![असाइनमेन्ट](https://12khari.top/uploads/posts/2020-10-31_Dilip-Bantawa-Katha.jpg)
"हेल्लो मिस्टर राई ! हाउ आर यू ?"
"आई एम गुड..." लेखिनसक्दै अर्को म्यासेज आयो
"एनिवे के गर्दै छौ ?"
"म नुहाइरहेको छु । आई एम अन्डर अ सावर राइट नाउ ।"
अचानक यस्तो म्यासेज टाइप भएर सेन्ड भैगयो । अचम्म ! म त किचनमा थिएँ । एउटा अन्डा फोरेर अलिकति हरियो धनियाँ, अलिकति हरियो खुर्सानी, अलिकति प्याज काटेर घोल्न लागेथेँ अमलेट बनाउन । तर कसरी त्यस्तो म्यासेज लेखेँ ?
"ओह् सरी फर डिस्टर्ब"
"नो, नो ! इट्स फाइन ।"
यति लेख्नेबित्तिकै प्रोफाइल भिजिट गर्न लागेँ । सुन्दर युवती कुनै सुन्दर पहाडलाई ब्याग्राउन्ड बनाएर निस्फिक्री हावामा हात उडाइरहेको फोटो प्रोफाइलमा थियो । अलिकति तल भर्खरै प्रकाशित मेरो किताबलाई उनैले मायालु स्पर्श गरिरहेको अर्को फोटो थियो ।
"अनि सावरमुनि बसेर च्याटिङ ?"
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
"नो, यतिबेला सावरबाट खसिरहेको पानीको ठीकनजिक मात्रै छु । यसरी खसिरहेको पानी हेरिरहन आनन्द लाग्छ मलाई । पानी त दुनियाँमा एउटै हो तर नाम कत्ति फरक है । यहाँ खसिरहेको पानी मेरो शरीरमा परेपछि फोहर हुन्छ । यो बाथरुमको भूमिगत पाइपबाट बाहिरिएर परको नदीमा मिसिएपछि फेरि अर्को नयाँ जिन्दगी पाउँछ र पुनः मजस्तै मान्छेको किचन, बाथरुमहरुमा पुगिरहन्छ । यू नो ह्वाट ? मान्छेको जीवनचक्र पनि यसैगरी चलिरहन्छ । ८४ लाख जुनिपछि मान्छे फेरि मान्छे भएर जन्मन्छ रे । मेरो सावरबाट खसिरहेको यो पानी फेरि यही सावरमा आइपुग्न कत्ति जुनि लाग्ला है ?"
एक्कासि मेरो दिमागमा के चल्यो यस्तो ? अजिब कुरा निरन्तर टाइप भइराखेको छ । मैले नसोचेको विषय । किचनमा उभिएर बाथरुमको व्याख्या गरिरहेको छु । ह्वाट ह्यापेन्ड विथ मी ?
"वाह् क्या दार्शनिक कुरा । द्याट्स ह्वाई आई लभ योर राइटिङ... मलाई तिम्रो हर राइटिङले तानिरहन्छ । यस्तो लाग्छ, तिमी मलाई वर्षौं अघिदेखि चिन्छौ र मेरै कथाहरु लेखिरहेको छौ ।"
'बट आई डन्ट नो बेबी, हु आर यू ?' यस्तै लेख्न मन भयो । तर लेखिनँ । "थ्याङ्क्स अलट" लेखिपठाएँ ।
"नुहाउनु पर्दैन अब ?"
"तिम्रो मुलायम शब्दहरुले म त पूरै नुहाए झैँ फ्रेस भएँ ।"
फेरि मैले नचाहेको वाक्य टाइप भइगयो ।
उताबाट मेरो म्यासेजको मुनि पानको पात टाँसिएको देखियो । म्यासेज बक्समा 'टाइपिङ...' देखिँदै थियो । टिँटिँटिँट्... टिँटिँटिँट... अलार्म बज्यो । बिहान भएछ ।
उठेर टाबेल बोकेर ट्वाइलेट गएँ । टाबेलले अनुहार पुछ्दै किचनमा छिरेँ । कस्तो अनौठो । अमलेट बनाउन तयार गरेको धनियाँ, खुर्सानी, प्याज सबै चपिङ बोर्डमै थिए । एउटा अन्डाको बोक्रा डस्ट्बिनमा थियो । खाली फ्राइपेन एउटा काँटा बोकेर बेसिनमा ढलेको थियो । डाइनिङ टेबुलमा आधा बोतल ह्विस्की र रित्तो ग्लासको बीचमा अलिअलि तेल बाँकी रहेको मेलामाइनको खाली प्लेट थियो । भर्खरैको सपना या अहिलेको चाहिँ सपना हो ठम्याउनै सकिरहेको थिइनँ । अघि एउटी केटीले मलाई राइटर भनेकी थिई । मेरो कितावको कुरा पनि भएको थियो । तर म त एउटा सरकारी कार्यालयको हाकिम थिएँ । किताब लेख्ने त होइन पढ्ने फुर्सदसमेत थिएन । पूरै दोधारमा रुमलिएँ एकछिन । सायद हिँजोको ह्विस्कीले टाउको घुमाइरहेको थियो कि ? चुरोट पिउन मन भयो । टेबलछेउको एस्ट्रेमा आधा डढेको चुरोट थियो । सायद हिजो अलि बढी पिएछु नत्र चुरोट त्यसरी आधामै छोड्ने मान्छे होइन म । एस्ट्रेनिर लडिरहेको बट्टामा अन्तिम खिल्ली रहेछ । नजिकैको लाइटरबाट सल्काएँ ।
टाबेललाई डोलो बनाएर गलबन्दी जस्तै घाँटीमा बेरिदिएँ र बेडरुमतिर जाँदै थिएँ । जोडले डोरबेल बज्यो । लगातार बजेपछि बेडरुमको यात्रालाई थाती राखेर ढोकातिर लम्किएँ । ढोका अनलक गरेर ढोकाको दुवै खापा खोली नसक्दै पेस्तोल ताकिरहेका तीनजनाले भित्रै धकेलेर ल्याए ।
"हेल्लो मिस्टर राई, आई एम डीएसपी प्रसिद्धजंग थापा फ्रम सीबीआई । यू आर अन्डर अरेस्ट ।" आईडी कार्ड देखाइरहेको मान्छेले निधारमा पेस्तोल ताक्दै थियो भने बाँकी दुईजनाले मेरो दुवै हात पछाडि लगेर हत्कडी लगाइसकेका थिए ।
"क्यान आई नो, ह्वाट इज माई क्राइम ?" जिल्लिएर सोधेँ ।
"साइबर क्राइमको अभियोगमा तपाईंलाई गिरफ्तार गरिएको छ । दिस इज योर अरेस्ट वारेन्ट ।" एउटा कागज देखाइरहेथ्यो । म जिल्लिरहेको थिएँ ।
"साइबर क्राइम ? ह्वाट अ ननसेन्स ? कसरी हुन्छ यस्तो ?"
म एक्कासि कराउन पुगेछु । यतिन्जेलमा म गाडीको सिटमा पुर्याइसकिएको थिएँ । दुईजनाले दुईपट्टि समाएका थिए भने मिस्टर थापा गाडी चलाउन तयार थिए । म भने एउटा भेस्ट, हाफ पाइन्ट र घाँटीमा बेरिएको टाबेलमा थिएँ ।
"मध्यरातमा केटीहरुसँग अश्लील च्याट गर्ने ? नुहाइरहेको फोटो पठाएर ह्यारेस गर्ने ? बाथरुमको अनेकौँ किस्सा बनाएर सुनाउने ?"
म अचानक झस्किएँ । त्यो केटी, म किचनमा हुनु तर म्यासेजमा बाथरुमको कुरा लेखिनु । म लेखक भनिनु, किताबको कुरा आउनु । अमलेटमा सबै चिज मिसाएर घोलेको तर बिहान अन्डाबाहेक सबै चिज उस्तै हुनु । मैले आफैंलाई केलाउन सकिनँ । रिँगटा लागेजस्तै भयो । सबै दृष्य रिक्याप गर्दै सम्झिएँ । अझ सबै मिक्स्ड भइगए । घरी ब्लर, घरी साइनिङ हुँदै दृष्यहरुले मगज रन्थन्याए । कुन सपना हो कुन विपना हो कुनै भेउ पाइरहेको थिइनँ ।
एक्कासि गाडी घ्याच्च रोकियो । मलाई हत्कडीसहित दुवै हात समातेर दुई भाइले बाहिर निकाले । अगाडिको मिस्टर थापा पेस्तोल हातमा लिएर खडा भयो । हेर्दा सुनसान जंगलको बीचमा भिरको टाकुरा थियो । सायद सडकको अन्तिम विन्दु हुँदो होला । त्यहाँबाट कतै जाने ठाउँ थिएन । अलि टाढासम्म परेको ठाउँ देखिन्थ्यो । बीचमा सेतो धर्सो जस्तो किरिङमिरिङ देखिन्थ्यो । सायद त्यो तराईको कुनै भाग होला जसको बीचबाट बगिरहेको त्यो सप्तकोसी हो कि ? क्षितिजमा बादलसँग मिसिएको त्यो धर्सोजस्तै मेरो दिमाग पनि कतै गुम भएको थियो । कतिबेर गाडीको यात्रामा बित्यो, कहाँ पुगियो केही ठेगान थिएन ।
"ओके मिस्टर राई, नाउ रेडी फर डाई ।"
"हँ ? किन ? केवल त्यो आरोपमै म मर्नुपर्ने ? यो कुन व्यवस्था हो ?"
"नो मिस्टर राई । त्यो त एउटा बहाना थियो । आई एम नट प्रसिद्धजंग थापा । न त सीआईबीको टिम नै । वी आर कन्ट्र्याक्ट किलर । तिम्रो इमानदार कामले उसलाई घाटा भयो । त्यो अस्ति भर्खर उद्घाटन भएको सडक तिमीले रिजेक्ट गर्दियौ नि । डु यू रिमेम्बर ? गुणस्तर नपुगेको नाममा तिमिले क्यान्सिल गर्दा कत्ति क्षति भयो थाहा छ ? अर्को बन्दै गरेको पुलमा पनि तिमीले डिस्टर्ब गर्दै छौ रे ! यदि त्यो पनि रिजेक्ट भए उसको लाइसेन्स नै सिज हुन्छ । तिम्रो इमानदारिताले कत्तिको कारोबार ठप्प भएको छ, थाहा छ ? नाउ यू ह्याभ नो चोइस ।"
बल्ल थाहा भयो, म किन छापामार शैलीमा यहाँ ल्याइएँ । म चुपचाप उभिएँ । मार हान्न ठीक पारिएको खसी जस्तै ।
"गुड बाई मिस्टर राई"
पहिलो गोली छातीमा लाग्यो । सायद भित्रै रह्यो होला ।अर्को गोली घाँटी र छातीको बीचबाट छिरेर पछाडि कतैबाट बाहिरियो । म उभिएको उभियै भएँ । अचम्म छ म किन ढल्दिनँ ? अर्को गोली उसले पोइन्ट्ब्लाङ्क फायर गर्यो मेरो कन्चटमा ।
पूरै टिनिनिनी.... आवाज गुञ्जियो कानमा । सम्झेँ, सायद अन्तिम सास चलिरहेको होला । तर त्यो आवाज टड्कारो हुँदै आयो । निकैबेर कान नै हल्लिने गरी बजिरहेपछि थाहा भयो मोबाइलको रिङ बजिरहेको रहेछ । हठात् कन्चट छामेँ, छाती र घाँटी सुम्सुम्याएँ । जस्ताको तस्तै आफ्नै ओच्छ्यानमा रहेछु, थैट । एकछिन त म आफैं अल्मलिएँ, म को हुँ ? राइटर ? सरकारी कर्मचारी ? वा अरु नै ? आँखा बन्द गरेर सम्झिएँ । म सहरको मध्यभागमा अवस्थित अपार्ट्मेन्ट्को १३औँ तलामा बस्छु । दुई दिनअघि सहरबाहिरको एउटा असाइनमेन्ट पूरा गरेर आफ्नो अपार्ट्मेन्ट्मा आएको हुँ । झल्याँस्स सम्झेँ, आज नयाँ आसाइन्मेन्ट पूरा गर्नुछ ।
आँखा खोलेँ, भित्तामा झुन्डिरहेको डिजिटल घडीमा बिहानको १० बजिसकेको थियो । हतारमा उठेर बाथरुम गएँ । सावर खोलेँ । सावरबाट खसिरहेको पानी जालिदार प्वालमा हतारिँदै छिरिरहेको हेरेँ । अचानक सपनामा मैले नचाहँदै लेखिएको बाथरुम र सावरवाला म्यासेज सम्झिएँ । नुहाएर किचनमा छिर्दा हिजो ह्विस्की र चुरोटसँग अबेलासम्म अनिँदो बसेको प्रमाणहरु छरिएका थिए । हतारमा एउटा ब्लाक कफी बनाएर चुरोट सल्काएँ । बट्टामा अन्तिम खिल्ली रहेछ । एस्ट्रे र कफी बोकेर बेडरुममै फर्किएँ । पालैपालो कफी र चुरोटको चुस्की लिँदै ब्युँझनुअघिका दृष्यहरु सम्झन खोजेँ । मलाई पेस्तोल ताकिरहेको मान्छेले भनेको सम्झेँ, "आई एम डीएसपी प्रसिद्धजंग थापा फ्रम सीबीआई ।" यो नाम सहरमा चर्चित थियो, निडर र इमानदार अफिसरका रुपमा । तर म किन अर्कै अर्कै नाममा त्यो पनि सपनाभित्र अर्को सपनामा त्यहाँ थिएँ र किन मिस्टर थापाको नाम प्रयोग गरेर अर्कैले मारिरहेथ्यो ? सपनामा घोत्लिरहने मान्छे त होइन म, तर आँखैअघि आफू मारिएको हेर्नु बडो नमज्जा लाग्ने रहेछ । सपनामै सही, अझै बाँच्ने रहर जागिरहेथ्यो मलाई ।
प्रसिद्धजंग थापा सहरमा भइरहेको हरेक इ-लिगल कारोबारलाई खेदो खनिरहेको अफिसर थियो । सहरमा हुने मानव अंग बेचबिखन, विभिन्न खेलहरुको म्याच फिक्सिङ र सट्टाबजार, गुन्डागर्दी, मेडिकल माफियागिरी, राजनीतिक सेटिङमा हुने अवैध व्यापारलगायत आवरणमा देखिने रियल स्टेट यी सबै बिजनेसहरु राम्रै चलिरहेका थिए । तर डीएसपी थापाको टिमले यी सबै र्याकेटहरु धमाधम ध्वस्त बनाइरहेको थियो । मिस्टर थापा कुनै पनि लोभमा फँसिरहेको थिएन । पैसा, पावर, प्रमोसन वा कुनै पनि सुविधा उसलाई अस्वीकार थियो । ऊ देशभक्त र इमानदार अफिसरका रुपमा चिनिन्थ्यो, उसको टिममा उसलाई सिंघम भनेर चिन्दथे ।
थापाको टिम हरेक शुक्रबार पत्रकार सम्मेलन गरेर साताभरिको क्राइम कन्ट्रोलको विवरण सार्वजनिक गर्छ । आज शुक्रबार, ठीक १२ बजे पत्रकार सम्मेलन हुँदै छ । कफी र चुरोट सकिएपछि ड्रेस चेन्ज गरेर टेबलमा राखिएको पत्रकारको आईडी कार्ड घाँटीमा झुन्ड्याउँछु । ड्रयरबाट क्यामेरा झिक्छु । दराजबाट झोला निकाल्छु र नजिकै भएको ट्राइपड समात्छु । ट्राइपड अन्फोल्ड गरेर मोडिफाई गरिएको पेस्तोल ट्राइपडमा सेट गर्छु । तीनवटा बुलेट लोड गर्छु र एकपटक निसाना लगाउँछु । छोटो रिहल्सलजस्तै नै गर्छु । यसरी म एक साताअगाडि प्राप्त आफ्नो नयाँ असाइनमेन्टका लागि तयार भएर निस्किन्छु । असाइनमेन्ट, अर्थात प्रसिद्धजंग थापा, डीएसपी इन सीबीआई । बिकज आई हेट एन अनेस्ट पर्सन...!