सानो देशको सार्वभौमसत्ता सहजै संकटमा पर्न सक्छ । त्यसैले सार्वभौमसत्ताको विषयमा नेपालीहरू अलि बढीनै संवेदनशील छौं । दुवैतिर विश्वका शक्तिशाली छिमेकी राष्ट्र भएको कारणले पनि नेपालीहरू यस विषयमा संवेदनशील हुनु अस्वाभाविक होइन । नेपालको यो संवेदनशीलतालाई हाम्रा छिमेकी राष्ट्रले बुझ्न र सम्मान पनि गर्न सक्नुपर्छ । दक्षिणतिरको सिमानामा धेरै समयदेखि ससाना कचिंगल हुँदैआएको र अहिले नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूभाग समेटेर नक्सा जारी गरेको अवस्थामा नेपाली राष्ट्रवाद भारतको विरोधमा अडिए झैँ देखिएको छ । तथापि, हालसालै हुम्लाको सीमा क्षेत्रमा चीनले नेपालतर्फ बनाएको भनिएका नौवटा भवनहरूका कारण चीन विरोधी ‘राष्ट्रवाद’ले पनि बिस्तारै स्थान पाउँदैछ । साथै, भारत र चीन दुवैले केही वर्षअघि नेपालको लिम्पियाधुराको बाटो प्रयोग गरेर एक आपसमा व्यापार गर्ने मनसाय जनाएपश्चात नेपालमा एक प्रकारको संशयको अवस्था विकसित भएको छ । तर, यस अवस्थाबाट मुक्ति पाउन नेपालले आफ्नो राष्ट्रिय हित र अडान कायम राखेर वार्ता गर्नुको विकल्प छैन । यसैले, दुई पक्षीय वार्ताका लागि छिमेकी देशले चासो देखाउँछन् र त्यसका लागि वातावरण बनाउन उच्चस्तरीय भ्रमणको चाँजो पाँजो मिल्छ भने त्यसबाट भाग्नु हुँदैन । बरु, यस्ता मौकालाई आफ्नो देशको हितमा प्रयोग गर्नुपर्छ ।
दुई साताअगाडि कात्तिक ६ गते नेपालका प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटघाटलाई कूटनीतिक मर्यादाविपरीत भनेर चर्को आलोचना भइरहेको अवस्थामा भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे कात्तिक १९ देखि तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आउँदैछन् । नरवणेको आसन्न भ्रमणको पनि समर्थनभन्दा पनि विरोध नै धेरै भएको देखिएको छ । समर्थन गर्नेहरूले पनि यो पचास वर्षभन्दा अघिदेखिको निरन्तरता हो भनेर सहजरुपमा लिनुपर्ने धारणा राखिरहेका छन् । वास्तवमा यी दुवै प्रकारका विचारले नेपालको हितमा स्पष्ट योगदान पु¥याउँदैनन् । भ्रमणको विरोध मूलतः सरकारको विरोध गर्न र दोष देखाउन केन्द्रित देखिन्छ भने निरन्तरता हो भन्नेले पनि यस भ्रमणबाट नेपालले ठोस केही पाउने वा गुमाउने होइन भन्ने सोच राखेको देखिन्छ । तर, नेपालले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा हुनलागेको भारतीय सेना प्रमुखको भ्रमणलाई औपचारिक निरन्तरतामा भनेर बेवास्ता गर्नु हुँदैन । भारतीय सेना प्रमुखको यस भ्रमणले दुई देशको सेनाबीच सौहार्द बढाउने र केही सैनिक सामग्री सहयोग हुने विषय साँच्चै नै औपचारिकता हो । तर, यो भ्रमण औपचारिकताभन्दा थप पनि हो भनेर अनुमान सहजै लगाउन सकिन्छ ।
अहिलेको अवस्थामा नेपाल र भारतको सम्बन्ध पक्कै पनि सहज अवस्थामा छैन मुख्यरूपमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयका कारण । केही समयअघि नयाँ नक्सा जारी गर्दा जनरल नरवणेले नेपालले चीनको उक्साहटमा गरेको भनेर दिएको अभिव्यक्तिले पनि उनको आलोचना भएको हो । तर, यस विषयमा उनले आफ्नो अडान सुधारेका पनि छन् । भारतका प्रधान सेनापतिलाई राष्ट्रपतिबाट प्रदान गरिने मानार्थ दज्र्यानीले पनि धेरैलाई चित्त नबुझेको देखिन्छ । यो करिब पाँच दशक पुरानो परम्परालाई निरन्तरता दिँदा नेपाललाई कुनै प्रकारको घाटा छैन । किनभने नेपालका प्रधान सेनापतिलाई पनि भारतका राष्ट्रपतिले सोही बराबरको मानार्थ दज्र्यानी दिने चलन छ । दुई देशको सेनाबीच सौहार्दपूर्ण सम्बन्ध देश र जनताको हितमै हुन्छ ।
यस्तो अवस्थामा पनि भारतले नरवणे र गोयलको भ्रमणमा अग्रसरता देखाउँछ भने नेपालले मौकाको सदुपयोग गर्न हिचकिचाउनु हुँदैन । सीमानाको विषयमा सेना प्रमुखले औपचारिक धारणा नराखे पनि चासो अवश्य राख्नेछन् । नेपालले ऐतिहासिक प्रमाण र अन्य आधारसहित आफ्नो पक्ष स्पष्ट पार्ने मौका प्रयोग गर्नु पर्छ । साथै, नेपालले आफ्नो चीनसँगको निकटता कुनै पनि रुपमा भारतको विरोधमा प्रयोग हुने ‘षड्यन्त्र’ होइन भन्ने विश्वास पनि दिलाउनुपर्छ । भारतीय प्रधान सेनापति नरवणेले नेपालबाट लैजाने सन्देशले दुई देशको आगामी सम्बन्धमा निकै महत्त्वपूर्ण प्रभाव पार्ने कारणले पनि यस भ्रमणलाई सौहार्दपूर्ण र सफल बनाउनु नेपालको हितमा हुनेछ । अहिलेको वैश्य युगमा भारत र चीन अनेक समस्या हुँदाहुँदै पनि एक अर्कासँग आर्थिक सम्बन्ध कायम राखेर दौत्य सम्बन्ध बलियो बनाउन लागि परेका छन् भने नेपालले कुनै एक देशको पक्षपोषण गर्नुपर्ने कुनै कारण छैन ।