काठमाडौं । दोलखा जिरीकी ६५ वर्षीया डोल्मा शेर्पा होटेलमा खाना पकाउने काम गर्थिन् । जिन्दगी जसोतसो चलेको थियो । कामबाट निकालिइन् । सडकमा आइपुगिन् ।
सडकमा आएको दुई महिना भयो । आम्दानीको स्रोत बन्द भएपछि भाडा तिर्न सकिनन् । भाडा नतिरी घरधनीले कोठामा बस्ने दिने कुरा भएन ।
२० वर्षदेखि तारकेश्वर नगरपालिका १०, लोकतान्त्रिक चोकमा कोठा भाडामा बस्दै आएकी थिइन्, एक्लै । महिनाको पाँच हजार कमाउँथिन् ।
‘‘एक्लो ज्यानलाई पाँच हजार महिनामा ठिक्क हुन्थ्यो । राम्रैसँग बसेकी थिएँ । तर, पछि खाना पकाउने काममा अर्कैलाई राखे । मैले जागिर गुमाउनुपर्यो,’’ उनी भन्छिन् । जागिर गुमेसँगै पैसा सकिँदै गयो । घरबेटीलाई भाडा तिरेकी थिइनन् । कमाइ नहुँदा भाडा बुझाउन सकिनन् ।
‘‘भाडा छैन भन्दा घरबाट निकालिएँ,’’ उनले दुखेसो पोखिन्, ‘‘अझै काम गरेरै खान सक्ने सामर्थ्य छ । तर, के गर्नु काम पाइँदैन । भत्ता पाउने उमेर भएको पाँच वर्ष भयो । आफन्त कोही नहुँदा पहल भएन । वृद्धभत्ताबाट पनि वञ्चित छु ।’’
उनले थपिन्, ‘‘भत्ता पाएको भए त बसिबसी खान पुग्थ्यो होला । छोरो गतिलो जन्मेन । श्रीमान्ले बालिबैंशै मलाई छाडेर गए । मेरो त भाग्य नै खोटो रै’छ ! अहिले यस्तो अवस्था सिर्जना भयो । नागरिकता छैन । पहल गरिदिने कोही छैन । कहीँ-कतैबाट रुपैयाँको जोहो गर्न सकिएन । हुँदा-हुँदा सडकमा आउनुपर्यो ।’’
उनको आफन्तका नाममा एउटा छोरा छ । आमासँग बस्दैन । खर्च-व्यवहार हेर्दैन । उल्टै आमाले कमाएको रुपैयाँ लगेर खर्च गर्थ्यो । अहिले उनी तारकेश्वरस्थित नवजीवन परोपकार समाजको आश्रममा छिन् । उद्धार गरेर त्यहाँ लगिएको हो ।
‘भाडामा बसेको कोठाबाहिरपट्टिको सिँढीमा सुतिरहेको अवस्थामा फेला पारेर ल्यायौँ,’’ समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालले भने । उनको प्रश्न छ, ‘‘यसरी रोजगार गुमाएर सडकमा कैयौँ मानिस आएका छन् । यसको जिम्मा हामीले लिने हो कि सरकारले ?’’
सडकमा भोकै बस्दा मरिन्छजस्तो लागेको शेर्पाले सुनाइन् । ‘‘बुढेसकाल लाग्दै गयो । तर पनि काम गर्ने जोस अझै पनि मरेको छैन,’’ उनले भनिन्, ‘‘महिनौँसम्म सडकमा बस्दा यसरी आश्रममा आउँछु भनेर सोचेकी पनि थिइनँ । चिसो सिँढीमा बस्दा ज्यान सुन्निएको थियो । अहिले बिस्तारै निको हुँदै छु । अबचाहिँ केही समय बाँच्छुजस्तो लागेको छ । आश्रममा सकेको काम सघाउँछु । हट्टाकट्टै छु अझै पनि ।’’