काठमाडौं । चलचित्र विकास बोर्डले शून्यमा रहेको चलचित्र क्षेत्रलाई तत्काल चललायमान हुने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेको छ । चलचित्र क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन बन्द रहेका सिनेमा हल खोल्न र छायांकनको अनुमति दिन बोर्डले सरकारसँग आग्रह गरेको हो ।
“बोर्डले लेखेको चिठीका आधारमा सञ्चार मन्त्रालयले सीसीएमसीलाई पनि सिनेमा हल खोल्न सिफारिस गरिसकेको छ । तर, सीसीएमसीमा छलफल भयो कि भएन । सीसीएमसीबाट मन्त्रिपरिषद्मा गयो कि गएन भन्ने कुरा महत्त्वपूर्ण हो,” चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल भन्छन्, “सारा क्षेत्र खुलिसक्यो । अब बाँकी यही चलचित्र क्षेत्र मात्रै हो । दुई-चारवटा मन्दिरबाहेक सबै खुलिसक्यो । जिमखाना खोल्न दिएको छैन तर, सबै चलेकै छन् । सरकारले कडाइ गरेको भनेको चलचित्र क्षेत्र मात्रै हो ।”
दुई महिनादेखि मन्त्रालयलाई निरन्तर खबरदारी गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ । बोर्डलाई चलचित्रसँग सम्बन्धित संघसंस्थाले हल खुलाउन दबाब दिइरहेका छन् । त्यसको सुनुवाइका लागि बोर्डले मन्त्रालयसँग आग्रह गर्दै आएको छ । बोर्डलाई दबाब आउनु स्वाभिव रहेको अध्यक्ष दाहाल बताउँछन् । “चलचित्र संघ, निर्माता संघ, कलाकार संघ, प्राविधिक संघले बोर्डलाई दबाब दिइरहेका छन् । स्वाभाविक पनि हो । हल खोलेपछि सिनेमा छायांकनका लागि फ्लोरमा जान्छन् । रिलिज रोकिएका चलचित्र रिलिज हुन्थे । केही न केही चलचित्रकर्मीले रोजगारी पाउँथे,” दाहाल भन्छन्, “एकप्रकारले प्रेसर कम हुँदै जान्थ्यो अरु काम गर्न समय हुन्थ्यो । साथीहरु आएर हल नखुल्दा चौतर्फी समस्या भयो भन्नुहुन्छ । हो पनि समस्या विकराल हुँदै गइरहेको छ ।”
बोर्डले सम्बन्धित सबै संघ-संस्थालाई हल सञ्चालन भएको अवस्थामा दर्शकलाई कसरी चलचित्र हेर्न जाने वातावरण बनाउने र त्यसका लागि तयारी गर्न आग्रह पनि गरेको छ । फ्यान फलोइङ राम्रो भएका कलाकारले गरेको आग्रहलाई धेरैले मान्ने भएकाले सुरक्षित तवरले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर हलमा जाँदा कोरोनाको जोखिमबाट बच्न सकिन्छ भन्ने सचेतना फैलाउन कलाकारको ठूलो भूमिका हुने अध्यक्ष दाहाल बताउँछन् ।
“जनचेतनासहित सुरक्षित तवरले दर्शकलाई हलमा आऊ भनेर सबैले भन्नुपर्यो । यसमा कलाकारको भूमिका विशेष हुन्छ । किनभने उहाँहरुलाई सबैले चिन्नुहुन्छ । प्राविधिक संघ र निर्माताले संघले पनि भन्नुपर्यो,” उनी भन्छन्, “भोलि हल नै चलेन भने कसले सिनेमा बनाउँछ । पहिला हल चलाउने वातावरण बनाउनुपर्यो । निरन्तर मिडियामा रहेका कलाकारले हलमा आउनुस् हामी पनि तपाईंसँगै बसेर चलचित्र हेर्छौं भन्नसक्नुपर्यो । घर जत्तिकै सुरक्षित बनाउँछौं भनेर भन्न कलाकारको आवाज सबैभन्दा बलियो हुन्छ ।”
निर्णय भएको क्षणमै दर्शकमा जानसक्ने एक्सन प्लानको खाँचो रहेको बोर्डको भनाइ छ । बोर्डको आग्रह अनुसार चलचित्र कलाकार संघले कलाकार र दर्शक संगसँगै भनेर पर्याप्त सुरक्षा सावधानी अपनाएर हलमा दर्शक आउन कलाकारमार्फत आग्रह गर्ने तयारी भइरहेको बताएको छ ।
“यसका लागि हामीले केही कलाकारहरुसँग आग्रह पनि गरिसकेका छौं । सुरक्षित भएर हलमा हलमा गएर चलचित्र हेर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि कलाकारहरुले भूमिका खेल्नुहुनेछ,” चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का भन्छन्, “छोटो-छोटो क्लिप्स बनाएर नेपाल टेलिभिजन तथा अन्य टेलिभिजन र सामाजिक सन्जालमार्फत आग्रह गर्ने योजना बनाइरहेका छौं ।”
दर्शक र कलाकारसँगै मिलेर अगाडि नबढे चलचित्र क्षेत्र अगाडि नबढ्ने भएकाले अहिलेको अवस्थामा पनि साथ दिन दर्शकसँग आग्रह गरिने अध्यक्ष खड्का बताउँछन् । कलाकारको अनुहार बिक्ने भएकाले यसमा कलाकार फ्रन्टलाइनमा देखिनुपर्ने उनी बताउँछन् ।
चैतको पहिलो साताबाट सिनेमा घर बन्द छन् । नौ महिनादेखि चलचित्र क्षेत्र शून्यमा रहँदा राम्रै नाम र दाम कमाउने कलाकारलाई पनि कठिन हुन थालेको उनी बताउँछन् । त्यसैले तत्काल हल खुला गरेर शून्यमा रहेको चलचित्र क्षेत्रलाई चलायमान गराउँदै सहज अवस्था सिर्जना हुने वातावरण बनाइदिन संघले शुक्रबार सञ्चारमन्त्रीलाई भेटेर आग्रह गर्दै छ ।
सिनेमा हल बन्द हुँदा ठूलो संख्यामा रहेका कलाकार, प्राविधिक, निर्माता, सिनेमा हलमा कार्यरत कर्मचारी बेरोजगार भएका छन् । निर्माताको चलचित्रमा लगानी गरेको करोडौं रकम फ्रिज भएको छ भने अर्बौंका सिनेमा हल बन्द छन् ।
-फाइल तस्बिर