
काठमाडौं । पश्चिम सेती आयोजनामा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले लगानी गर्ने भएको छ । एचआईडीसीएलले पश्चिम सेती र सेती नदी–६ मा १०/१० प्रतिशत लगानीको प्रस्ताव गरेको हो ।
दुवै आयोजना भारतीय कम्पनी एनएचपीसी लिमिटेडको मातहतमा छ । दुई आयोजनामा गरी पाँच अर्ब लगानीको प्रस्ताव गरेको र अन्तिम हस्ताक्षर हुन बाँकी रहेको एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुनकुमार गौतमले जानकारी दिए ।
उक्त प्रस्तावमा मंगलबार भारतीय विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा हस्ताक्षरको सम्भावना छ ।
“हामीले लोकल पार्टनरको रूपमा १० प्रतिशत लगानीको प्रस्ताव गरेका हौँ,” उनले भने, “हाम्रोतर्फबाट सबै डकुमेन्ट तयार छ, उहाँहरूको तयारी के कस्तो छ । तयारी पुगेको भए हस्ताक्षर हुन सक्छ ।”
पश्चिम सेतीमा तीन अर्ब र सेती नदी ६ मा दुई अर्ब गरी पाँच अर्ब लगानीको प्रस्ताव गरेको गौतमले जानकारी दिए । सुरुमा ७५० मेगावाट क्षमतामा बन्ने भनिए पनि गत वर्ष ५० मेगावाट क्षमता बढाइएको थियो ।
८०० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ आयोजना २०७९ भदौमा एनएचपीसीलाई जिम्मा दिइएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा पश्चिम सेती र सेती नदी–६ जलविद्युत् आयोजनामा लगानी बोर्ड र एनएचपीसीबीच सम्झौता भएको थियो ।