पोखरा । दसैं नजिकिँदै जाँदा विभिन्न जिल्ला प्रशासन कार्यालयहरुले आवागमनमा कडाइ गर्न थालेका छन् । यतिसम्म कि बाह्य जिल्लाबाट आउनेले नाकामा पीसीआर नै देखाउनुपर्ने आदेश स्थानीय प्रशासनबाट आएको छ । दसैं १० दिनसम्म मनाउने प्रचलन छ, तर १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने आदेश स्थानीय प्रशासनले गरेका छन् ।
गत साता नै तनहुँ प्रशासनले जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार दसैंमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने निर्देशन जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चित्रांगत बरालले हरेक टोलमा अनुगमन समिति बनाएर सक्रिय बनाइएको जानकारी दिए । “बाह्य जुनसुकै जिल्लाबाट आए पनि १४ दिन क्वारेन्टिन अनिवार्य रुपमा बस्नुपर्छ । मान्छेको अनुहार हेरेर कोभिड छ-छैन थाहा हुँदैन । दसैंमा आउन पाइन्छ, तर गाउँ-गाउँ किन हिँड्नु परेको छ ?” उनले भने ।
तनहुँ प्रशासनले पीसीआर अनिवार्य भनेको गरेको छैन । “आउन पाइन्छ, लापरबाही गर्न पाइँदैन,” उनले भने । तनहुँको यो निर्देशनसँगै गण्डकीका अन्य जिल्लामा पनि कोरोना फैलिन सक्नेभन्दै पीसीआर, क्वारेन्टिन अनिवार्य गरिएको सूचना जारी भएका छन् ।
बुधबार मात्र स्याङ्जाका प्रमुख जिल्ला अधिकारीले कडा निर्देशन जारी गरेका छन् । स्याङ्जामा प्रवेशका लागि ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने भनिएको छ । पीसीआर नै अनिवार्य गर्ने स्याङ्जा एकमात्र जिल्ला हो । सीडीओको यो आदेशलाई त्यहाँका प्रमुख राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले पनि समर्थन गरेका छन् ।
सीडीओले जारी गरेको आदेशानुसार ७३ घण्टाभित्रको पीसीआर आवश्यक पर्छ भने जिल्ला भित्रिने राम्दी नाका र कुभिण्डेमा चेकजाँच समेत हुनेछ । पीसीआर रिपोर्ट नदेखाएको हकमा भने १४ दिनको क्वारेन्टिन अनिवार्य गरिएको छ । स्याङ्जा प्रशासनको यो आदेशले अन्योलता पनि सिर्जना गरेको छ । कारण, स्याङ्जाको सिद्धार्थ राजमार्ग अन्य जिल्ला आवतजावतको नाका पनि हो ।
यस विषयमा जिज्ञासा राख्दा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सूचना अधिकारी नवराज बरालले प्रभावित जिल्लाबाट आउनेको लागि मात्र पीसीआर अनिवार्य गरिएको जानकारी दिए । “७२ घण्टाभित्रको हो, त्यो पनि जोखिमको क्षेत्रबाट आउनेको हकमा । काठमाडौं उपत्यका, प्रदेश नं. २ तथा भारत र तेस्रो मुलुकबाट आउनेको हकमा हो, ” उनले भने ।
पीसीआर गर्न नमानेमा १४ दिन क्वारेन्टिन बस्नुपर्ने उनले जानकारी दिए । राजमार्गमा कुनै रोकतोक हुँदैन, सवारी पनि चल्छन् । तर, राजमार्गका दुई नाकामा चेकजाँच चाहीँ हुन्छ । “स्याङ्जाको राजमार्ग देखाउँदा पीसीआर देखाउनुपर्दैन, अन्य जिल्लामा आवतजावत गर्न पाइने भनिए पनि चेकिङमा भने कडाइ गरिएको छ । स्याङ्जा भित्रिनेले चाहीँ अनिवार्य रुपमा स्थानीय तहका नाकामा समेत रिपोर्ट देखाउनुपर्छ,” उनले भने ।
यता, पर्वतमा पनि बिहीबार संकट व्यवस्थापन समितिको बैठकले बाह्य जिल्लाबाट आएका व्यक्तिलाई अनिवार्य १४ दिनको क्वारेन्टिनमा राख्नुपर्ने निर्णय गरेको छ । स्थानीयस्तरमै यसलाई प्रभावकारी बनाउन वडाध्यक्ष र सदस्यलाई अनुगमनको जिम्मेवारी दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले क्वारेन्टिन अनिवार्य गरिएको जानकारी दिए । तर, दसैं १० गते छ । विभिन्न कार्यालयमा कार्यरत मानिसहरु भने दसैंको केही दिनअघि मात्रै घर जान्छन् । उनीहरु क्वारेन्टिन बस्ने कि टिका लगाउने त ? उनले भने, “होम आइसोलेसन भनेको छ, दूरी कायम गरेर बस्ने हो । घर भए पनि दूरी कायम गरेर बस्ने हो । टिका लगाउन मिल्ने नमिल्नेभन्दा पनि आफैँ बुझ्ने कुरा हो । मिल्छ भने नलगाउने । त्यै पनि घरघर गएर हेर्न कुरा त हुँदैन, आफू कत्तिको जोखिममा छु, बुझ्ने हो ।”
उनले आफूहरुले मापदण्ड बनाइदिएको जानकारी दिए । गोरखाको गण्डकी गाउँपालिकाले पनि पर्वत प्रशासनको जस्तो क्वारेन्टिनमा बस्न र भिडभाड, खेलकुदका गतिविधी नगर्न भन्दै बिहीबार नै प्रेस नोट जारी गरेको छ ।
म्याग्दीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै शक्तिपीठहरुमा नित्यपूजा गर्ने दुईजना पूजारीबाहेक अरु जमघट नगर्न निर्देशन गरेको छ । म्याग्दी प्रवेशनाका कालीपुल चोकमा चेकजाँचमा कडाइ गर्ने, प्रत्येक स्थानीय तहमा ५० बेडको क्वारेन्टिन, १५ बेडको प्रि-आइसोलेसन र १० बेडको अस्पताल तत्काल सुरु गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।