केही यता बलात्कारको अपराध नै बढेको हो कि घटनाको जाहेरी बढेकाले धेरै देखिएको हो भन्ने विषयमा त व्यवस्थित अध्ययनै हुनुपर्ला । तर,समाजमा बलात्कारप्रति अझै पनि पितृसत्तात्मक दृष्टिकोणबाट हेर्ने गरिएको छ भन्ने चाहिँ अपराध र त्यसप्रतिको सामाजिक तथा प्रहरी प्रशासनको व्यवहारले पुष्टि गर्छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विगत दुई वर्षको तथ्यांकअनुसार नेपालमा सालाखाला दिनहुँ छवटा बलात्कारका घटना भएका छन् । बलाकार पीडितमा अधिकांश ११ वर्षदेखि १६ वर्ष उमेर समूहका बालिकाहरू रहने गरेको तथ्याङ्कले देखाएको छ । नेपाली समाजको पितृसत्तात्मक सोच र पछौटे चरित्र हेर्दा प्रहरीसमक्ष नपुगेका घटना पक्कै सार्वजनिक भएका घटनाभन्दा थोरै छैनन् भन्ने अनुमान सहजै लगाउन सकिन्छ । यद्यपि, बलात्कारजस्तो अपराधमा संख्या महत्त्वपूर्ण होइन ।
अझै पनि नेपाली समाजमा बलात्कार पीडितलाई नै लाञ्छित गर्ने चलन बाँकी नै छ । यसैले घटना दबाउने वा बाहिर आए नै पनि गाउँघरमै मिलाउने वा बलात्कारीसँगै पीडित बालिका वा महिलाको बिहा गरिदिने गरिन्छ । अपराधीलाई सजाय दिलाउनुभन्दा परिवारदेखि समाज र कतिपय अवस्थामा प्रहरी प्रशासनकै अधिकारीसमेत पीडितको ‘इज्जत’ जोगाउन घटनालाई सामसुम पार्न खोज्छन् । नेपालकै पनि मध्य तराई, लुम्विनी र सुदूरपश्चिम प्रदेशमा बलात्कारका घटना दबाइने वा गाउँघरमै मिलाउने गरेका उदाहरण बढी पाइन्छ । यिनै ठाउँहरू आर्थिक र सामाजिक विकासमा पछि परेकाले बलात्कारको अपराध र समाजको पछौटेपनका बीचमा सहसम्बन्ध रहेको देखिन्छ । प्रहरीले पनि तिनै ठाउँहरूमा बलात्कारको अपराधमा बढी हेलचेक्य्राइँ वा बदमासी गर्ने गरेको पाइएको छ । यसैले सामाजिक चेतना जगाउनुका साथै कानुन कार्यान्वयन प्रभावकारी बनाउन सके बलात्कारको अपराध धेरै नियन्त्रण हुनसक्थ्यो ।
मानसिकरूपमा स्वस्थ व्यक्तिले बलात्कारजस्तो जघन्य अपराध गर्न सक्तैन । तर, युगौँदेखि नारीलाई उपभोग्य वस्तुका रूपमा हेर्ने समाजमा हुर्केकाहरूको सामूहिक अवचेतनमा बलात्कार अपराधभन्दा बढी पौरखका रूपमा बसेको छ । यस्तै, महिलाको ‘इज्जत’ कथित ‘कुमारित्व’सँग जोड्ने गरिएकाले पनि बलात्कारजस्तो जघन्य अपराघलाई पीडितकै अभिभावकसमेत मिलेर दबाउने विडम्बना पनि समाजमा बाँकी नै छ । सप्तरीको डाक्नेश्वरी — ७ की किशोरीले समाजले मिलापत्र गर्न दबाब दिएपछि आत्महत्या नै गरिन् । पीडितको अस्मितामा बलात्कारले जति नै चोट सम्भवतः न्यायको ढोका बन्द हुनुले लागेको हुनुपर्छ । यसैले पछिल्ला दिनमा बलात्कारको अपराधीलाई मृत्युदण्ड हुनुपर्ने बहस सुरु भएको हुनुपर्छ । तर, मृत्युदण्ड दिइने मुलुकहरूमा पनि बलात्कारको अपराध घटेको देखिँदैन । विद्यमान कानुनलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने, प्रहरीले अनुसन्धान र प्रमाण संकलनका क्रममा पीडितमैत्री कार्यविधि एवं व्यवहार अपनाउने तथा सामाजिक र राजनीतिक क्षेत्रका अगुवाहरूको बलात्कारप्रतिको दृष्टिकोण आधुनिक सभ्य समाज सुहाउँदो हुने हो भने नेपालमा पनि बलात्कारको अपराध कम हुनेछ । बलात्कार पीडितको संख्या जति धेरै वा थोरै भए पनि व्यक्तिको अस्मितासँग जोडिएको अपराध भएकाले यसप्रति समाजको दृष्टिकोण र राज्यको सोच दुवै बदल्नु आवश्यक देखिन्छ । सन्तान हुर्काउने बेलादेखि नै बलात्कार जघन्य अपराध हो भनेर सिकाउन सके धेरै युवालाई यस अपराधमा संलग्न हुनबाट जोगाउन सकिनेछ ।