site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परीक्षा  

कहिलेकाहीँ नबन्नुपर्ने विषयहरू विषय बनिदिन्छन् । अन्यथा नठानियोस्, यस्तै भएको छ यसपटक ।

त्यसो त जीवन एउटा विशेष अवसर हो । यसलाई सामान्य ठान्नु, सामान्य रूपमा लिनु मूर्खता हो । तर, यति बेलाको विषय यो होइन र जीवनको चर्चा, जीवनबारे छलफल गरिँदै पनि छैन ।

आउनोस्, अहिलेलाई यत्तिमै टुंग्याऊँ जीवनको कुरा र गरौँ छलफल परीक्षामाथि, किनकि भनिन्छ– जीवन भन्नु नै परीक्षा हो ।

पाइला–पाइलामा हुन्छन् परीक्षा, कहिले समय–परिस्थितिले लिन्छ, कहिले भाग्यले । परीक्षाकै कुरा गर्दा आफन्त–इष्टमित्रले सर्वाधिक लिन्छन् भने सहकर्मी, सहयोगी र निकटस्थले लिने परीक्षाहरू पनि सम्झनैपर्ने हुन्छ । कतिपय परीक्षा त मेसै नपाई लिइन्छन् दिइन्छन् ।

प्रश्नहरू कहिले सरल र कहिले जटिल हुन्छन् । वा भनौँ, प्रश्नहरू सोचे–नसोचेका, अनुमान गरे–नगरेका जस्तासुकै हुन सक्छन् । तर, जवाफ दिनैपर्छ तिनको, उम्कने ठाउँ हुँदैन । सामना गर्नैपर्छ ती प्रश्नहरूको ।

यो जीवन जिउने उपक्रमको बाध्यता हो । यसलाई छल्ने वा बिथोल्ने सामर्थ्य कसैसँग हुँदैन । सम्भवतः यसमा कसैले विमति जनाउँदैन ।

यथार्थमा, चाहे वा नचाहे पनि दिनुपर्छ शृंखलित–विशृंखलित, आदि–अन्त्य, सन्दर्भ–प्रसंगको मेसो नपाइने प्रश्नका उत्तरहरू । र, प्रश्नहरूको सामना गर्दै र मिले वा नमिलेका उत्तर दिँदै समयको गति छोप्ने प्रयत्न गरिरहनु नै जीवन हो, जीवन्तता हो र हो गतिशीलता पनि ।

०००

केही परीक्षा भने यस्ता हुन्छन्, जो स्वेच्छाले दिइन्छन् ।

के कोही विद्यार्थी हुनैपर्छ, विद्यालय, कलेज जानैपर्छ भन्ने बाध्यता छ ? कसैले जागिर खानैपर्छ भन्ने छ ? के कुनै उद्यम–व्यवसाय गर्नैपर्छ भन्ने छ ? अहँ, छैन । हुनसक्छ, कसैले अभिभावकको इच्छाले विद्यार्थी बन्नुपरेको होस् । देखाउनकै लागि जागिर खाइदिनुपरेको अवस्था होस् । यसलाई अपवादको रूपमा लिन सकिन्छ ।

मनग्गे पैत्रिक सम्पत्ति हुनेले किन बेसाउनु यी झमेला ? फेरि, त्यस्तो नहुनेकै हकमा पनि विद्यार्थी नबनेर अनि जागिर–सागिर नखाएर, देखिने पेसा–व्यवसाय नगरेरै/नअपनाएरै पनि त चलेको छ जीवन !

गफैले, कुरैकुरा मात्रले पनि त चलिरहेको छ कैयौँको जीवन ! अझ भन्नोस्, तिनै अति व्यस्त छन्, तिनकै जीवन रमाइलो छ । तिनकै जीवन तनावमुक्त र मोजमस्तीमय छ !

तिनकै छेउछाउमा सहयोगी, सुरक्षक, चाकरहरूको ठूलो समूह छ । तिनै ठूलाठालु छन् र आममान्छेलाई तिनका निकट पुग्नु चन्द्रमा चुम्नुसरह छ ।

०००

बाह्य स्वरूपमा सुकिलामुकिला देखिने तिनको वास्तविक रूप भने कालो हुन्छ । देखिने केही नगर्नेहरू अदृश्य कर्म गर्छन् । यसो भनिरहँदा हामी खासगरी थुप्रै, आफूले राम्ररी चिनेजानेका वा भनौँ, घर–मावली–ससुरालीतर्फका तीनपुस्ते विगत थाहा पाएका र एकाएक टुप्पिएका नवधनाढ्यहरूका अनुहारलाई आफ्नै आँखामा देख्न र तिनका चुरीफुरी र ‘चमत्कार’ सम्झन सक्छौँ ।

देखिने उद्यम केही छैन, तर अग्ला, ठूला भीमकाय महल, महँगा सवारीसाधन, विभिन्न बहानामा बारम्बार भोजभतेर र रमझम तिनकै बढी देखिनुमा अदृश्य कर्मको ठूलो योगदान छ भन्ने कुरा सहजै अनुमान गर्न सक्छौँ ।

यतिखेर यी पंक्ति लेखिरहँदा यस्ता धेरै अनुहार आँखामा नाचिरहेका छन् र म भित्रभित्रै मनोरञ्जित भइरहेको छु ।

समाजमा तामझाम र अस्वस्थ प्रतिस्पर्धाका कारक यिनै हुन् । आधुनिकताको विकृत रूपलाई प्रश्रय दिनुमा र बढ्दो देखासिकीमा यिनको ठूलो भूमिका छ ।

यस्तामा जागिरेहरू समेत मिसिएको देख्दा भने उदेक लागेर आउँछ । तिनका चुरीफुरी र तामझाम देख्दा विश्वास नै लाग्दैन ती जागिरे हुन् वा थिए । कहाँबाट आउँछ यतिका ? के हो यसो गर्ने शक्तिको स्रोत, म सोचमा पर्छु । सँगसँगै जागिर खाएका, समान ओहदाबाट निस्केकाहरूमै पनि कसैको गुजारा हम्मेहम्मे, कसैको धनको तुजुक !

तर, अर्काको विषयमा सोचेर समय खर्चनु वाहियात भएकाले त्यतातिर धेरै अलमलिने गल्ती नगर्न सजग हुनु श्रेयस्कर ठान्छु र त्यसतर्फ नबहकिई आफूलाई सम्हाल्छु ।

भन्नैपर्ने एउटा कुरा भने छुस्स भनिहालूँ, यीमध्ये अधिकांश अभिमानी हुन्छन् । हतपती आममान्छेसँग सम्पर्क नगर्ने र खासगरी आफ्नो जरो किलोका जानकारहरूबाट अलि टाढै रहन रुचाउने यिनको स्वभाव हुन्छ ।

यसको सकारात्मक पक्षको कुरा गर्दा अचेल तिनै आडम्बरी समाजमा अनुहार देखाउने मेसो मिलाउन, बेलाबखत महान् दानी, त्यागी र सहयोगी बनेर समेत देखापर्ने गरेका छन् ।

समाज न हो, आखिर सबै एकै स्वभाव, चरित्र, प्रकृति, प्रवृत्तिका हुन्छन् र ? यही विविधता र वैषम्यको नाम त हो समाज ।

०००

फेरि लागौँ उही पुरानै सन्दर्भमा, कोही विद्यार्थी हुनु उसको स्वेच्छा हो र यो उसको परीक्षामाथि परीक्षा दिने तत्परता हो, रुचि हो  ।

यसैलाई अझ विस्तार गर्दै जाने हो भने निष्कर्ष निस्कने सम्भावना क्षीण हुन्छ । त्यो जोखिम किन लिनु ? नजाने गाउँको बाटो किन सोध्नु, खोज्नु ? यसैले विषय–सन्दर्भ साँगुरो पार्दै लैजाँदै छु र केन्द्रित हुँदै छु मूल विषयमा ।

भनिहालियो परीक्षाहरू धेरै किसिमका हुन्छन् र परीक्षक पनि थरीथरी, कोही दृश्य कोही अदृश्य ।

०००

परीक्षाको कुरा गर्दा विद्यालय, विश्वविद्यालयका आँगन झट्ट आँखामा आइहाल्छन् । विद्यालयले किशोर र विश्वविद्यालयले युवा बनाइदिन्छन् । सन्देह छैन, यिनलाई सम्झनुले मात्रै पनि रोमाञ्चित हुन्छ मन । सायद जीवनको उत्तरार्धमा यात्रारत सबैलाई त्यस्तै हुन्छ ।

विद्यालय–विश्वविद्यालयका परीक्षापछि जागिर खान परीक्षा दिइयो । जागिर खाँदै गर्दा पदोन्नतिका लागि परीक्षा दिइयो । र, यीबाहेक धेरै किसिमका प्र्रत्याशित–अप्र्रत्याशित परीक्षा दिएर, पटकपटक उत्तीर्ण भएर आइपुगिएको हो यहाँसम्म र सम्भवतः सामान्य जीवन जिउने अधिकांशका यहाँसम्मका कथा मिल्दाजुल्दा नै हुन्छन् ।

०००

सोचेकै, चाहेकै मात्र कहाँ हुन्छ ? नसोचेको, नचाहेको पनि कति हुन्छ कति जीवनमा । भन्नु नै पर्दा सोचेको भन्दा नसोचेकै बढी हुन्छ, जसको कारण र जवाफ खोज्नु कुहिरोको काग बन्नु हो । यसैले त्यतातिर पस्ने दुस्साहस नगरौँ । 

आफ्नै कुरा गर्दा पनि सोचेकै कहाँ थिइयो र यो उमेरमा यस्तो औपचारिक परीक्षामा सामेल भइएला भन्ने ? तर, समय निर्दोष छ । त्यसैले समयले धकेल्यो नभनौँ । खासगरी ज्ञानको भोकले डोर्‍यायो र बनियो औपचारिक कक्षामा विद्यार्थी ।

यसको अनुभूतिबारे कौतूहल हुनसक्छ । कतिपय आत्मीय मित्रहरू प्रत्यक्ष भेटमै चासो राख्नुहुन्छ यसप्रति, भन्छु– रमाइलो लागिरहेको छ, आनन्द लाग्छ, फेरि जवान भएको अनुभूति हुन्छ । र, साँच्चिकै भन्नुपर्दा वर्णनातीत छ यो अनुभूति र यसलाई एउटा अपूर्व अवसरको रूपमा लिइरहेको छु म ।

जिन्दगी भन्नु नै अनुभवको सँगालो – अझ भनौँ, अनुभवको फेहरिस्त हो भने नयाँनयाँ अनुभव हुनु, गर्न पाउनु अहोभाग्य नै त हो !

विद्यार्थी हुनु र परीक्षामा सहभागी हुनु स्वाभाविक हो, भइयो । अझै हुनु छ र भइने नै छ । तर, जिन्दगीले जीवनकै उत्तराद्र्धमा आइपुग्दा अनौठो परीक्षाको अनुभव लिइरहेको छ । र, त्यो वास्तवमै भिन्न छ अहिलेसम्मका थुप्रै परीक्षाभन्दा ।

०००

कुरैकुराको दुनियाँ, कुरैकुराको समयमा यसरी यति भनिरहँदा पनि अलि परतिरै कतै सोच्नुभएको हुनसक्छ यहाँहरूले ।

म भने बिलखबन्दमा छु, कहाँबाट कसरी उठान गरूँ भन्ने भएको छ । कहाँ जोडूँ, कसरी कता मोडूँ र सामान्य विषयलाई पनि विशेष बनाऊँ भन्ने भइरहेको छ । फेरि, यो कसैका लागि सामान्य, क्षुद्र, हीन, तुच्छ अनि वाहियात बकबास लाग्न सक्ने जोखिम एकातिर छ भने कसैका दृष्टिमा यही नै ठूलो र महत्त्वपूर्ण ठहरिन सक्ने सम्भावना पनि त उत्तिकै छ !

यसैले दुविधा/दोधार भने पटक्कै छैन । मात्र यसलाई अगाडि बढ्ने/बढाउने तरिकामा अलमलिएको छु म । र, विषयलाई उठाउन, पर्गेल्न, छिमोल्न कसोकसो अप्ठ्यारो लागिरहेछ ।

त्यसो त अक्षरहरू इमानदार छन्, जता ताक्यो उतै सोझिन्छन् । जता राख्यो उतै बसिदिन्छन् थुपुक्क, नाइँनास्ती नगरी । अझ सजिलो त यो भएको छ अचेल कि केरमेट गरिरहनुपर्ने झमेला छैन । फोहर देखिनु/देखाउनुपर्ने आवश्यकता पनि छैन ।

मन नपरे सजिलै हुत्याइदिन मिल्छ, डाँडो कटाइदिन मिल्छ, सकिन्छ छिनभरमै त्यस्ता तत्त्वलाई । प्रस्तुत सन्दर्भमा पनि ‘डिलिट’को एउटा ‘क्लिक’ले सारा चिज सफा भइहाल्छ भने पाजी दुई/चार अक्षर वा शब्दका कुरा त के नै पो हो र !

तर, म अक्षरको प्रेमी, अक्षरको भक्त, अक्षरको पुजारी भएकाले अक्षरहरूको अत्यन्त सम्मान गर्छु, अक्षरहरूका सामु आस्थाले निहुरिन्छु ।

०००

यहाँहरूलाई कुनै सरोकार वा चासो नै नभएको कुरो हुनसक्छ यो, हुनसक्छ मात्र किन ? हो नै । कृपया क्षमा गर्नुहोला, तर म त्यतैतिर लैजाने धृष्टता गरिरहेछु यहाँनेर ।

कुरो विद्यार्थी अनुभूतिको हो ।

विद्यार्थी र परीक्षाबीचको सम्बन्धको जानकार यहाँहरू हुनुहुन्छ नै । विद्यार्थी भइसकेपछि परीक्षाको सामाना गर्नैपर्छ । आइरहन्छन् परीक्षाहरू, यसपटक पनि आयो र गयो ।

अब कुरा गरौँ, पछिल्लो परीक्षा अनुभवको ।

परीक्षासँगै त्रास आउनु अस्वाभाविक होइन, त्यो पनि आयो र आयो परीक्षा हुने दिन, घडी, समय र प्रवेश गरियो परीक्षा हलमा ।

कल्पना गर्न सक्नुहुन्छ, त्यसपछि जवाफ लेखियो । छमहिने पढाइको तीनघण्टे परीक्षा सकेर घर फर्किइयो र पुनः अर्को दिनको परीक्षाको तयारीमा लागियो । यही क्रमले एक/डेढ हप्ता बित्यो ।

हो, सरलरेखामा यही हो बुझिने, तर यहाँ कुरा भिन्नै छ । त्यति मात्रै भइदिएको भए यी अक्षरहरू कोरिरहने झन्झट नै पर्दैनथ्यो वा भनौँ, यो गन्थन नै जन्मदैनथ्यो सम्भवतः । त्यति सहज कुरो होइन यो, अलिकति वक्र छ र नै यो विषय बन्न पुगेको छ वा भनौँ, यसले विषय बन्ने अवसर पाएको छ ।

खै कुन्नि किन हो, यसपटक विश्वविद्यालयले आफ्नो काखमा, आफ्नो आँगनमा स्थान दिएन, स्वागत गर्न चाहेन । अघिल्लोपटकजस्तो केन्द्र परेन बुढो विश्वविद्यालयको मूल घरतिर यसपटक ।

बरु, पठायो आफूसँग आबद्ध सहरकै एउटा सामुदायिक कलेजको साँगुरो कोठा, होचा बेन्चडेस्क, कोचाकोच परीक्षार्थी । अनि, परीक्षकका रूपमा उभिएका सम्भवतः सोही कलेजका अध्यापकहरू वा कलेज सम्बन्धित व्यक्तिहरू । 

०००

पहिलो दिनको कुरा, उत्तरपुस्तिका बाँडियो समयमै । समय संकेतसँगै प्रश्नपत्र बाँडियो । अब सुुरु हुनुपर्थ्यो उत्तर लेख्ने क्रम, शान्त हनुपर्थ्यो परीक्षा हल ।

तर, हातहरू कलम समाएर कापी सिँगार्नेतर्फ लागेनन् । अहँ, त्यसतर्फ लागेनन् । चलेनन् त्यसरी, जसरी सोचिएको थियो वा स्वाभाविक रूपमा चल्नुपर्ने थियो । दिमागको उपयोग भिन्नै ढंगमा हुन थाल्यो ।

सुुरु भयो खस्य्राखुस्रुक र सर्‍याकसुुरुक । परीक्षार्थीहरू चलमलाउन र तिनका हातहरू सलबलाउन थाले । सक्नेले आफ्ना कला प्रदर्शन गर्न थाले । कोठाहरू हरेक दिन फेरिए, तर यो क्रम लगभग उस्तै गतिमा हरेक दिनका परीक्षामा रह्यो । आफूचाहिँ हाँसको बीचमा बकुल्लाजस्तो !

०००

साँच्चै दुर्लभ दृश्य थियो त्यो, उहिले विद्यार्थी हुँदा । साँच्चिकै अकल्पनीय नै थियो । यद्यपि, कला र सीप हुने र अवसरको लाभ लिनेहरू उस बेला पनि नभएका होइनन्, तर त्यो संख्या अत्यन्तै न्यून हुन्थ्यो ।

कलम र प्रवेशपत्र बोकेर परीक्षा हलभित्र प्रवेश गर्ने र तिनमा प्रश्नपत्र थपेर बाहिर निस्कने आफ्ना लागि भने यो जीवनमै नौलो थियो । परीक्षा त यसै वर्ष केही महिनाअघि पनि दिइएको हो, तर त्यो पनि त यस्तो थिएन – साँच्चिकै परीक्षा थियो, जुन साढे तीन दशकअघिसम्म जसरी दिइन्थ्यो उसैगरी दिइयो र उसैगरी उत्तीर्ण पनि भइयो ।

यसपटकको परीक्षा भने यही र यस्तै नौलो र अकल्पनीय शैलीमा सम्पन्न भयो । अहिलेसम्म शैक्षिक योग्यताका लागि विद्यालय, विश्वविद्यालयका जे जति परीक्षा दिइयो, तिनमा पढेर, बुझेर जानेका र परीक्षाका बखत सम्झिएका कुरा मात्रै लेखियो । त्यही लेखाइबाट उत्तीर्ण पनि भइयो, अनुत्तीर्ण हुनु परेन, भइएन ।

०००

दोहोरिइरहेका उनै र उस्तै दृश्यको सामना गर्दै अन्तिम दिनको परीक्षा सकेर घर फर्किंदा मनमा प्रश्न खेलिरह्यो– परीक्षा पनि औपचारिकताका लागि वा प्रक्रिया पूरा गर्नका लागि लिइन्छ र ? परीक्षा त ज्ञानको परीक्षण हुनुपर्ने होइन र ? 

यति बेलै योग्यतामाथि योग्यता थपेको गौरव गर्ने र यसैगरी थप योग्यता हासिल गर्न यही तरिकाको इमानदारीका साथ संघर्षरत परिचित/अपरिचित सबैलाई बधाई तथा शुभकामना दिनु आफ्नो कर्तव्य हो भन्ने लाग्यो ।

०००

परीक्षा सकेपछिको फुर्सदिलो एक बिहान शब्दकोश पल्टाएँ र खोजेँ ‘परीक्षा’को शब्दार्थ, जहाँ लेखिएको थियो– ‘परीक्षा’ भन्नाले योग्यता, विशेषता, सामर्थ्य, गुण आदिको स्तर निर्णय गर्नका निम्ति ठिकसित परख गर्ने काम, जाँच गर्ने काम, जाँच, जँचाइ तथा कुनै वस्तुको गुण, दोष आदिको अनुभव गर्नका निम्ति गरिएको प्रयोग, पारख आदि ।

यति पढिसक्दा लाग्यो– आखिर नक्कल गर्ने क्षमता पनि योग्यता, विशेषता, सामर्थ्य र गुण नै त हो । 

र, म गुणस्तरीय शिक्षा अनि सक्षम र योग्य, दक्ष, जनशक्ति उत्पादनको नारा र आफूले भोगेको पछिल्लो परीक्षाको कुरूपता सम्झँदै र समयलाई चिन्न नसकेकोमा आफैँलाई लोप्पा खुवाउन थालेँ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  ०६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro