काठमाडौं । निर्देशक दीपेन्द्र दाहाल प्रधानमन्त्री केपी शर्मा ओली कलाकारिताका हिसाबले परिपक्व कलाकार भएको बताउँछन् । अभिनय गर्दै छु भनेर ओलीलाई अनुभूत नै नहुने गरेको उनको भनाइ छ ।
“उहाँलाई मेचोर्ड कलाकार भन्नुपर्छ । किनभने छायांकन हुँदै छ भनेपछि पनि उहाँ आत्तिनु हुन्न । उहाँलाई क्यामेराको राम्रो ज्ञान छ,” निर्देशक दीपेन्द्र भन्छन्, “कसरी क्यामेरामा प्रेजेन्ट हुनुपर्छ भन्ने उहाँलाई राम्रो ज्ञान छ । क्यामेरा भनेपछि उहाँ अरु कलाकार जस्तो कन्सस् हुनुहुन्न । जुन वातावरण छ, त्यो वातावरणमा उहाँ आफूलाई ढाल्न सक्नुहुन्छ ।”
छायांकनका क्रममा विभिन्न ठाउँमा उनले कुशलता प्रदर्शन गरेको दीपेन्द्र सुनाउँछन् । मेची-महाकाली अभियानअन्तर्गत सप्तरीमा गोली चल्दा आफूभन्दा पनि आफ्ना कार्यकर्तालाई कसरी जोगाउने भन्ने चिन्ता हुँदा पनि क्यामेराप्रतिको ज्ञानका कारण आफूहरुलाई कठिनाइ नभएको उनको भनाइ छ ।
चलचित्र ‘रातो सूर्य’मा निर्देशक दीपेन्द्रले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई मुख्य भूमिकामा अभिनय गराइरहेका छन् । चलचित्र ‘रातो सूर्य’ ओलीको जीवनीमा आधारित चलचित्र हो । करिब चार वर्ष अगाडिबाट सुरु भएको ‘रातो सूर्य’को छायांकन अझै सकिएको छैन । करिब १० प्रतिशत छायांकन बाँकी छ । प्रधानमन्त्रीका मुख्य इभेन्टहरुको छायंकन भने सकिएको उनको भनाइ छ ।
प्रधानमन्त्री भइसके पछिको व्यस्तता, बिरामी तथा पार्टीको आन्तरिक तनावका कारण पनि चलचित्रको छायांकनमा ढिलाइ भएको निर्देशक दीपेन्द्र बताउँछन् । “पार्टीको आन्तरिक तनावका कारण पनि समय भएन । इभेन्टको छायांकन सबै सकिसक्यो । तराईको द्वन्द्वका कामहरु सबै सकिसक्यो । अब इन्डोर सुटिङको काम मात्र बाँकी छ । अब राम्रोसँग काम गर्दा १० दिन सुटिङ गरियो भने सकिन्छ,” दीपेन्द्र भन्छन्, “प्रधानमन्त्री भइसकेपछि चलचित्रका लागि छायांकनमा उतार्न गाह्रो छ । प्रधानमन्त्री भएपछि दुई-चार सटभन्दा बढी लिन सकिएकै छैन । प्रधानमन्त्री हुनुभन्दा अगाडि सहज थियो । प्रधानमन्त्रीको सुरक्षा घेरालाई तोडेर सुटिङमा जानु भनेको असाधारण कुरा हो ।”
हालसम्मको छायांकनमा कति दृश्यहरु चलचित्रका लागि भनेर ओलीकै कार्यक्रममा सहभागी केहीलाई थाहा भयो भने कतिले पत्तै पाएनन् । मुगुको राराताल पुगेर गरेको सम्बोधन चलचित्रका लागि छायांकन भन्ने कुरा आयो । काठमाडौंको माइतीघर मण्डलमा ठूलो झन्डा फहराएको पनि छायांकनकै एउटा अंश भन्ने केहीले थाहा पाए । पार्टीको मेची-महाकाली यात्रामा दमक, बिर्तामाोड, सप्तरी, रौतहटलगायत थुप्रै सभाका सम्बोधनलाई दीपेन्द्रले ‘रातो सूर्य’का लागि कैद गरे । जहाँ ओलीले आफ्नो राजनीतिक करिअरमा काम गरेका थिए र, प्रपक्राउ परेका थिए । “केपी ओलीलाई तराईको शत्रु भन्ने हिसाबले प्रचार गरिएको थियो । त्यसमा उहाँ र पार्टीलाई जति गाह्रो थियो, हामीलाई पनि त्यति नै कठिन थियो त्यहँको सट लिन । तर पनि हामीले आवश्यक सट चाहिएको थियो,” दीपेन्द्र सम्झिन्छन्, “सुटिङकै क्रममा हामीलाई सहज भएन । थ्रेट आएपछि हामीले आफूलाई सुरक्षित राख्दै अन्यत्र जानुपरेको थियो । त्यहाँ हामीलाई आक्रमण भएपछि वसन्तपुरमा आएर काम गर्यौं ।”
ओलीलाई सरकारी खर्चमा आफ्नो चलचित्रको छायांकन गराएको आरोप लाग्यो । तर, दीपेन्द्र त्यो स्वीकार्न तयार छैनन् । उनी भन्छन्, “राजनीतिक दलको पूर्वनिर्धारित कार्यक्रममा हामीले हाम्रो सिनेमाको छायांकन युनिटलाई परिचालन गरेका हौं । छायांकनकै लागि कार्यक्रम तय गरिएको भए सरकारी कोष दुरुपयोग गरेको भन्न मिल्थ्यो । क्यामेरा मात्रै देखिन्थ्यो । अरुलाई थाहै हुँदैनथ्यो । तर हामी हाम्रो काम निकाल्थ्यौं ।”
चलचित्रमा केपी ओली ५० वर्षभन्दा माथिको उमेरमा आफैंले अभिनय गर्नेछन् । तर, त्यस अगाडिको उमेरमा ओलीका रुपमा अनुपम शर्मा देखिनेछन् । अनुपमबाहेक टीका पहाडी, तुलसी घिमिरेलगायत कलाकार पनि चलचित्रमा देखिनेछन् ।
‘सुखानी’ चलचित्रपछि दीपेन्द्रलाई केपी ओलीको जीवनीमा आधारित चलचित्र बनाउन मन लागेको थियो । प्रस्ताव उनले ओलीसामु राखे । उनले हुन्न भनेनन् । यसका लागि मदन भण्डारीको दुर्घटनामा आधारित चलचित्र ‘दासढुङ्गा बनेको थियो । त्यसले पनि दीपेन्द्रलाई यो चलचित्र बनाउन उत्प्रेरित गरेको थियो ।
सुरुमा त उनलाई व्यस्त राजनीतिज्ञ उनको जीवन बुझ्नै कठिन होला भन्ने लागेको थियो । तर, जब ओलीसँग उनले भेट बढाए चलचित्रका लागि सोचेभन्दा फरक पाए । “उहाँ चारैतिरबाट घेराबन्दीमा पर्नुभएको थियो । घेराबन्दीमा परेको मान्छेले राष्ट्रका लागि के योगदान गर्न सक्छ भनेर हामी सोचिरहेका थियौं । मेची-महाकाली अभियानअन्तर्गत सप्तरीमा घटनाको अघिल्लो रात उहाँले हामीलाई भन्नुभएको थियो देशका लागि म जे पनि गर्न तयार छु,” दीपेन्द्र भन्छन्, “सप्तरी घटनाको दिन बिहान उहाँले हामीलाई भन्नुभएको थियो- युवावयदेखि मृत्यु अँगालेर हिँडेको मान्छे हुँ मलाई केही डर छैन भनेर हामीलाई ऊर्जा दिनुभयो ।”
‘लेटनाइट’ बसेर पढ्न रुचाउने भएकाले ओलीसँग अबेर रातिसम्म बसेर दीपेन्द्र छलफल गर्थे । बनाउँदै गरेको चलचित्रको महत्त्व र त्यसको योगदान के भनेर त्यसका सकारात्मक र नकारात्मक पाटाहरु खोतल्थे । “समाज र जनतालाई यसले के योगदान दिन्छ भन्ने चिन्तन हुन्थ्यो,” दीपेन्द्र सुनाउँछन् ।
प्रतिकात्मक तस्बिर