पोखरा । झडप हुनसक्ने भन्दै तनहुँमा जिल्ला प्रशासन कार्यालयले मध्यान्ह १२ बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सागर न्यौपाले निषेधाज्ञा जारी गर्नुपूर्व दमौलीमा नेकपा तनहुँ र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन र नाराबाजी गरेका थिए । व्यास नगरपालिकामा मोटरेबल पूल निर्माण भएको र त्यसको उद्घाटन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने भनेपछि विवाद सुरु भएको थियो ।
नेकपाले कांग्रेसका नेतालाई पुल उद्घाटन गर्न नदिने भन्दै प्रदर्शन गर्यो । नेकपा तनहुँका अध्यक्ष केदार सिग्देलले कांग्रेसले जबर्जस्ती गर्न खोजेको भन्दै विरोध प्रदर्शन गरिएको जनाएका छन । नेकपाको प्रदर्शनपछि प्रशासनले विज्ञप्ति जारी गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, “तनहुँ जिल्लामा नेपाली कांग्रेस समेतको सहभागितामा २०७७ मंसिर १७ गते व्यास नपा वडा नं. १ र १०, ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्धाटन गर्न लागेकोमा पूर्वाधार विकास कार्यालय तनहुँको च.न. १६७ मिति २०७७ मंसिर १८ को पत्रबाट उक्त उद्घाटन कार्यक्रम स्थगन गरिदिन अनुरोध भएको छ ।”
जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेता पनि राष्ट्रिय युवा संघ तनहुँलगायतले विरोध प्रदर्शन, पर्चा, पम्पलेट र गतिविधिको निगरानी गर्दा झडप हुनसक्ने सम्भावना विश्लेषण गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।
उनका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिकाको वडा नं. १ र १० मा राजमार्गमा चल्ने सवारी बाहेक गल्फुबेसी, बुुल्दीखोला पुल, घाँसीकुवा सहितका क्षेत्रमा ५ जना भन्दा बढि व्यक्ति भेला हुन नपाउने र भेला भएको खण्डमा स्थानीय प्रशासन ऐन बमोजिम कारवाही हुने आचार्यले जानकारी दिए ।
यता, कांग्रेसले भने पूर्व निर्धारित कार्यक्रम नरोकिने जनाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय प्रशासनले फट्याईँ गरेको आरोप लगाएका छन् ।
उनले आफू पुल उद्घाटन कार्यक्रमस्थलतर्फ हिँडेको र आफूले कुनै झुटमुठको विज्ञप्ति नमान्ने बताएका छन ।
बाह्रखरीसँगको कुराकानीमा उनले भने, “स्थगित गर्ने र नगर्ने कुनै कारण र औचित्य नै छैन । यो पञ्चायतको मण्डलेतन्त्र फेरि फर्केर आएको देखिन्छ । हिजो हामीलाई रुख रोप्न लाग्दा पनि हामीलाई पिट्ने मान्छे आज तीनै हुन । आज पुल उद्घाटन गर्दा कुन शान्ति भंग हुन्छ, कुन विकास रोकिन्छ, कुन जनतलाई पीडा हुन्छ ? कुन देशलाई नोक्सान हुन्छ ?” उनले प्रश्न गरे, “हामी पुलको उद्घाटन गर्छौैँ । यो सबै झुटा हो, तँ रोएजस्तो गर, म कुटेजस्तो गर्छु भनेजस्तो हो । यो सबै नाटक रचिएको हो । केही मान्छेलाई मोटरसाइकल कुदाउन लगाएर प्रशासनले बेइमानी गर्दैछ । झुटमुठको विज्ञप्ति मान्दिन म । यो फट्याईँ हो ।”