काठमाडौं । दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल र केदार घिमिरेलगायतको टिमले नेपाली चलचित्र उद्योगमा रेकर्ड ब्रेकर चलचित्र दिए । उनीहरुको टिमले चलचित्र ‘छक्का पञ्जा’को सिरिज निर्माण गर्यो । ‘छक्का पञ्जा’ ‘छक्का पञ्जा-२’ र ‘छक्का पञ्जा-३’ तीनवटै चलचित्रले ग्रस कलेक्सनमा नेपाली बक्स अफिसमा रेकर्ड ब्रेक गरे ।
वितरकका अनुसार ‘छक्का पञ्जा’ले १६ करोड, ‘छक्का पञ्जा–२’ले १४ करोड र ‘छक्का पञ्जा–३’ले १९ करोड ग्रस कलेक्सन गर्यो । यो नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कलेक्सन हो । तर, यही समूहमा रहेका जितु नेपाल (मुन्द्रे) उक्त समूहबाट अब निकालिएको हल्ला बाहिरिएको छ । जितु नेपाल प्रस्तोता रहेको टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लबबाट ‘छक्का पञ्जा’ सिरिज निर्देशक दीपाश्री निरौलालाई हटाएपछि जितुलाई पनि दीपक-दीपाले आगामी चलचित्रमा नखेलाउने हल्ला बाहिर आयो । यद्यपि स्वयं उनीहरुले भने यसमा सत्यता नरहेको बताएका छन् ।
कलाकार गिरीले आजसम्म आफ्नो समूहमा रहेको कसैलाई पनि ननिकालिएको बताएका छन् । उनले बाह्रखरीसँग कुरा गर्दै सीताराम कट्टेल, कुञ्जना घिमिरे, निर्मल शर्मा, शिवहरि पौडेललाई पनि आफूहरुले ननिकालेको स्पष्ट पारे । “सीताराम कट्टेलजी समाजसेवामा प्रवेश गरेका कारण अब म भ्याउँदिन मलाई प्लान नगर्नुस् है दाइ भनेर जानुभएको हो । निर्मल शर्माजी पनि अब आफैं चलचित्र बनाउँछु भनेर हिँड्नुभयो । शिवहरि पौडेल पनि आफैं निर्देशन गर्छु भनेर सल्लाहमै आफ्नै काममा जानुभएको हो,” दीपक भन्छन्, “कुरा रह्यो जितु नेपालको उहाँलाई हामीले अब तपाईंलाई हाम्रो चलचित्रमा खेलाउँदैनौं भनेका छैनौं । भन्न आवश्यक पनि छैन । कमेडी क्लबबाट दीपाजी निकालिएपछि अब छक्का-पञ्जा युनिटबाट दीपक-दीपाले जितुलाई पनि निकाल्छन् भनेर अनुमानका आधारमा समाचारहहरु आए । तर त्यो सत्य होइन । हामीले न यसअघि कसैलाई निकालेका थियौं, न अहिले नै निकालेका छौं ।”
जितुको अहिले पनि दीपासँग भेट भइरहेको भन्दै दीपक जितुसँग आफूहरुको पारिवारिक सम्बन्ध रहेको बताउँछन् ।
जितु नेपाल पनि आफूलाई ‘छक्का पञ्जा’ टिमबाट निकालिएको बताउँछन् । आफूहरुको अहिले पनि भेट हुने गरेको तर यसबारे केही पनि कुरा नहुने गरेको उनी बताउँछन् ।
सधैं एउटै व्यक्तिसँग सहकार्य हुन्छ र हुनैपर्छ भन्ने नरहेको र समूहमा आउनेजाने क्रम जारी रहने दीपक बताउँछन् । यद्यपि यसको अर्थ जितुलाई निकालिएको हो भन्न नमिल्ने उनी बताउँछन् । “पहिलो कुरा त अब कम्तीमा एक वर्ष हामीले चलचित्र बनाउने सम्भावना नै छैन । अर्को कुरा चलचित्र बन्दा जितु नहुन पनि सक्छन्, हुन पनि सक्छन् । एउटामा नभएर अर्को चलचित्रमा पुनः समावेश पनि हुनसक्छन् त्यो पछिको कुरा भयो,” दीपक स्पष्ट पार्छन् । तर, आफूहरुले चलचित्र बनाउनुभन्दा अगाडि नै उनले अरुका ब्यानरमा बनेका चलचित्रमा काम गरेको अवस्थामा भने सहकार्य नहुने दीपकको भनाइ छ । ‘छक्का पञ्जा’ युनिटमा आबद्ध कलाकार चलचित्रसँग सम्बन्धित कुनै पनि काम गर्दा कुनमा गर्ने र कुनमा नगर्ने भन्ने विषयमा आपसमा छलफल गरेर मात्रै निर्णय गर्ने अनौपचारिक भद्र सहमति रहेको दीपक बताउँछन् ।
चित्त दुखेकै हो
७६ भाग प्रशारण भएको ‘मुन्द्रेको कमेडी क्लब’बाट हठात् दीपाश्री निरौला निकालिएकामा भने दीपक-दीपालाई चित्त दुखाइ छ । सिजन-२ सुरु हुँदा उक्त शोमा अध्यक्ष रहेकी दीपाश्रीको ठाउँमा जितुले नायिका करिष्मा मानन्धरलाई रिप्लेस गरे । यसमा भने उनीहरुलाई चित्त बुझेको छैन ।
“अघिल्लो दिन भोलि दिउँसो छायांकन छ भनेर बोलाइयो । दीपाजीले तयारी गर्नुभयो । तर राति अचानक तपाईं आउनुपरेन तपाईंको ठाउँमा अरुलाई नै राखियो भनेर फोन आयो । यसमा रातारात परिर्वतन गर्नुपर्ने केही कारण थिएन । यसमा हाम्रो थोरै असन्तुष्टि हो,” दीपक भन्छन्, “दीपाजी नै सधैं त्यहाँ हुनैपर्छ भन्ने छैन । तर एकछिनमा आऊ भन्ने, एकछिनै नआऊ भन्नु राम्रो होइन । यसमा बसेर सल्लाह गरेरै योपटक तपाईं नबस्नुहोला भनेर भन्न सकिन्थ्यो ।”
महानायकबारे बोल्दा दीपाश्रीले दर्शककको चर्को आलोचना खेप्नु परेपछि ‘मुन्द्रेको कमेडी क्लब’मा पुनः उनलाई राख्दा शोले नै गाली खाने भयले उनको ठाउँमा करिष्मालाई भित्र्याइएको हो । दीपाश्रीले महनायकका विषयमा आफ्नो अभिव्यक्ति दिँदा उनलाई दर्शकले गाली गरेका थिए । त्यसमा उनले पटकपटक माफी पनि मागेकी थिइन् ।
“अनावश्यक रुपमा आएको गालीका कारण मोरल डाउन भएको अवस्थामा टिममा रहेका साथीहरुले मोरल बुस्ट गर्न पनि पुनः साथ सहयोग गर्नुपर्ने अवस्था यस्ता निर्णय आउँदा पक्कै पनि कसैलाई राम्रो लाग्दैन,” दीपक भन्छन्, “तर यसकै कारण सबै सम्बन्ध सकियो भन्ने होइन । दीपाजी र मसँग जितुको पारिवारिक सम्बन्ध छ । सँगै काम गर्दा पनि खुसीले गर्ने हो । सँगै काम गर्न सकिएन भने पनि पुनः काम गर्नसक्ने वातावरणमा सल्लाहमै छाड्ने हो । यसअघिसम्म भएको पनि यही नै हो ।”
मबाट गल्ती भएकै हो
जितु नेपाल पनि हतारमा निर्णय लिँदा केही गल्ती आफूबाट भएको स्वीकार गर्छन् । “वास्तवमा मबाट पनि केही गल्ती भएकै हो । मैले यति लामो समय सहकार्य गरेको टिमसँग सल्लाह गरेर नै दीपा दिदीलाई सिजन-२ मा राख्ने कि नराख्ने भन्ने निर्णय गर्नुपर्ने थियो । तर हतारमा त्यो गरिनँ त्यो नै मेरो गल्ती भयो,” जितु भन्छन्, “असारसम्म नेपाल टेलिभिजनमा समय लिएको छ । दीपा दिदीले ७६ भागसम्म साथ दिनुभयो । अब केही समय मात्रै बाँकी छ । यो समयमा पुरानै रुपमा आउनेभन्दा पनि केही नयाँ परिवर्तन गरौं न भन्दा विनायोजना भयो । यो नै मेरो कमजोरी भयो, यसलाई मैले स्वीकार गर्नैपर्छ ।”
उनले प्रायोजक की इन्टरटेनमेन्टका कारण शोको अध्यक्ष परिवर्तन गरिएको दाबी गरे । प्रायोजकले नै दीपाश्रीलाई परिवर्तन गरिएको भनेर फोन गरेर जानकारी गराएपछि मात्रै आफूले पनि फोन गरेको उनको भनाइ छ ।
यता, दीपक भने यो बहानाबाजी मात्रै भएको बताउँछन् । जितुले स्ट्यान्ड लिन नसकेको दीपक बताउँछन् । आफूले सधैं दीपकाराज गिरी र दीपाश्री निरौलाबाट साथ सहयोग पाएको बताउँदै जितु चलचित्रमा सानोतिनो भूमिकामा टाक्कटुक्क देखिँदै आएकामा उहाँहरुकै कारण आफू चलचित्रमा नायककै रुपमा अवसर पाएको भन्दै सधैं आफू दीपक-दीपाप्रति ऋणी रहेको जितु बताउँछन् ।
दीपक–दीपा गर्ने जुनसुकै चलचित्रमा आफू रहे पनि नरहे पनि खुला ह्रदयले सहयोग गर्न तयार रहेको उनी बताउँछन् । “कहिले चलचित्र बन्छन् । कथा कस्तो हुन्छ । स्क्रिप्ट कस्तो बन्छ ठेगान छैन । यो वा त्यो नरहने भनेर एउटा फोटोमा म नरहेका कारण अनुमानका भरमा समाचार आए,” जितु भन्छन्, “छ माया छपक्कैमा सुरुमा म थिइनँ । पछि स्क्रिप्ट लेख्दै जाँदा दुई सिनमा रहेको प्रवीनको क्यारेक्टर बढ्दै गएपछि त्यसमा यो पात्र त जितुलाई फिट हुन्छ भनेर मैले खेलेको हुँ ।
सुरुमा म निर्माण, लेखन वा अरु कुनै एकमा मात्रै बस्ने भन्ने थियो । वास्तवमा स्क्रिप्ट लेख्न बसेपछि को रहने र नरहने भन्ने हुन्छ । अहिले नै कलाकारको निर्धारण हुने होइन । उहाँहरुले अहिले चलचित्र बनाउने पनि होइन ।”
युट्युब च्यानल आमा अग्निकुमारी मिडियामा अपलोड हुने उक्त शो अहिले जितुको आफ्नै च्यानलबाट अपलोड हुने गरेको छ । आमा अग्निकुमारी मिडिया केदार घिमिरेको हो । उक्त च्यानलबाट निकालेर आफ्नोबाट अपलोड गरेपछि पनि थप शंका उत्पन्न भएको भन्दै जितु भन्छन्, “सुरुमा मेरो पनि युट्युब च्यानल थिएन । कि इन्टरटेन्मेन्टको पनि थिएन । कसकोबाट गर्नेभन्दा केदारजीकोबाट गरौं भन्ने भयो । तर त्यति बेलै यो सधैंभरिका लागि होइन सीमित समयका लागि मात्रै हो भन्ने थियो । अहिले दोस्रो सिजनमा की इन्टरटेनमेन्टले आफ्नै च्यानलबाट राख्छु भनेपछि मैले होइन मेरोबाट म राख्छु भनेर राखेको हुँ । यो सबै केदारजीसँग सल्लाहमै भएको हो । बाघ कराउनु र बाख्रो हराउनु संयोग परेजस्तै मात्रै हो यो ।”
कोही व्यक्ति आउँदा वा जाँदैमा केही हुँदैन
दीपकराज गिरी नेपालमा समूहमा काम गर्ने संस्कार नरहेको बताउँछन् । अन्ततः आफूआफू काम गर्ने संस्कार चलचित्र, टेलिचलचित्रदेखि व्यापारिक घरानामा पनि रहेको दीपक स्मरण गर्छन् ।
काम गर्ने तौरतरिकाबारे टिममा रहेका व्यक्तिलाई जानकारी भएपछि कोही एक व्यक्ति निस्किँदैमा काममा त्यति धेरै फरक नपर्ने उनको बुझाइ छ । “राजा वीरेन्द्रको मृत्यु हुँदा मलाई अब देश सकियो भन्ने लाग्थ्यो । तर देश सकिँदोरहेन छ । सिस्टम बसेपछि देश चल्दोरहेछ । मेरो समूहमा म भइँन भने पनि यो समूह चल्छ,” दीपक भन्छन्, “किन भने काम गर्ने तरिका एक-अर्कालाई थाहा छ । राम्रो उद्देश्यका लागि एकजुट भएको टिम हो यो । मलाई लाग्छ कोही एकजना जाँदा केही फरक पर्दैन । क्रिएटिभ मान्छेहरु आउँछन् । क्रिएटिभिटीमा हामी विश्वास गर्छौं । हामी सबै मिलेर आयौं । कोही जान चाहान्छ भने ऊ आफ्नै कारणले आफू खुसी जानसक्छ । कसैलाई निकाल्ने अधिकार हामीलाई छैन । तर कोही जाँदा हामीलाई मानसिक असर मात्रै पर्छ । अहिलेसम्म झगडा गरेर गएको छैन । जोजति जानुभयो सबै प्रेमपूर्वक जानुभयो । जितुजीको हकमा दीपालाई निकालेका कारण यिनीहरुले पनि निकाले होला भन्ने अन्दाज मात्रै हो ।”
शिवहरि र निर्मल शर्मा पुनः सहकार्य गर्दै
शिवहरि पौडेल आफू ‘छ माया छपक्कै’मा नभए पनि अहिले पुनः सँगै काम गर्ने मौखिक कुराकानी भएको बताउँछन् । “हामी पहिला पनि सँगै थियौं । बीचको एउटा चलचित्रमा रोल नभएका कारण छुटेजस्तो मात्रै देखिएको हो । फेरि सँगै काम गरौं भन्नुभएको छ । मैले पनि हुन्छ भनेको छु,” शिवहरि भन्छन्, “हाम्रो सहकार्य हिजो पनि थियो । अहिले रिन्यु मात्रै भएको हो ।”
दीपक-दीपाले निर्मल शर्मासँग पुनः सहकार्य गर्ने भएका छन् भने विल्सनविक्रम राई पनि उनीहरुको समूहमा आबद्ध हुने भएका छन् ।