
खोटाङमै छँदाको यौटा कहालीलाग्दो, अत्यन्त निर्मम र पीडापूर्ण यौन अपराधको घटना सम्झँदा अहिले पनि मलाई निद्रा आउँदैन ।
दिक्तेलबजार छेउको बामराङ्गको एकजना राई (पूर्व प्रहरी)को सम्बन्ध आफ्नै हाडनाता अर्थात् काकाको छोरीसँग शारीरिक सम्पर्क भएछ । दुवैजनाको सहमतिमा भएको यो सम्बन्धले गर्भधारण गर्नु स्वाभाविकै हो ।
त्यस बेला गर्भ–निरोध गर्न पाउने कानुन आइसकेको थिएन । यसैले गर्भ भएपछि उनीहरूले घुम्ने बहानामा धरान–विराटनगर गई उतै गर्भपतन गरेर आउने गरेका रहेछन् ।
पछि फेरि यौनसम्पर्क रोकिएन । गर्भ रहने नै भयो । ती युवतीको ६–७ महिनाको गर्भपतनका लागि हवाईजहाजबाट धरान–विराटनगर जान उनीहरू लामीडाँडा विमानस्थल पुगेछन् ।
आषाढको महिना, पानी परेको पर्यै छ । जताततै हुस्सुले ढाकेको छ । केको जहाज आउनु ? ती फर्केछन् र नुनथलाछेउछाउको लेकाली गाउँमा बास बसेछन् ।
साँझपख घुम्दै जंगल पुगेपछि राईले भुँडीमाथि खुट्टाले जोडसँग टेकेर बच्चालाई बाहिर निकाल्ने प्रयास गरेछन् । अर्थात्, बच्चा पनि भित्रै मर्यो र आमाको पनि प्राण गयो ।
लासलाई त्यहीँ छाडी राई चुपचाप, केही भएको छैन जस्तो गरी घरमा आएछन् । गाउँघरमा ‘बहिनीलाई उसको फुपूकहाँ धरान छाडिदिएको छु’ भन्दा रहेछन् ।
यता ननुथलाको जंगलमा लास कुहेर गाउँभरि दुर्गन्ध फैलन थालेछ । केही दिनपछि प्रहरी कार्यालयमा खबर आयो । प्रहरीहरू घटनास्थल पुगे । लासको अवस्था बीभत्स छ, हेर्न समेत मुस्किल पर्ने ।
प्रहरीले आवश्यक अनुसन्धानसहितको कानुनी कारबाहीलाई अगाडि बढायो । यता स्थानीय जनताको जुलुस र नाराबाजीको सामना मैले गर्नुपर्ने भयो ।
जागिरको प्रकृति (नेचर) नै त्यस्तै भएपछि के लाग्छ ? लासको सद्गति गरियो, तर घटनास्थलमा गएका स.ई.बाट ती नारीको अंगभंग, पीडा, कष्ट अनि निर्मम हत्याको कुरा विस्तृतमा सुन्दा मेरो मन पनि रोयो ।
तर, अपराधी को हो ? कसरी पत्ता लाउने ? केही दिन चर्को तनाव व्यहोरेपछि भगवान्ले मलाई बुद्धि दिनुभयो । गाउँघरमा मैले बुझी पत्ता लगाएँ, ती २०/२२ की सुन्दरी युवतीको सबैभन्दा बढी सम्बन्ध वा सम्पर्क कोसँग थियो भनेर ।
सबैले त्यही भू.पू. प्रहरी (राई)लाई शंका गरेका रहेछन्, तर बाहिर खोल्न सकेका रहेनछन् ।
तुरुन्त उनलाई पक्रन मैले प्रहरी पठाएँ । त्यस रात म स्वयम् प्रहरी कार्यालयमा बसी बयान लिने काम भयो । दुई/चार थप्पड खाएपछि उसले आफ्नो सत्यतथ्य कुरा खोल्यो ।
राम ! राम ! कसरी सुन्नु र हेर्नु उसको अभिनय ! ६–७ महिनाको गर्भ रहेको पेटलाई आफ्नो बुट जुत्ताले थिचेको मात्र होइन, दुई हातले घाँटीमा समातेर मारेको अनि बच्चा योनीबाट बाहिर आउन खोजी झुन्डिएको हृदयविदारक दृश्यको प्रत्यक्ष बयान सुन्दा प्रहरी इन्स्पेक्टरसहित हामी मर्माहत भएका थियौँ । त्यो घटना अहिले पनि मेरो मानसमा ताजै छ ।
त्यसपछि निजलाई ज्यान मारेको अभियोगमा अदालत पठाइयो । केही वर्षको जेल बसाइपछि ऊ छुटिसकेको होला । तर, यौन अपराधका यस्ता मार्मिक घटनाहरू अहिले झन् बढी मात्रामा घटिरहेछन् ।
सधैँ पत्रपत्रिका र टीभीमा हेरिरहेका छौँ । त्यही प्रकृति र वातावरणको दुःखद घटनाहरू हेर्दा र पढ्दा मलाई त्यही खोटाङे लेक, ती पात्रपात्रा र त्यस बयानको पीडादायक रातको सम्झना भइरहन्छ ।
(प्रसिद्ध आख्यानकार परशु प्रधानको संस्मरणात्मक कृति ‘जिन्दगीका मोडहरू’बाट ।)