काठमाडौं । कमलको फूल फुल्ने कमलपोखरीमा कंक्रिटको फूल फुलाउन खोजिएको छ । पोखरीमा रहेको सबै पानी सुकाएर चिरैचिरा परेको माटोमाथि कंक्रिटका पिलर ठडिएका छन् ।
पोखरीको छेउछाउमा महिनौँदेखि सिमेन्ट, बालुवा र इँटा थुपारिएको छ । पोखरी सुन्दर बनाउने नाममा भएको ढिलासुस्ती र जथाभावी कंक्रिटको प्रयोग गरेपछि सम्पदा संरक्षण अभियन्ता र पर्यावरणप्रति सचेत समूह विरोधमा उत्रिएको छ ।
उक्त क्षेत्रबाट प्रतिनिधित्व गरेका विघटित प्रतिनिधिसभाका सांसद् तथा नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले महानगरका मेयर विद्यासुन्दर शाक्यलाई पत्र लेखेका छन् । पत्रमा कमलपोखरीको पुनर्निर्माण तत्काल रोक्न माग गरिएको छ । ‘‘पोखरीको ऐतिहासिकता जोगाउने भन्दै काममा भएको ढिलासुस्ती असह्य छ । २०७६ सालबाट निर्माणाधीन कमलपोखरीको पुनर्निर्माण कार्य ढिलो भइसकेको छ । अर्कोतर्फ प्राकृतिक सिमसार क्षेत्र नष्ट भएको छ । पोखरी साँघुरो भएको छ,’’ पत्रमा भनिएको छ ।
तत्काल काम रोकेर सरोकारवालासँग छलफल गरी काम अघि बढाउनसमेत पत्रमा माग गरिएको छ ।
सम्पदाविद् सुदर्शन तिवारीले पोखरीलाई स्वीमिङ पुलको जस्तो कंक्रिटमयस्वरुप दिन खोजिएको बताए । ‘‘यो सिमसार क्षेत्र मात्रै नभएर मानवनिर्मित पोखरी हो । लिच्छविकालमा हाँडीगाउँ राजधानी भएको बेला पोखरीको निर्माण भएको हुनुपर्छ,’’ उनले भने, ‘‘यस्तो ऐतिहासिकता बोकेको पोखरीको क्षेत्र मिचिएको र वरिपरि थुपारिएको इँटा पछि मात्रै राखिएको हुनुपर्छ ।’’
कंक्रिटै कंक्रिटको सहरका बीच सुन्दर पोखरी बनाउनु आफैँमा राम्रो पक्ष हो । तर, पोखरी बनाउँदा प्रयोग गरिने स्रोत–साधन पनि त्यत्तिकै उपयोगी हुनुपर्ने सरोकारवाला बताउँछन् ।
गएको सोमबार जुममार्फत ‘पोखरी संवाद’ भएको थियो । उक्त संवादमा पोखरीविज्ञहरु, अभियन्ता, काठमाडौं महानगरपालिकाका प्रतिनिधिलगायत सहभागी थिए । त्यसक्रममा पोखरीमा पानी भर्ने उपयुक्त विधि र पोखरी संरक्षणलगायतका विषयमा छलफल भएको थियो ।
तिवारीले पोखरी बनाउने नाममा पोखरी सुकाइ काममा ढिलासुस्ती गरिएको बताए । पोखरी भन्नेबित्तिकै पानीसँग जैविक र प्राकृतिक कुराहरु जोडिने हुँदा पानी सुकाउँदा तिनीहरुको अस्तित्व नै समाप्त हुने उनले उल्लेख गरे ।
काठमाडौं महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले पोखरी वरिपरि विभिन्न संरचना बनाउन लागेको जानकारी दिए । ‘‘शौचालय, खुला चौर बनाउन लागेका छौँ,’’ उनले भने, ‘‘पानी कसरी पुनर्भरण गर्न सकिन्छ भनेर योजना अघि बढाइएको छ । पोखरीका दुईओटा इन्लेट पहिल्यै रहेछ । त्यसलाई मर्मत गरेर पनि पानी पुनर्भरण गर्न मिल्ने देखिन्छ । सिटी सेन्टरबाट आउने पानीलाई पनि स्लोप बनाएर त्यहाँ खसाल्न सकिन्छ ।’’
महानगरपालिकाबाट भएका केही कमजोरी प्रस्टै देखिन्छन् । पोखरी संरक्षण अभियन्ता प्रकाश अमात्यका अनुसार पोखरीको क्षेत्र नै सानो बनाइँदै छ । यसै पनि पटक–पटक मिचिँदै गएको पोखरी सुन्दर बनाउने नाममा सानो बनाउनु जायज नहुने उनले बताए । ‘‘पोखरी सानो बनाउँदा त्यसको असर चौतर्फी पर्न जान्छ,’’ उनले भने, ‘‘पानीको मात्रा घट्दै जान्छ । जमिनमा पानी कम मात्रामा जान्छ । त्यसले जलचक्र र पारिस्थितिक प्रणालीलाई समेत असर गर्छ । अचानक कतै आगालागी भए पानी पर्याप्त मात्रामा हुँदैन । त्यसो हुँदा आगो नियन्त्रणमा समस्या आउँछ । पानीमा बस्ने जलचर प्राणीलाई पनि असर पर्छ ।’’
पोखरीको नाममा करिब ४० रोपनी क्षेत्रफल रहेको थियो । कहिले प्रहरीचौकीका नाममा त कहिले भवन निर्माणका नाममा अतिक्रमण हुँदाहुँदा अहिले करिब २२ रोपनीमा खुम्चिएको छ ।
कमलपोखरी संरक्षण समिति बनेको छ । संरक्षण समितिले निरीक्षण गरिरहेको समितिका महासचिव राजेन्द्र सिंहले बताए । ‘‘करिब १५ वर्षअगाडि पोखरीको हाल बेहाल थियो । जताततैबाट ढल पोखरीमै मिसाइएको थियो । त्यस बेला पोखरीका माछा खाँदा पूरै मासु नै गन्हाउने हुन्थ्यो । पछि ढलको पानी हटाइयो । आकाशेपानी मात्रै छिराइयो । त्यसपछि पानी सफा थियो । नुहाउन पनि मिल्थ्यो । हामीले छठ मनाउने ठाउँ बनाएका थियौँ,’’ उनले भने ।
महानगरले बनाएको डिजाइनमा शौचालय स्लोप आकारमा थियो । त्यसको डिजाइन परिवर्तन गरी शौचालयमा जान मिल्नेखालको छत बनाइएको छ । पोखरीको छेउमै रहेको कंक्रिटको पर्खाल लगाउन पोखरीकै पानी प्रयोग गर्न लागिएको थियो । तर, त्यसलाई रोकेर नजिकैको प्रहरीचौकीबाट पानी ल्याएर पर्खाल बनाउन लगाएको उनले बताए ।
संस्कृतिविद् रवीन्द्र पुरीले कमलको फूल फुल्ने पोखरीमा कंक्रिटको फूल फुलाउन खोजिएको दाबी गरे । ‘‘आफैँमा कमल फुल्ने पोखरीमा सिमेन्टको फूल राख्नु एकदमै लजास्पद कुरा हो,’’ उनले भने, ‘‘बरु ऐतिहासिकरुपमा पोखरी निर्माण भई कमलका फूल फुलाउने कुरा आउन जरुरी छ । पोखरी बनाउँदा भक्तपुरले जस्तै गर्नुपर्ने हो । उनीहरुले समुदायस्तरबाटै ज्ञान–सीपको प्रयोग गरी कैयौँ पोखरीको ऐतिहासिकता फर्काएका छन् ।’’
ऐतिहासिक ढुंगेधारा पोखरी संघका अध्यक्ष सुनील श्रेष्ठका अनुसार कमलपोखरीमा अझै पनि सिमसार र दलदल माटो रहेको छ । दलदल रहँदै यसको निर्माण गरिसक्नुपर्ने उनले बताए । ‘‘नत्र फेरि पुरानो अवस्थामा फर्काउन सकिँदैन । झनै विरोधको विषय बन्न जान्छ,’’ उनले भने ।
‘‘यस्ता पोखरी मास्दा भूमिगत पानी संरक्षण हुँदैन,’’ सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धी तुलाधरले भने, ‘‘यस्तो अवस्थामा जमिन भासिँदै जान्छ । नेपालको परम्परागत पानी प्रणाली विश्वकै उत्कृष्टमध्येमा पर्छ । यसरी नै पानी व्यवस्थापन गरिनुपर्छ । यसको महत्वपूर्ण माध्यम कमलपोखरी पनि हो । पोखरी निर्माण गर्दा जमिनमा पानी कसरी पठाउन सकिन्छ, जलप्राणीको अस्तित्व कसरी जोगिन्छ भन्नेतिर पनि ध्यान दिन उत्तिकै जरुरी छ ।’’
रानीपोखरीको पुनर्निर्माणक्रममा चौतर्फी विरोध भयो । विरोधपछि ऐतिहासिक शैलीमा पोखरी पुनर्निर्माण गरिएको थियो । त्यही पोखरीबाट महानगरले पाठ सिक्नुपर्नेमा गल्ती पटक–पटक दोहोर्याइरहेको अभियन्ता बताउँछन् । कमलपोखरीका हकमा डिजाइनमै त्रुटि भएको भन्दै अब ढिला नगरीकन समयमै त्रुटि सच्याएर पुनर्निर्माण गरिनुपर्नेमा उनीहरुको जोड छ ।
२०७८ साल वैशाखमा पोखरी पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गर्ने भनिएको थियोे । तर, अहिलेसम्मको अवस्था हेर्दा वैशाखमा काम सकिनेमा शंका छ ।
पोखरी निर्माणका निम्ति पोखरी सुकाइएको छ । वरिपरि कंक्रिटका संरचना बनाउने योजना छ । यसले पोखरीको ऐतिहासिकता र मौलिकता मासिने देखिएपछि अभियन्ताहरुले विरोध जनाएका हुन् ।
महानगरपालिकाले पोखरी पुनर्निर्माणका लागि ९ करोड ४६ लाख रुपैयाँ बजेट छुट्ट्याएको छ । जय धनञ्जय र कँडेल जेभीले निर्माणको ठेक्का पाएको छ । ०७६ असार ६ गते ठेक्का सम्झौता भएको थियो । ०७७ असार १५ मै पुनर्निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर, अहिलेसम्म पनि कामले गति लिन सकेको छैन ।
पोखरी पुनर्निर्माणमा कृत्रिम संरचना तथा ढुंगा र क्रंक्रिटको प्रयोग भएको भन्दै स्थानीयको जनगुनासो बढ्दै गएको छ । काठमाडौं महानगरपालिकाले भने स्थानीयसँगको छलफलमै कमलपोखरीमा संरचना बनाउन लागेको बताएको छ ।
पोखरीको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई मास्दै ढुंगा तथा सिमेन्टको प्रयोग गरिएको जनगुनासो छ । तर, महानगरपालिकाले स्थानीयसँगको छलफलअनुसार पूर्वनिर्धारित डिजाइनमा नै निर्माण कार्य अघि बढाइएको भन्दै कमलपोखरीको ऐतिहासिकतालाई जोगाउन महानगर गम्भीर भएको बताएको हो ।
कमलपोखरीमा हरेक वर्ष छठ पर्वको दिन छठ पूजा गरिँदै आएको छ । त्यसका लागि पोखरीको चारैतर्फ घाट निर्माण गर्दा केही ढुंगा र सिमेन्ट प्रयोग गर्नुपरेको अन्यथा ढुंगा, सिमेन्टको प्रयोग नभएको महानगरका सहरी योजना आयोगका उपाध्यक्ष बस्नेतले बताए । खाली जमिन तथा पैदल हिँड्ने ठाउँमा सिमेन्ट प्रयोग नगरिएको उनको भनाइ छ ।
‘पोखरीमा आकाशेपानी जम्मा गरेर पठाइनेछ,’’ उनले भने, ‘‘पानीलाई जमेर बस्न नदिने गरी पोखरीमा पानी भित्रिने तथा बाहिरिने व्यवस्था पनि गरिने र पोखरीको पानीलाई गुणस्तरीय बनाउने प्रविधि पनि अपनाइनेछ ।’ उनले आगामी वैशाखसम्ममा पोखरी सर्वसाधारणका लागि खुला गर्ने लक्ष्य रहेको बताए ।