
काठमाडौं । साझा प्रकाशनबाट प्रकाशित हुँदै आएको साहित्यिक मासिक पत्रिका ‘गरिमा’को कार्यकारी सम्पादकमा कवि तथा कथाकार मनोज न्यौपाने नियुक्त भएका छन् । मनोज (मनोजादित्य) न्यौपाने बाह्रखरी कथा प्रतियोगिता २०७८ का प्रथम पुरस्कार विजेता हुन् ।
साझा प्रकाशनले जनाएअनुसार सञ्चालक समितिको मिति २०८१ चैत ३१ को निर्णयअनुसार न्यौपानेलाई सम्पादकमा मनोनयन गरिएको हो । बितेको चार दशकबढी समयदेखि उनी कविता, गजल र कथा लेखनमा सक्रिय रहेका छन् ।
लेखनका साथै न्यौपाने २०५५ सालदेखि साहित्यिक पत्रकारितामा पनि संलग्न रहँदै आएका छन् । उनले शिवपुरी सन्देश (साहित्यिकि त्रैमासिक) र हरेकपल डट कममा पनि काम गरेका थिए ।
केही समयदेखि प्रकाशन बन्द रहेको ‘गरिमा’ यही वैशाखदेखि पुनः प्रकाशित हुने नवनियुक्त कार्यकारी सम्पादक मनोज न्यौपानेले बताए ।