काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जागरण र सबैको साझा प्रयासबाट प्राकृतिक विपत् जोखिम न्यूनीकरण गर्नुपर्ने बताएका छन् ।
प्राकृतिक विपत् जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित भर्चुअल कार्यक्रमलाई उनले व्यापक जागरण र सबैको साझा प्रयासबाट जोखिम न्यूनीकरण गर्न सकिने बताएका हुन् । जोखिम प्रकट हुनै नपाउने र भइहाले त्यसको समाधान कसरी गर्ने भन्ने सम्बन्धमा सरकार तत्पर रहेको पनि प्रधानमन्त्री ओलीले बताए । उद्धार, राहत र पुनर्निर्माणका कामहरुलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा सरकारले आफ्नो सहभागितालाई बढाउँदै लगेको पनि उनले बताए ।
केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहमा केन्द्रले तय गरेका राष्ट्रिय नीति, रणनीति र कार्ययोजनालाई प्रवाहित गर्ने र सबै तहमा जानकारी गराउने काम भइराखेको पनि प्रधामन्त्री ओलीले बताए । सन् २०१५ देखि सुरु भएको दिगो विकास लक्ष्यले पनि विपत् जोखिमको सन्दर्भमा महत्त्वपूर्ण दृष्टिकोण अगाडि सारेर काम गरिराखेको पनि उनले बताए । नेपालमा विपत् जोखिम न्यूनीकरण र त्यसबाट उत्पन्न भएका असरहरुको समाधान गर्ने सन्दर्भमा राष्ट्रिय नीतिको तर्जुमाबाट तयार भएको रणनीतिक कार्ययोजनालाई दिगो विकास लक्ष्यसँगै जोडेर राष्ट्रिय रणनीति तय भइसकेको पनि प्रधानमन्त्री ओलीले बताए । विपत् न्यूनीकरणका लागि मानविय भावना, परोपकारी भावना र सहकार्यको भावनाको आवश्यकता भएको पनि उनको भनाइ थियो ।
पछिल्लो समय कोरोना भाइरसले मानवीय र अर्थतन्त्रमाथि गम्भिर क्षति पुर्याएकाले पनि सबै मिलेर न्यूनीकरणमा लाग्नुपर्ने प्रधानमन्त्री ओलीले बताए । कोरोना संक्रमणको अहिलेको स्थितिले विश्व व्यवस्थाको सन्दर्भमा नयाँ नयाँ ढंगले सोच्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले विश्व कोरोना महामारीको विरुद्ध जुधिरहेको अवस्थामा सम्पूर्ण व्यक्ति एक भई विपत्को समाना गर्न दिवसले सबैलाई प्रतिवद्ध बनाउने विश्वास व्यक्त गरे । प्राकृतिक विपत्विरुद्ध एक्लै लड्न असम्भव हुने भएकाले सबै पक्ष एक भएर काम गर्नुपर्नेमा उनले जोड दिए ।
गृहमन्त्री थापाले नेपालमा यस वर्षको मनसुनमा पाँच सयभन्दा बढीको संख्यामा मानवीय क्षति भएको र एक अर्बभन्दा बढीको आर्थिक क्षति भएको बताए । प्राकृतिक विपत् न्यूनीकरणका लागि सरकारले आवश्यक ऐन, नियमावली र कार्यविधिको पनि व्यवस्था गरेको उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर