा चाहिने रासन–पानी ल्याउन सहज भएको छ । पानी परेको बेला हिँड्न मिल्दैनथ्यो ।’’
‘‘हुम्ला सदरमुकाम सिमकोट जान हुम्लाका गाउँभरिका मानिसलाई यो बाटोले सकस बनाएको थियो,’’ सर्केगाड गाउँपालिका–२ का पदुम थापाले भने, ‘‘अहिले बाटो राम्रो हुँदा बिरामी, भारी र मानिस जान सहज भएको छ । पानी परेको बेलामा लडेर कर्णालीमा खस्ला भन्ने डर हुन्थ्यो । कति मानिस चिप्लिन्थे पनि ।’’ उक्त बाटो जिल्लाभरिका मानिसको सदरमुकाम जाने मुख्य बाटो हो ।
तस्बिरः छवि थापा ।