विराटनगर । सीमा नाका बन्द भए पनि भारतबाट नेपालतर्फ हुने तस्करीमा भने कमी आउन सकेको छैन । मोरङ र सुनसरीका सीमा नाकामा दसैं नजिकिएसँगै विभिन्न सरसामान तस्करी हुने क्रम पनि बढेको हो ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार अवैध रुपमा भन्सार छली गरी लुकाइछिपाइ ल्याएको करिब रु. ६ लाख मुल्य बराबरको लत्ता कपडा तथा खाधान्न सामग्री प्रहरीले बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा विराटनगरको रानीस्थित सीमा क्षेत्रबाट ल्याउँदै गरेको करिब रु. ४ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाधान्न सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विराटनगर १७ मटेरुवास्थित चुलिया देबी साहको घरमा अवैध रुपमा लुकाइछिपाइ राखेको मटरको दालको विषयमा गोप्य सूचना पाइ जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चुलिया देबीको घरमा खानतलासी गरेको हो । यसक्रममा बिल नभएको २५ केजीको दरले १८ बोरा (४५० केजी) दाल करिब रु ३८ हजार बराबर बरामद गर्दै मूल भन्सार कार्यालय रानी दाखिला गरिएको छ ।
यसैगरी आइतबार बिहान करिब ६ बजे मोरङ विराटनगर महानगरपालिका वडा नं. ८ स्थित जय नेपाल चोकबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले सीमा नाकाबाट हुने तस्कर तथा अवैध सामानहरु चोरी निकासी नियन्त्रण गर्ने अभियानअन्तर्गत को २ ह ७६७१ नम्बरको अटो टेम्पोमा लुकाईछिपाई ल्याउँदै गरेको लत्ताकपडा बरामद गरेको छ ।
भारतीय नाकाबाट नेपालतर्फ ल्याइँदै गरेको कुर्ती सिंगल ६०८ पिस, कुर्ता सुरूवाल सेट १६५ पिस, बच्चाको पेन्ट १८ पिस, बच्चाको जामा ८ पिस बरामद भएको प्रहरीको भनाइ छ ।
टेम्पोसहित सामान कानुन बमोजिम आवश्यक कार्वाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसअघि पनि ठूलो परिमाणमा मटर दाना जहदामा बरामद भएको थियो ।
यसैगरी इनरुवा–दुहवी सडकखण्ड एरियाबाट २ लाख मूल्य बराबरको लत्ता कपडाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । विशेष सुराकका आधारमा गस्तीमा खटिएको प्रहरी टोलीले आइतबार बिहान रु. ६ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामानहरु बरामद गरेको प्रहरीको भनाई छ ।
असोजन २८ गते वडा प्रहरी कार्यालय(क) विराटनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला विराटनगरको महेन्द्र चौकमा भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली गरी प्रदेश नं. १–०२–००२ ह ८६२१ नम्बरको अटो टेम्पुमा राखी नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडासहित एक जनालाई पक्राउ गरेको थियो । सोही दिन जतुवा नहर छेउमा भारतको जोगबनीबाट नेपालतर्फ को २ प १७१४ नं. को मोटरसाईकलमा अवैध रूपमा भन्सार छली गरी ल्याउदै गरेको रजनीगन्धा, तुलसी र कस्मेटिक सामानसहित एक व्यक्तिलाई पक्राउ गरेको थियो ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले सीमाबाट अहिले चाडपर्वको बेला हुनसक्ने तस्करी नियन्त्रण गर्न प्रहरीले विशेष निगरानी बढाइएको जानकारी दिएका छन् ।