काठमाडौं । नौ महिना बन्द रहेका चलचित्र घर औपचारिक रुपमा खुल्ने अन्तिम तयारी भए पनि चलचित्र निर्माताहरु भने तत्काल आफ्नो सिनेमा रिलिज गर्ने मुडमा छैनन् । विशेषगरी मोटो लगानी गरेर चलचित्र निर्माण गरेर बसेका निर्माताहरु अहिले नै सिनेमा रिलिज गर्ने मनस्थितिमा छैनन् ।
चलचित्र निर्देशक तथा कलाकार अशोक शर्मा ठूलो लगानीमा बनेका चलचित्र अहिले नै रिलिजका लागि तयार नभए पनि योजना बनाउन भने अब सुरु हुने बताउँछन् । “सिनेमा हल खोल्नेबित्तिकै धमाधम चलचित्र रिलिज भइहाल्छन् भन्ने होइन । सुरुमा यसका लागि वातावरण बनाउने हो । त्यसैले हामीले केही पुराना चलचित्र रिलिज गरेका हौं सुरुमा,” अशोक भन्छन्, “हल सञ्चालनमा आएपछि अब निर्माताहरुले आफ्नो चलचित्र कहिले लगाउने भन्नेबारे योजना बनाउन सुरु गर्नुहुन्छ । प्रचारप्रसार सुरु गर्नुहुन्छ ।”
उनले सुरुकै दिनबाट प्रत्येक सो मा १०/१५ दर्शक आउनु पनि उपलब्धि भएको बताए । कोरोनाको त्रास सकिनसकेको र पुरानै चलचित्र रिलिज हुँदा पनि १०/१५ जना प्रतिसो दर्शक आउनु सकारात्मक भएको उनको भनाइ छ । “हामी त पुरानो चलचित्र त्यसमा पनि यस्तो अवस्थामा दर्शक के आउनुहोला र भन्नेमा थियौं । तर, दर्शक आउनुभयो,” अशोक भन्छन्, “महामारी लामै समय रहने र अन्य पेसा व्यवसाय सबै सुचारु भएको अवस्थामा अब सिनेमा हल पनि सञ्चालन हुनुपर्छ भनेर हामीले हल खोलेका हौं । अहिले नै त्यति ठूलो अपेक्षा छैन र थिएन पनि ।”
किन सिनेमा हललाई नै छैन अपेक्षा ?
“पहिलो कुरा त कोरोनाको त्रास सकिएको छैन । स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रोटोकल अपनाएर हल खोल्नुपर्छ त्यसैले दर्शक पहिलो दिनबाटै भरिभराउ आउनुहुन्छ भन्ने हुँदैन,” सिंगल थिएर सञ्चालक गोपालकाजी कायस्थ भन्छन्, “दोस्रो कुरा यो मौसम नै यस्तै हो । जाडो मौसममा समान्य अवस्थामा पनि हलमा दर्शकको उपस्थिति उल्लेख्य हुँदैन । अति जाडो मौसममा सामान्य समयमा पनि बक्स अफिस राम्रो गर्ने अपेक्षा गरिएका चलचित्रहरु सकेसम्म रिलिज हुँदैनन् ।”
चलचित्र ‘पानी फोटो’ निर्माण सम्पन्न गरेर बसेका निर्देशक तथा कलाकार खगेन्द्र लामिछाने हतारिएर आफू चलचित्र रिलिज गर्ने पक्षमा नरहेको बताउँछन् । लामो समय लगाएर बनाएको अपेक्षित चलचित्र भएकाले रिलिजका लागि हतार नगर्ने उनको भनाइ छ ।
“अहिले तत्काल चलचित्र लगाइहाल्ने सोचमा म छैन । अहिलेको अवस्थामा दर्शक तत्काल हलमा आउनुहुन्छ कि हुन्न भन्ने पनि हेर्नुपर्छ,” खगेन्द्र भन्छन्, “मिहिनेत गरेर बनाएर चलचित्र भएकाले हतार पनि गर्नु भएन । लगानीको कुरा पनि आउँछ, त्यसैले केही समय कुरेर ढुक्कले रिलिज गर्ने हो ।”
निर्माता तथा कलाकार माओत्से गुरुङ पनि तत्काल हतार गरेर चलचित्र रिलिज गर्ने सोचमा छैनन् । उनको चलचित्र ‘दयारानी’ करिब दुई वर्षदेखि तयारीमा छ । तर, पनि उनी हल खुले भन्दैमा तत्काल चलचित्र रिलिजका लागि डेट नलिने बताउँछन् ।
“ठूलो लगानी गरेर वर्षौं लगाएर बनेका चलचित्र आजभोलि नै लगाउन सकिँदैन । हलमा दर्शक आउनुहुन्छ कि हुँदैन केही समय हेर्नुपर्ने हुन्छ,” माओत्से भन्छन्, “दर्शक ढुक्कले हलमा आउने वातावरण जवसम्म बन्दैन, त्यो समयसम्म चलचित्र रिलिज गर्न कठिन हुन्छ होला ।”
चलचित्र विकास बोर्ड तथा चलचित्र संघलगायतले सिनेमा हल सुरक्षित छन् भन्ने सन्देश प्रवाह गर्नुपर्नेमा उनको जोड छ । सिनेमा हलमा कोरोना संक्रमणको जोखिम उच्च छैन भन्ने वातावरण बनाउने कार्य बोर्ड र संघको भएको उनको भनाइ छ ।
निर्माता सन्तोष सेन पनि चलचित्र प्रदर्शनका हतार नगर्ने सुरुदेखि नै बताउँदै आएका छन् । करोडौं रुपैयाँ दाउमा राख्न नसकिने उनको भनाइ छ ।
सरकारले प्रचार, हल विज्ञापनसहित केही सहयोग गर्नुपर्ने बाताउँदै आएका छन् । सन्तोष प्रेम गीतको सिरिज निर्माण सम्पन्न गरेर बसेका छन् । तत्काल चलचित्र रिलिज गर्न नसकिने भन्दै उनी अहिले अर्को चलचित्रको तयारीमा छन् । दर्शक निर्धक्कसँग हलमा आउने वातावरण नभएसम्म चलचित्र रिलिज गर्ने सोचमा नरहेको उनी सुनाउँछन् ।
चलचित्र निर्माता संघले केही समयका लागि सरकारले चलचित्रमा लगानी रहेको २० प्रतिशत रकम निर्मातालाई सरकारले उपलब्ध गराउनुपर्ने माग गरेको छ । यो मागलाई चलचित्र विकास बोर्डले सञ्चार तथा अर्थ मन्त्रालयमा पनि पुर्याइसकेको छ ।
तर, यो माग पूरा हुने खालको नभएको स्वयं चलचित्रकर्मीहरु नै बताउँछन् । “लगानीको २० प्रतिशत सरकारले निर्मातालाई दिनुपर्छ भन्ने माग त्यति जायज हो भन्ने मलाई लाग्दैन । र यो सम्भव पनि छैन,” चलचित्र संघका महासचिव समेत रहेका आशोक शर्मा भन्छन्, “यो त राजनीति मात्रै हो । जो साथीहरुले यो माग गरिरहनुभएको छ, यो उहाँहरुले गरिरहनुभएको राजनीति मात्रै हो ।” यद्यपि सीसीएमसीले चलचित्र क्षेत्र पनि अति प्रभावित क्षेत्रमा परेको क्षेत्र भए पनि सरकारले उपलब्ध गराएका राहत तथा सुविधाबाट वञ्चित भएको भन्दै आवश्यक निर्णय गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ । तर, यसबारे अर्थले कुनै निर्णय गरिसकेको छैन ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलगायतले कोरोना महामारी रहेको अवस्थामा सुरुका केही महिना ठूला चलचित्र रिलिज नभइ चलचित्र क्षेत्र चलायमान नहुने भन्दै लगानीको २० प्रतिशत रकम उपलब्ध गराउनुपर्ने बताउँछन् ।
हजारौंको संख्यामा रहेका कलाकार तथा प्राविधिकहरुको रोजोरोटीको सुनिश्चितताका लागि पनि चलचित्र क्षेत्रलाई चलायमान गराउनुको विकल्प नरहेको आकाश बताउँछन् ।
यता, अशोक शर्मा भने सरकारले लोनमा सहुलियत, किस्ताको समयावधि बढाउने तथा करमा छुट दिन सक्ने तर लगानीको प्रतिशतमा रकम उपलब्ध गराउने माग भने सम्बोधन गर्छ भन्ने अपेक्षा राखेर माग गर्नु औचित्यपूर्ण नरहेको बताउँछन् । चलचित्र निर्माता संघका अनुसार करिब तीन दर्जन चलचित्र निर्माण सम्पन्न भएर बसेका छन् ।
सिनेमा घर सरकारले औपचारिक रुपमा नखुले पनि पुस १० गतेबाट सञ्चालनमा आएका छन् । सीसीएमसीले प्रधानमन्त्री तथा पन्त्रिपरिषद्को कार्यालयलाई सिनेमा हल खोल्न माग गर्ने विकास बोर्ड र चलचित्र संघको आग्रहमा आवश्यक निर्णय गर्न पत्राचार गरिसकेको छ ।