पोखरा । सरकारले सोमबार देशका ३९६ स्थानीय तहमा ५, १० र १५ शैयाका अस्पताल एकैपटक शिलान्यास गर्ने कार्यक्रम राख्यो । डीपीआर, बजेट इस्टिमेटबिनै शिलान्यास गरिएका यी योजनालाई सरकारले स्वास्थ्य क्रान्ति भनेर प्रचार पनि ग¥यो । सात प्रदेशमध्ये गण्डकीका ५३ वटा स्थानीय तहमा पनि अस्पताल शिलान्यास गर्ने कार्यक्रम थियो ।
तर, कारणवश ४१ स्थानीय तहमा मात्र अस्पतालको शिलान्यास भयो । शिलान्यास हुन नसकेका १२ स्थानीय तहमा विवाद छ भने शिलान्यास भइसकेको स्थानीय तह पनि अछुतो छैनन् ।
स्थानीय तहमा अस्पताल शिलान्यास कार्यक्रममा यतिसम्म विवाद भयो कि एकातर्फ जनप्रतिनिधिले अस्पताल शिलान्यास गर्दा अर्कोतर्फ सोही स्थानीय तहमा नै आन्दोलन भइरहेको थियो । कतै मेयरले शिलान्यास गरेको अस्पताल सोही स्थानीय तहमा वडाध्यक्षले छुट्टै ठाउँमा शिलान्यास पनि गरे ।
गाउँसभाको निर्णय लत्याएर गाउँपालिका प्रमुखले कार्यपालिकाको बैठकबाट आफ्नो वडामा अस्पताल शिलान्यास गराएपछि पर्वतको मोदी गाउँपालिकामा तालाबन्दी नै भयो । सोमबार दिउँसो १ बजे वडा नं. ५ को बाजुङमा अस्पताल शिलान्यास गर्ने कार्यक्रम गाउँसभाकै निर्णयको विरुद्धमा थियो । तर, गाउँसभाले गरेको उक्त निर्णय गाउँपालिका प्रमुख प्रेमप्रसाद पौडेलले उल्टाएर आफ्नै वडामा शिलान्यास गराए ।
१० शैयाको अस्पतालको शिलान्यास प्रतिनिधिसभाका सदस्य पदम गिरीले गरे । अस्पताल शिलान्यास गर्न प्रतिनिधिसभा सदस्यसहित गाउँपालिका प्रमुख पौडेलको टोली बाजुङ पुग्दा गाउँपालिकाको कार्यालयमा भने तालाबन्दी थियो । उक्त कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ पनि जाने कुरा थियो ।
तर, गाउँपालिकामा नै तालाबन्दी भएपछि उनी बाटैबाट फर्केको बताइएको छ ।
मोदी गाउँपालिका गाउँसभाले २०७५ सालको जेठ २७ गते तेस्रो नम्बर एजेण्डामा स्थानीय तहको अस्पताललाई राखेको थियो ।
उक्त दिनको गाउँसभा बैठकले “निर्णय नं. ३ माथि छलफल गर्दा नेपाल सरकारको वर्तमान नीति बमोजिम प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल स्थापना गर्नका लागि मोदी गाउँपालिका वडा नं. ६ डिमुवा बजारमा स्थापना गर्नका लागि यो सभा निर्णय गर्दछ,” भन्ने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा सोमबार शिलान्यास हुने अस्पताल डिमुवामा नै बन्छ भन्नेमा त्यहाँका स्थानीय ढुक्क थिए । तर, गाउँपालिका अध्यक्षले १३ गते कार्यपालिकाको बैठक बोलाए र वडा नं. ५ अस्पताल शिलान्यास हुने निर्णय गराए । गाउँपालिका अध्यक्ष प्रेम पौडेल सोही वडाका बासिन्दा हुन् । कार्यपालिकाको बैठकमा सहभागी एक वडाध्यक्षले उक्त निर्णयमा भने हस्ताक्षर गरेनन् ।
यसरी गाउँसभाको निर्णयलाई कार्यपालिकाबाट उल्ट्याएर अस्पताल शिलान्यास गरेपछि मोदी गाउँपालिकाको कार्यालय सोमबार कार्यालय समयदेखि नै तालाबन्दी भयो । गाउँपालिको निर्णयको विरुद्धमा गएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् भने संघर्ष समिति नै बनाएर विरोधको कार्यक्रम पनि प्रदर्शन गरे ।
संघर्ष समितिका संयोजक दिपक शर्मा लामिछानेका अनुसार बुधबार गाउँपालिका घेराउ गर्ने कार्यक्रम छ ।
तर, सोमबार स्थानीयले लगाएको तालाबन्दी मंगलबार प्रहरी परिचालन गरेर खोलिएको छ । यस विषयमा बुझ्न खोज्दा गाउँपालिका प्रमुख पौडेलले व्यस्त रहेको प्रतिक्रिया दिए । तत्कालीन गाउँसभाको निर्णयअनुसार डिमुवामा सडकको पहुँच भएको, धेरै बस्तीलाइ पायक पर्ने, सरकारको कार्यविधि पालना हुनेलगायतका सबै मापदण्ड पूरा हुने भए पनि बाजुङको पखरेमा अस्पताल लगेर जनप्रतिनिधीले बदमासी गरेको तिलाहार र पातीचौरका बासिन्दाले विरोध जनाएका हुन् ।
सरकारी नीतिअनुसार सरकारी जग्गामा नै अस्पताल बनाउनुपर्ने, डिमुवामा आवश्यक सरकारी जग्गा पनि रहेको तर गाउँपालिका प्रमुख पौडेलले भने नीजि व्यक्तिको जग्गामा अस्पताल स्थापना गर्नेगरि कार्यपालिकाबाट निर्णय गराएका थिए । सोमबार अस्पताल शिलान्यास भएको बाजुङमा सरकारी जग्गा छैन । केही व्यक्तिले जग्गा दान गर्ने घोषणा भने गरेका छन् ।
पर्वतमा मोदीबाहेक जलजला, महाशीला र पैयुँ गाउँपालिकामा अस्पताल शिलान्यास भएका छन् । तनहुँको भानु नगरपालिकामा नेकपाका सांसद किसान श्रेष्ठबाट शिलान्यास गर्ने कि कांग्रेसबाट निर्वाचित मेयर उदय गौलीले शिलान्यस गर्ने भन्नेमा विवाद भयो । सोही विवादका कारण अस्पताल शिलान्यास नै भएन ।
बागलुङ नगरपालिकामा भने नगर कार्यपालिकाको निर्णय भन्दा फरक तरिकाले स्थान तोकिएपछि विवाद आयो । नगरपालिकाले वडा नम्बर १३ को पैयुँपाटा स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्ने निर्णय गर्दा संघीय सरकारले वडा नम्बर ७ को मूलपानीमा १५ शय्याको अस्पताल बनाउने भनेर बजेट छुट्यायो । सोही विवादले अस्पताल शिलान्यसा भएन ।
यसबाहेक गोरखाको सिरानचोक, गोरखाकै धार्चे, म्याग्दीको अन्नपूर्ण, रघुगंगा र धवलागिरि, स्याङ्जाको फेदीखोला र मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पनि अस्पताल शिलान्यास हुन सकेन । लमजुङको राइनास नगरपालिका, पर्वतको कुश्मा नगरपालिकामा पनि अस्पताल शिलान्यास भएन ।