काठमाडौं । बिहान सात बजे उठ्छन् । काँधमा काठको कुर्सी । त्यसमाथि एउटा मुढा र पानीसहितको ग्यालेन । गोल्डस्टारको जुत्ता र पुराना कपडाको हुलियासहित चोकमा कपाल काट्न निस्किन्छन्, उनी ।
सिमेन्टको पिलरअगाडि पुगेर रोकिन्छन् । कुर्सी राख्छन् । पिलरमा ऐना झुन्ड्याउँछन् । कुर्सीको मुनिपट्टि सानो एकतले दराज छ । दराजमा हजामका सामान ।
चाबहिलको मेडिकेयर अस्पताल सामुन्नेको फुटपाथ यो हो । उनी दैनिक यहीँ बस्छन् । ग्राहक र पैसाको प्रतीक्षा एकसाथ हुन्छ । भारत, बिहारका नुर मोहम्मद । नेपाल छिरेको २५ वर्ष भयो । यही ठाउँमा मात्रै कपाल काटेर बसेको २४ वर्ष भएको उनले सुनाए ।
“भारतमा बस्न मन लागेन । इलम केही थिएन । नेपाल आएर फुटपाथमा कपाल काट्न सिकेँ । काठमाडौंमा सैलुन पसल खोलेका भारतका साथी थिए । उनको सैलुनमा गएर कपाल काट्न सिक्थेँ । सिक्दै जाँदा उनलाई सघाउने बने । केही महिना उनैलाई सघाएर बसे । रूपैयाँको अभाव बढ्दै गयो । धेरै ठाउँमा जागिर पनि खोजे । तर, भेट्टाइनँ । त्यसपछि चोकमा आफैं कपाल काटेर बस्न थालेँ,” उनी भन्छन्, “उताबाट विवाह गरेर आयौं, दम्पती । बच्चाबच्ची नेपालमै जन्मेका हुन् ।”
चाबहिल, गणेशस्थाननजिकै उनको डेरा छ । कपाल काटेको आम्दानीले परिवार पाल्दै आएका छन् । कोठा भाडा चार हजार छ । चारजना छोराछोरीसहित छजनाको परिवार एउटै कोठामा बस्छ ।
मोहम्मद दम्पतीका तीन सन्तान स्कुल जान्छन् । नजिकैको पशुपति मित्र माविमा पढ्छन् । एउटा बच्चा सानै छ ।
“मैले एक्लै कमाएर पाल्नुपर्छ । दैनिक आठदेखि १० जनाको हाराहारीमा कपाल काट्छु । एकजनाको ६० रूपैयाँको दरले । यसले दैनिक ६००–७०० जति कमाइ हुन्छ । महिनामा १५ हजारजति हुन्छ । सबै लाउँदै, खाँदै र छोराछोरीलाई स्याहार गर्दैमा सकिन्छ,” उनले भने ।
मासिक १५ हजारको हाराहारीमा कमाउने उनको सबै खर्च परिवार पाल्दैमा पुगनपुग छ ।
सैलुन खोल्ने ठूलो रहर थियो । तर, स्रोत जुटाउनै सकेनन् । आँट पनि आएन । “सटरको भाडा तिर्न गाह्रो पर्छ । अहिलेसम्म माथि उठ्न पनि सकेको छैन,” भुइँमा खसेको कपाल उठाउँदै उनले भने, “२४औं वर्ष बिताएँ, यही चोकमा । पार लाग्न सकिएन । कमाउँदै जाँदा झन् माथि पुगौँलाभन्दा झन् धेरै समस्या बल्झिन थाल्छ ।”
कहिले महानगरले लखेट्छ । कहिले ग्राहक आउँदैनन् । फुटपाथमा यस्तै हुने उनको अनुभव छ ।
“परिवार पाल्नु कि सैलुन पसल खोल्नु ? खाना खानैपर्छ । खाना नखाइ सैलुन खोल्न भएन,” मोहम्मदले दुखेसो पोखे, “कसैले सैलुन खोल्न मद्दत गरिदिए पनि हुन्थ्यो ।”