site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रयोगकर्ताको व्यङ्ग्य–पूर्वराजा र्‍यालीमा, ओली टिकटकमा देश कोमामा !

काठमाडौं । टिकटक भन्नेबित्तिकै मनोरञ्जन गर्ने र लिने एपको रुपमा धेरैले बुझ्छन् । ठट्यौली शैली मन पराउने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक अकाउन्ट खोलेपछि नेपालमा यसको प्रयोगका बारेमा बहस सिर्जना भएको छ ।

कतिपयले प्रधानमन्त्रीलाई ‘खास टिकटक’ चलाउनुपर्ने व्यक्तिकारुपमा पनि चित्रण गर्दै सामाजिक सञ्जालमा आफ्नो भावना व्यक्त गरेका छन् ।  जब प्रधानमन्त्री ओलीले टिकटक चलाउन सुरु गरे, सामाजिक सञ्जालमा पक्ष–विपक्षमा विभिन्न प्रतिक्रिया आए ।

राजकुमार नामका एक प्रयोगकर्ताले व्यंग्यात्मकरुपमा ट्वीटरमा लेखेका छन्, “राजा र्‍यालीमा, ओली टिकटकमा, पौडेल धर्नामा, प्रचण्ड एक्टिङमा... देश कोमामा ।”

केही प्रयोगकर्ताले प्रधानमन्त्री ओलीको जोक्स र उखान–टुक्का टिकटकमा भाइरल हुने भयो भनेका छन् । कतिपयले पपुल्यारिटी जति सबै ओलीले लाने भए भनेर पनि लेखेका छन् ।

जे होस्, प्रधानमन्त्रीले टिकटकमा खाता खोल्नेबित्तिकै नेपालीमाझ टिकटकबारे अनेक बहस सुरु भएको छ । यसअघि, युट्युबर सोनिया रोकायाको टिकटक भिडियोमा पारस शाह आउँदा चियापसलदेखि टेलिभिजनका हास्यव्यंग्यात्मक कार्यक्रममा पारसलाई ‘टिकटके युवराज’ भन्दै मजाक गरिएको थियो ।

“तपाईंको युवराज के गर्नुहुन्छ भन्दै सोध्यो भने, टिकटक बनाउनुहुन्छ । भन्न पनि लाजलाग्दो,” ‘राजा आऊ, देश बचाऊ’ भन्नेका लागि कमेडियन आदर्श मिश्राको व्यंग्य थियो ।

केही समयअघि अभिनेत्री आँचल शर्माले पब्जी खेल्ने युवाभन्दा टिकटक भिडियो बनाउने महिला नै सिर्जनात्मक हुन्छन् भन्ने टिप्पणी गरेपछि मिम बनाएर उनको व्यापक ट्रोल भएको थियो । मनोरञ्जन हाबी भए पनि टिकटकमा सद्गुरुदेखि ‘अ प्रमिज्ड ल्यान्ड’को प्रवर्द्धन गर्न अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले अकाउन्ट खोलेका छन् ।

टिकटकमा कोही अभिनय गर्छन् । कोही गाउँछन् । कोही सामानको प्रचार गर्छन् त कोही जनचेतनामूलक सन्देश दिन्छन् ।  गाउँदेखि सहर, बालबालिकादेखि वृद्धवृद्धासम्म टिकटकमा लोभिएका छन् । नेताको उपस्थिति हुनु पनि अस्वाभाविक होइन । प्रधानमन्त्रीको टिकटकपछि ‘नेताजति टिकटकमा, युवाजति विदेशमा’ भन्दै बनाइएका मिम पनि सामाजिक सञ्जालमा प्रशस्तै भेटिन्छन् ।  तर, यस्ता मिमले खासै फरक नपर्ने धारणा राख्छन्, राप्रपा अध्यक्ष कमल थापा ।

प्रधानमन्त्री ओलीको टिकटकको चर्चा चुलिएपछि थापाले “मैले पनि टिकटक सुरु गरको छु” भनेर युजर आईडीसहीत ट्वीट गरेका थिए । थापाको अकाउन्ट (kamal_thapa@2012) मा टेलिभिजनमा दिएका अन्तर्वातादेखि पार्टीमा नाचेका भिडियोहरु देख्न सकिन्छ ।

कतिले उनको भिडियोलाई लिएर डुएट भिडियो पनि बनाएका छन् । नौ हजार ३४७ फलोअर्स भएका थापाले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहसहित जम्मा पाँचजनालाई मात्र फलो गरेका छन् । प्रधानमन्त्री ओलीको अकाउन्टमा भने ६७.३ के फलोअर्स छन् । टिकटकमा ओलीले सन्देशमूलक भिडियोमात्र राख्ने बताएका छन् ।

सामाजिक–साँस्कृतिक दुवैखाले सन्देशसहित भिडियो बनाउने पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले टिकटकमा युवाको संख्या उल्लेख्य भएकाले यसतर्फ आकर्षित भएको बताए । केही शुभचिन्तकले टिकटक हल्का मनोरञ्जनको लागि बनेको प्लेटफर्म भएकाले यसमा सक्रिय नहुनू भन्ने सल्लाह पनि उनलाई दिएका थिए । तर, थापा ठाउँको गम्भीरता व्यक्तिको प्रयोगले निर्धारण गर्ने भन्दै राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यक्तित्व गाँसिनुले यसको महत्व दर्शाउने बताउँछन् । 

ट्वीटरमा पनि उत्तिकै सक्रिय थापा भन्छन्, “मिडियामा एउटा कुरा भन्यो, समाचार अर्कै आइदिन सक्छ । तर, टिकटकबाट भन्न चाहेको दर्शकमाझ छिटै र सजिलै पुग्छ ।” फेसबुके, ट्वीटे हुँदै टिकटके नेतृत्व भन्दै आलोचना भए पनि मनोरञ्जनको लागिमात्र प्रयोग गरेको बताउँछिन्, सांसद रामकुमारी झाँक्री । 
भन्छिन्, “जनमानसमा सन्देश पुर्‍याउन मसँग थुप्रै प्लेटफर्म छन् । त्यसैले टिकटक म रमाइलोको लागिमात्र बनाउँछु ।”

टिकटक अकाउन्ट पहिले नै खोले पनि झाँक्रीले भिडियो भने बनाइसकेकी थिइनन् । तर, कोरोना महाव्याधिका कारण भएको लामो लकडाउनले अरुलाई झैँ उनलाई पनि सबै कुरा अनलाइनमै केन्द्रित हुन सिकायो । राजनीतिक छलफलदेखि कामहरु सबै जुम मिटिङ, भाइबर तथा फेसबुकको मेसेन्जरमा हुन थाल्यो । समाचारहरु पत्रिकाभन्दा पनि अनलाइनबाटै पढ्न थालिन् ।

सबै प्रकारका भिडियो हेरे पनि झाँक्रीलाई गीत गाउने र नाच्ने भिडियो बढी मनपर्छ ।  “उनीहरुको भिडियोमा कमेन्ट गरेपछि उनीहरु पनि खुसी हुन्छन् । उनीहरुको प्रतिभाको प्रवर्द्धन पनि हुन्छ,” झाँक्री भन्छिन् । तर, उनले प्रधानमन्त्री ओलीको टिकटक भने फलो गरेकी छैनन् । “भाषण त समाचारमै हेरिहाल्छु । त्यसका लागि टिकटक किन फलो गर्नु ?,” उनले थपिन् ।

चिनियाँ रक्षामन्त्री वेइ फेङहेको नेपाल भ्रमणको प्रभावले प्रधानमन्त्रीले टिकटक चलाउन सुरु गरेको टिकाटिप्पणीमा झाँक्रीको प्रतिक्रिया छ, “अत्यधिक चाकडीको लागि पनि बनाएको हुनसक्छ । त्यो त प्रधानमन्त्रीको सचिवालयलाई थाहा हुनुपर्ने हो ।”

के हो टिकटक ?

नेपालीमात्र होइन, अन्य मुलुकका आममानिसदेखि सेलिब्रिटी, खेलाडी तथा नेता सबैको ध्यान टिकटकले तानेको छ । सन् २०१६ मा सुरु भएको म्युजिकल्ली एपको विस्तारित भर्सन नै टिकटक हो । भिडियो सेयर गर्ने एपलाई सन् २०१८ मा चिनियाँ कम्पनी बाइट डान्सले लिएपछि प्रयोगकर्ता सबै टिकटकमा सरेका हुन् । १५ सेकेन्डको भिडियो बनाउन मिल्ने टिकटकमा म्युजिकल्लीमा भन्दा विविधता छ ।

टिकटकमा धेरै प्रकारका आवाज र गीतको सर्ट क्लिप हुन्छन् । जुन स्पेसल इफेक्ट्स र फिल्टरका साथ गर्न सकिन्छ । कसैलाई प्रतिस्पर्धाको लागि चुनौती दिने भिडियोदेखि नृत्य, जादु र हँसाउने भिडियो टिकटकमा भेटिन्छन् । यही गुणका कारणले हुनसक्छ, भिडियो गेमपछि विश्वको सबैभन्दा धेरै डाउनलोड गरिने एपमा टिकटक पर्छ । सन् २०१९ मा विभिन्न माध्यममार्फत् ७३८  मिलियनपटक टिकटक डाउनलोड भएको थियो ।

टिकटकमै प्रतिभा देखाएर नेपालमा थुप्रै कलाकारहरु जन्मिएका छन् । दीपा र दमन्ता तथा प्रिन्सी र प्रिज्मा अहिले नाम चलेका टिकटक कलाकार हुन् । जो म्युजिक भिडियोमा पनि अभिनय गरिरहेका छन् ।

विश्व राजनीतिमा टिकटक

चीनसँग विवाद भएपछि भारतले केही समय टिकटक चलाउन प्रतिबन्ध लगाएको थियो । चीन र भारतको सिमानामा झगडा हुँदा २० भारतीय सैनिकको ज्यान गएपछि भारतले गएको जुन १६ तारिखमा चीनका ५० वटा एपमा प्रतिबन्ध लगाएको थियो । जसमा टिकटक र विच्याट पनि थिए ।

यसअघि, सन् २०१९ मा पनि यसमा भएको पोर्नोग्राफिक विषयमा चासो देखाउँदै भारतले केही समयका लागि बन्द गरेको थियो ।

यसैगरी, टिकटकमा युरोपेली युनियन (ईयू)अन्तर्गतका मुलुकमा सय मिलियनभन्दा बढी प्रयोगकर्ता नाघिसकेका छन् । ईयूले एप बन्द नगरे पनि प्रयोगकर्ताको गोपनीयतालाई लिएर एपमाथि छानबिन सुरु गरेको छ ।

प्रयोगकर्ताको सूचनालाई एपले कसरी प्रयोग गरिरहेको छ भन्नेबारे डेटा प्रोटेक्सनमा काम गर्ने अन्तर्राष्ट्रिय निकायले जुलाईदेखि नै अनुसन्धान थालेको हो । टिकटकले भने बेलायत र युरोपेली युनियन मुलुकका प्रयोगकर्ताको तथ्यांक संकलन गर्न डब्लिनमा तथ्यांक केन्द्र बनाउने बताएको छ । अहिले तथ्यांक अमेरिकास्थित केन्द्रमा संग्रहित छ ।

यस्तै, अधिवक्ताहरुको समूहले जापान सरकारलाई व्यक्तिगत गोपनीयताको सुरक्षा हुनुपर्ने माग गर्दै टिकटक प्रयोगमा रोक लगाउन र टिकटकमाथि निरीक्षण गर्न अनुरोध गरेको वासिङटन पोस्टमा उल्लेख छ । इन्डोनेसिया र पाकिस्तानजस्ता देशले अश्लील तथा अभद्र र अनैतिक विषयहरु टिकटकबाट हटाउन अनुरोध गरेका थिए । पाकिस्तानले यस्ता विषय नहटाए टिकटक बन्द गर्ने चेतावनी नै दिएको थियो ।

इन्डोनेसियाले एपले पोर्नजस्ता विषय हटाउन सहमति जनाएपछि सन् २०१८ मा बन्द गरेको एप सन् २०२० मा बल्ल चलाउन अनुमति दिएको थियो ।


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro