काठमाडौं । लामो समयदेखि खडेरीको मार खेपेका हुम्लाका किसान समयमै हिमपात हुँदा खुसी भएका छन् । असोजदेखि नै बाझिएका खेतबारी हिँउले भिजाएपछि किसानहरु बाली लगाउने तयारीमा छन् ।
हुम्लाको लिमी, लाप्चा, बर्गाउ, बुराउँसे, स्याँडा, ठेहे, सिमिकोट, नाम्खालगायत उच्च हिमाली क्षेत्रमा हिमापात भएको छ । तल्लो क्षेत्रमा भने भारी वर्षा भएको छ । असोजदेखि अधिकांश पाखो जमिन बाँझै थियो । अब पाखो जमिनमा गहुँ छर्ने तयारीमा हुम्लाका किसानहरु छन् ।
‘‘लामो समय आकाशको पानीको भर पर्दा गहुँ छर्ने सिजन जान लागिसकेको थियो,’’ स्थानीय किसान छिमी लामाले बताए, ‘‘यतिखेर हिउँ पर्दा सुक्खा जमिन भिजेको छ । अब गहुँ छर्न उपयुक्त हुन्छ ।’’ हिमपातले जिल्लाका स्याउ किसान पनि खुसी देखिएका छन् । स्याउ खेतीका लागि पनि चिस्यानको आवश्यकता पर्छ । त्यसैले पनि हुम्लाका किसान उत्साही बनेका छन् । ‘‘हिमपातसँगै खाडल खनेर स्याउ लगाउने तयारी गरिरहेका छौं,’’ स्थानीय साम्देन लामाले भने ।
पुसमा हिउँ पर्दा स्याउ उत्पादन पनि बढ्ने उनले बताए । ‘‘लामो समय खडेरी पर्दा स्याउमा कीराको संक्रमण हुन्थ्यो,’’ उनले भने । स्याउ नफल्ने र कालो तुषारोले बोट सुक्ने समस्या हुन्थ्यो । हिमपातले जमिन भिजेसँगै स्याउको उत्पादन पनि बढ्ने किसानहरुको विश्वास छ ।
कृषि विकास कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख धर्बेन्द्र अधिकारीका अनुसार सिमिकोट गाउँपालिकाको कुल क्षेत्रफल ७८९ वर्गकिलोमिटरमध्ये १७ सय ५१.७ किलोमिटर खेतियोग्य जमिन छ । अहिले एक हजार ४६ हेक्टरमा खेती भइरहेको छ । जसमध्ये १३७ हेक्टरमा सिँचाइ पुगेको छ ।
‘‘आकाशेपानीको भर हुँदा पाखोबारी बाँझै थियो । अब बाली लाग्ने भयो । विगतका वर्षहरुमा समयमै वर्षा नहुँदा पुस, माघमा कहिले त फागुनमा समेत बाली लगाउनुपरेको अवस्था थियो,’’ उनले भने । नियमित वर्षा नहुँदा किसानले निकै घाटा खेप्नुपर्ने बाध्यता थियो । ‘‘यो समयमा पनि त्यस्तै अवस्था आउँछ कि भन्ने डर थियो । धन्न पुसमै हिमपात भयो,’’ उनले भने ।
स्थानीय टेकबहादुर रावलका अनुसार यहाँका किसानले खेती गर्ने आधा जमिन बाँझै राखेर खाद्यन्न किनेर खाने गरेका छन् । केही जमिनमा स्याउ लगाइएका छन् । तर अनाज लगाउने क्षेत्रफल भने तुलनात्मक रुपमा कम रहेको रावल बताउँछन् ।
‘‘अब फेरि माघ-फागुनमा वर्षा भयो भने गहुँबाली निकै फस्टाउँछ,’’ हुम्ला गोप्काकी सुस्मिता फडेराले भनिन्, ‘‘यतिखेर वर्षा हुँदा निकै खुसी लागेको छ । गहुँ छर्नलाई पानी कुरेका थियौं, सजिलो भयो ।’’ कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पाका उच्च पहाडी गाउँमा हिँउ परेको छ । तल्लो भूभागमा भने पानी परेको छ । हेरौं हुम्लामा भएको हिमपातका थप तस्बिर :