डिस्क्लेमर : यो कुनै चलचित्र वा उपन्यासको प्लट होइन । यो त, राज्यको चरम अव्यवस्थाबाट सिर्जित परिघटना हो । प्रिय पाठक ! बेदबहादुरको दुर्दान्त पढेर ज्यादा भावुक बन्न र द्रवीभूत हुन जरुरी छैन । नागरिकप्रति सरकारको उदासीनताको वज्र ढिलाचाँडो तपाईं-हाम्रो थाप्लामा पनि बज्रने नै छ । राज्यको नजरको सस्तो भावुकताको अर्थ नै के छ र ?
० ० ०
आम नागरिकजस्तै सपनाको कुम्लो, काम्लो बोकेर ओखलढुङ्गा, सुनकोसी गाउँपालिका, साबिक कटुञ्जे २ का वेदबहादुर क्षेत्री ५ वर्षअघि काठमाडौं भित्रिएका थिए ।
काठमाडौं उनका लागि सुखद् रहेन । गाउँमा पनि उनको भागमा ऋण सिवाय केही भागमा परेको थिएन । त्यसकै तिर्न, बुझाउन बाँकी हिस्सा बोकेर काठमाडौं खाल्डो पसेका थिए । यहाँ पनि उनले ऋण नै कमाए । ऋणले ऋण काढ्दै गयो । गरिबीकै गर्तमा धकेल्दै लग्यो । दुःखको भवसागरबाट उत्रने छाँट नदेखेपछि पारिवारिक द्वन्द्व, मनमुटाव थपिन थाल्यो ।
वेदबहादुरका नाताले सालो पर्ने रमेश कार्की अन्यमनस्क भावमा सुनाउँछन्, “त्यही त हो नि हजुर ! कमाउन नसकेपछि । जोईपोइबीच कुरा मिल्न छाड्यो ।”
बौद्धकै उत्तरपट्टि डेरा लिएका थिए । सस्तो ज्याला, मजदुरी, आय–आर्जनको बाटो थियो । श्रीमती लक्ष्मीले पनि सकेजति सघाएकी थिइन् । तर, ऋणबाट पार पाउन सकेनन् । अन्ततः पारिवारिक विखण्डनको दुःखद् परिघटना निम्तियो ।
परिवारसँग छुट्टिएर सडकमै आश्रय लिन थालेका थिए । श्रीमती लक्ष्मीले घर फर्काउन नखोजेकी पनि होइनन् । छोराछोरीको अनुहार सम्झिएर, उनीहरूको भविष्यले पिरोलेर घर आउलान् भनेर लक्ष्मीले आशाको बत्ती निभाइसकेकी थिइनन् ।
तर, वेदबहादुरले मदिरालाई साथी बनाए । रक्स्याहाकै साथ मञ्जुर गरे । डेरा, परिवार त्यागेर सडकको सहारा लिएपछि उनको परिचयमा ‘भरिया’ थपिएको थियो । बौद्ध, जोरपाटी क्षेत्रमा भारी बोकेर साँझ-बिहानको छाक टार्न थाले । श्रीमान्लाई आफूसँगै राख्ने लक्ष्मीको सारा प्रयास व्यर्थ भयो ।
“त्यस्तै तीन वर्ष भयो होला हजुर उहाँ सडकपेटीमा रमाउन थालेको । घर जाउँभन्दा नसुनेपछि कसको के लाग्दो रहेछ र ?,” रमेश ती दिन सम्झँदै भन्छन् ।
विगत डेढ–दुई वर्षदेखि भने लक्ष्मीले वास्ता गर्न छाडेकी थिइन् । छोराछोरीले पनि बाबुको खासै वास्ता गर्दैनथे । चैत ११ देखि लकडाउन सुरु भयो । त्यसको ज्यादा असर वेदबहादुरलाई नै पर्यो । भारी बोक्ने काम पाउन छाडेपछि उनी नगरपालिकाको शरणमा परेका थिए । आफूले भारी बोकिदिएका साहूहरूकहाँ हात पसारेर साँझ–बिहान गुजार्दै आएका थिए । जेनतेन भोक भर्दै आएका थिए ।
भारी बोकेर लैजाँदा त साहूकहाँ प्रवेश पाउँदैनन् उनीहरूले भोक र रोगले गाँजेका रित्ता, अनिँदा भरियाहरू कसरी भित्र छिर्न पाउनु ! सडकमा कोही भोकभोकै बस्नुपर्दैन, कोही भोका–नाङ्गा हुँदैनन् भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दिव्यवाणी सिंहदरबारको चारपर्खाल छिचोलेर बौद्धसम्म पुग्न सकेन । कैयन् रात, कैयन् दिन वेदबहादुर भोकभोकै सडकपेटीमा बिताए ।
लाग्दो कात्तिकदेखि भने अनुहारको रोगन फेरिएको थियो । सडकमै आश्रय लिने उनका साथीहरूले पनि वेदबहादुरको अनुहार डढ्दै गएको देखेर आश्चर्यचकित भएका थिए । सुरुमा त उनीहरूले मदिराको कारणले होला भनेर लख काटे । डराउन उचित ठानेनन् ।
कात्तिकको २–३ गतेदेखि शरीमा ज्वरो देखा पर्यो । बिहान–दिउँसो ज्वरो सामान्य हुने । राति भएपछि ह्वात्तै बढ्ने । ६ महिनादेखि भारी नपाएका भरिया भाइसाथीहरूले अस्पताल पुर्याउन कसरी । वेदबहादुरको गलितम् शरीर देखेर विह्वल हुँदै बसे ।
“ज्वरोले इन्तु न चिन्तुसँग बाटामा मुढोजस्तो भएर लडिरहेको देखेर बौद्धका एकजना शेर्पा थरका व्यक्तिले जोरपाटी, आत्तरखेलको नेपाल मेडिकल कलेजसम्म पुर्याइदिनु भएछ,” रमेश भन्छन्, “कोरोना जाँचेछ । छातीको एस्सरे गरेछ र फोक्सोमा पानी जमेको छ उपचार गर्ने भए धरौटी जम्मा गर्नुपर्छ भनेपछि पैसा दिन सकिएन । त्यत्तिकै फिर्ता हुनुभयो ।”
कात्तिक ४ गते मेडिकल कलेज पुगेका वेदबहादुरको अस्पतालबाट फिर्ता हुँदा पनि ज्वरो घटेको थिएन । शरीर जीर्ण बन्दै गइरहेको थियो । दम पनि बढेको थियो । खोक्दा छाती घ्यार्घ्यार गर्थ्यो । कोरोना परीक्षणको रिपोर्ट दिनुको सट्टा अस्पतालले उल्टै मोटो रकम धरौटी माग्यो ।
“भरियाले कहाँबाट बुझाउनु आठ-नौ लाख धरौटी ?,” उनी भावुक हुँदै पीडा सुनाउँछन्, “उपचार खर्च नभएपछि अस्पतालबाट सडकै फिर्ता हुनुभयो । साथमा ज्वरो र छातीको दुखाइ बोकेर ।”
अस्पतालले फिर्ता पठाउनुको कारण उनीहरूले भोलिपल्ट मात्रै बुझे । वेदबहादुरलाई कोरोना सङ्क्रमण भएको रहेछ । धरौटी बुझाउन नसक्ने बिरामीलाई अस्पतालले शय्या किन दिन्थ्यो र ? ५ गते राति उनी बौद्ध ओरालोको सार्वजनिक शौचालयनजिकै सुतेर रात बिताए । भोलिपल्ट कोरोना सङ्क्रमित भएको ठहर भएपछि सबैजना छेउ पर्न डराए । उद्धार गर्ने कोही भएन ।
दोष नेपाल मेडिकल कलेजको थिएन । उसले त खाली स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो आदेश पालना मात्र गरेको न हो । सरकारले कात्तिक २ गतेपछि भर्ना भएको सबै कोरोना सङ्क्रमितको उपचार गर्न नसक्ने, विपन्न, असहाय, अपाङ्गता भएका, एकल महिला आदिको मात्र उपचार गर्न सक्ने भनेर हात उठाइसकेको थियो । वेदबहादुरसँग विपन्नताको पुर्जी थिएन । न गरिबीको कुनै प्रमाणपत्र नै थियो । खल्ती हेरेर अस्पताले धनी-गरिब छुट्टयाउने कुरै भएन । भरियासँग लाखौं रुपैयाँ हुँदैन भनेर अस्पतालको चेतनाले ठम्याओस् पनि कसरी ? मेडिकल कलेजले वेदबहादुरलाई घर फर्कने बाटो देखाइदियो ।
कोरोना सङ्क्रमणले उनको मदिरा–प्यास रोक्न सकेन । हातमा कोरोना पोजेटिभको पुर्जी बोकेर उनी भट्टी छिरेछन् । कात्तिक ६ गते नै उनले त्यसो गरेका रहेछन् । भोलिपल्ट मात्रै टोलवासीले थाहा पाए । गाउँभरि सर्वत्र त्रास व्याप्त भयो । प्रहरीलाई खबर गरे ।
मदिराको सुरमा उनी कता अलप भए कता ? कसैले भेउ पाउन सकेनन् । वेदबहादुरलाई कुनै अस्पतालले भर्ना लिई पो हाल्छ कि भनेर उपाय खोज्न निस्किएका स्थानीय मोहन गौतम सुनाउँछन्, “कोरोना सङ्क्रमित भनेपछि मानिसहरू सबै तर्कंदा रहेछन् । कसले सहायता गर्नु ?”
तत्कालीन एमालेको युवा संघका क्षेत्रीय अध्यक्षसमेत रहेका उनले स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गरे । आफ्नै पार्टीको सरकार भएकाले सहायता मिल्नेमा उनी ढुक्क पनि हुँदा हुन् । स्वास्थ्य मन्त्रालयको ९८५१२५५८३७ नम्बरको हटलाइनमा सम्पर्क गर्दा फोन उठ्नै दुरुह भयो । धेरैपल्ट फोन डायल गरेपछि बल्लतल्ल फोन उठ्यो । एकजना कर्मचारीले रूखो जवाफ फर्काए ।
“सरकारले निःशुल्क उपचार गर्न नसक्ने भनेको छ, संक्रमितले अस्पतालले तोकेको धरौटी बुझाएमात्र अस्पताल पुर्याइदिने जवाफ दिए” गौतम भन्छन्, “सरकारले विपन्न, असहाय नागरिकलाई निःशुल्क उपचार गरिदिने भनेको छ नि भनेर सोध्दा, खै हामीलाई थाहा छैन भनेर पन्छिए ।” त्यसपछि गौतमले स्वास्थ्यमन्त्री भानुभक्त ढकालका सञ्चार हेर्ने माधव तिवारीलाई पनि फोन गरे । उनले प्रस्ट जवाफ नदिएको गौतम सुनाउँछन् ।
निरुपाय भएका मृतकका साला रमेशले बिहानदेखि स्वास्थ्य मन्त्रालयको हटलाइनमा फोन गरेर बसे । अनुनय-विनय गरेपछि अपराह्नतिर एम्बुलेन्स उपलब्ध गराउन सहमत भयो । एम्बुलेन्सत त आयो । तर, वेदबहादुर होसमा थिएनन् । एम्बुलेन्सका कर्मचारीले ‘जड्याहा’लाई कुन अस्पताल भर्ना गर्नु भनेर एम्बुलेन्स रित्तै फर्काएको रमेश बताउँछन् ।
फूलपातीको रात पनि वेदबहादुर सडकपेटीमै काटे । अष्टमीको दिनको सूर्योदयसँगै रमेश एम्बुलेन्सको खोजीमा जुटे । बौद्ध प्रहरीलाई लाख बिन्ती बिसाएपछि अस्पताल पुर्याइदिन राजी भएको थियो । भिनाजुले अस्पताल जान पाउने भए, उपचारखर्च ज्यान धरौटी राखेर भए पनि बेहोरौंला भनेर रमेशको अनुहारमा शारदीय घाम लागेको थियो ।
खुसीको बत्ती निभ्न रत्तिभर पनि लागेन । सडकमा बेवारिसे पल्टिइरहेका वेदबहादुरलाई उठाउन प्रहरीले एम्बुलेन्स ल्याएको मात्र के थियो, विपरीत दिशाबाट आएको स्कुटरले वेदबहादुरलाई ठक्कर दियो । टाउकामा गहिरो चोट लागेका वेदबहादुरको घटनास्थलमै प्राणपखेरु उठ्यो ।
यो आलेख तयार पार्दासम्म वेदबहादुर शव सडकबाट उठ्न सकेको छैन ।
“सद्गत गर्ने पैसा पनि छैन । कुन खर्चले किरिया उतार्नु भनेर दिदी, भान्जाभान्जी पिरोलिइरहेका छन्,” रुँदै रमेश भन्छन्, “अब हामीले आफ्नै भाग्यलाई त सराप्ने होला !”