site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र प्राविधिक होटेल खोल्ने, कलाकार खेती गरेर बस्‍ने अवस्था आयो

काठमाडौं । चलचित्र लेखक मौनता श्रेष्ठ आफ्नो फेसबुक अकाउन्टमा लेख्छन्- सम्बन्धित संस्थाहरूले चलचित्र प्रदर्शन गराउनेतिर पनि चासो दिनुपर्‍यो । मजदुरहरू पीडित भइसके । समस्याहरू हाम्रा पनि धेरै छन् । उनले यो स्टाटस नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई ट्याग गरेका छन् ।

उनको स्टाटसमा चलचित्र निर्देशक केपी पाठक कमेन्ट लेख्छन्, ‘संस्थाहरूले चासो दिने त चुनावको बेला हो ।’ बाँकी सबैले मौनताको स्टाटसलाई समर्थन गर्दै शत्‌प्रतिशत सही भनेर लेखेका छन् ।

चैतबाट चलचित्र क्षेत्र ठप्प हुँदा अधिकांश चलचित्रकर्मीहरू बेरोजगार छन् । त्यसमा पनि विशेषतः चलचित्र प्राविधिकहरू बेरोजगारीका कारण समस्यामा परेको नेपाल चलचित्र प्राविधिक संघको भनाइ छ । संघका अनुसार १५ सय चलचित्र प्राविधिक चलचित्र क्षेत्र शून्य हुँदा बेरोजगार भएका छन् । उनीहरूलाई दैनिक रोजीरोटीकै समस्या छ ।

सुरुका दिनमा संघले केही कलाकार तथा अन्य व्यक्तिले उपलल्ध गराएको राहत प्राविधिकलाई वितरण गरे पनि अहिले त्यो अवस्था पनि नरहेको बताएको छ । “सुरुमा सबै पेसा व्यवसाय ठप्प थियो । त्यसैले हुनेले पनि राहत दिनुहुन्थ्यो । तर अहिले प्रायः सबै पेसा व्यवसाय खुलेर अवस्था सामान्य भइसक्यो । त्यसैले अब राहत पनि कसैले दिँदैन,” संघका अध्यक्ष पुष्कर लामा भन्छन्, “सुरुका महिनामा भन्दा प्राविधिकहरूलाई झन कठिन भइरहेको छ ।”

सरकारले छायांकनका लागि अनुमति नदिँदा ठूला ब्यानरका चलचित्र फ्लोरमा जान नसकेको र ठूला चलचित्र छायांकनमा नगएसम्म प्राविधिकले काम नपाउने उनको भनाइ छ ।

अरु पेसा व्यवसाय सञ्चालनमा आइसक्दा पनि चलचित्र क्षेत्र नै अन्योलमै रहेको अवस्थामा प्राविधिकहरूमा वैकल्पिक पेसा अपनाउनतर्फ पनि सोच्‍न थालेको तर आर्थिक अभावका कारण त्यो सम्भव नभएको संघले जनाएको छ । “लामो समय चलचित्र क्षेत्र ठप्प हुँदा र अझै पनि अन्योल कायम रहेकाले साथीहरू वैकल्पिक पेसा अपनाउने हो कि भन्नेतर्फ पनि सोच्‍न थाल्नुभएको छ,” लामा भन्छन्, “तर अरु पेसा सुरु गर्न पनि सुरुमा लगानीकै कुरा आउँछ । त्यसैले अन्य पेसा सुरु गर्न पनि एकाध बाहेकलाई सम्भव छैन । त्यसैले प्राविधिकहरू ठूलो समस्यामा छन् ।”

आफूहरूले पटक-पटक सम्बन्धित निकायलाई खबर गर्दा पनि सरकारले माग नसुनेको उनको दुखेसो छ । मौनताले भनेजस्तो चलचित्रसँग सम्बन्धित सरोकारवाला निकायहरूले शून्यमा पुगेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन अनुमति दिन सरकारको ध्यानाकर्षण नगरेका होइनन् । चलचित्र विकास बोर्डले तालुकवाला मन्त्रालयमा प्रस्ताव पेस दसैँअगाडि नै गरिसकेको र अहिले पनि निरन्तर दबाब दिइरहेको बोर्डले बताउँदै आएको छ ।

चलचित्र निर्माता संघ र चलचित्र संघले पनि तत्काल हल खुलाउन र छायांकनका लागि अनुमति दिनभन्दै बोर्डमार्फत मन्त्रालयमा प्रस्ताव पेस गरिसकेका छन् । बोर्ड अध्यक्ष दयाराम दाहालसँगै दुईवटै संघका पदाधिकारीले मन्त्रालय पुगेर आफ्ना समस्या र मागहरू राखिसकेका छन् । संघका मागहरू बोर्डले समावेश गरेर मन्त्रालयलाई बुझाएको बोर्ड अध्यक्ष दयाराम दाहाल बताउँछन् । 

चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का आठ महिनादेखि कामविहीन हुँदा कलाकारहरूमा चरम आर्थिक अभाव रहेको बताउँछन् । नाम चलेकै कलाकार पनि आर्थिक संकटमा पर्न थालेको उनी बताउँछन् ।

“सुरुसुरुमा त जुनियर कलाकार तथा प्राविधिकहरूलाई मात्रै समस्या थियो । तर, कामविहीनताको समय लम्बिँदै जाँदा नाम चलेकै कलाकारहरूलाई पनि समस्या पर्न थालिसक्यो,” अध्यक्ष खड्का भन्छन्, “जीविकोपार्जनको माध्यम नै  कलाकारितालाई बनाएका हामी कलाकारलाई पनि अफ्ठ्यारो अवस्था आइसकेको छ ।” 

उनी अब तत्काल सिनेमा क्षेत्र सुरु नहुने हो भने पेसाबाटै पलायन हुनुपर्ने बताउँछन् । “अब पनि चलचित्र क्षेत्र चलायमान बनाउन ढिलो गर्ने हो भने प्राविधिकहरूले होटेल खोलेर र हामीले कृषिकर्मतिर लाग्‍नुको विकल्प छैन ।” रवीन्द्र सरकारले अब तत्काल सिनेमा हल खुला गर्ने र छायांकनका लागि अनुमति दिने विश्‍वास व्यक्त गर्छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro