site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोनाले नछोएको सांगीतिक उद्योग

काठमाडौं । कोभिड-१९ ले देश लकडाउन भएका बेला यो वर्ष ५ करोडभन्दा धेरैका तिज गीत बजारमा आए । त्योभन्दा ठूलो परिमाणमा अन्य गीत पनि आए । लकडाउन र निषेधाज्ञापछि अन्य गीत-संगीतको बजार झन् फस्टाएको छ । 

“५ करोड त तिजका गीत मात्रै हुन्, समग्र लोक-दोहोरी र अन्य गीतमा भएको लगानी हेर्ने हो भने योभन्दा ठूलो लगानी भएको छ,” गायक कुलेन्द्र विश्वकर्मा भन्छन्, “यस्तो महामारीमा पनि गीत-संगीतमा ठूलो लगानी हुनु र यसमा आबद्ध हुनेहरू सक्रिय हुनु भनेको जस्तो अवस्थामा पनि गीत-संगीत चाहिँदोरहेछ भन्ने कुरा पुष्टि हुनु हो । सुखमा पनि गीत चाहिन्छ, दुःखमा पनि गीत चाहिन्छ भन्‍ने पुष्टि हुनु हो ।” कोरोना महामारीले सांगीतिक उद्योग कुनै पनि अवस्थामा रोकिँदो रहेनछ भन्ने पुष्टि भएको कुलेन्द्र बताउँछन् । कलाकारहरूले असहज अवस्थाका बावजुद पनि काम गर्ने हिम्मत गरेको उनी बताउँछन् । 

गायक तथा संगीतकार वसन्त थापाका सिर्जना पनि कोरोनाकै समयमा बजारमा आए । अर्थात् कोरोनाको महामारीले उनलाई पनि छेकेन । कारण इन्टरनेटको युग भएको उनको बुझाइ छ । “हामी अहिले नयाँ युगमा छौं जस्तो लाग्छ । सशरीर भेट्नु परेन । अनलाइनको बाटो हुँदै कलाकारको सिर्जना मान्छेको पसल-पसलमा पुग्छ । ग्राहकहरू अनलाइनको बाटो नै आउँछन् । उपभोक्ता अनलाइनकै बाटो हिँड्न थालेका छन्,” वसन्त भन्छन्, “हाम्रा स्रोता अनलाइनको बाटो हुँदै आउनुहुन्छ । त्यसैले डिजिटल प्लेटफर्मका लागि तयार पारिने गीत उहाँले डिजिटल माध्यममै हेर्नुहुन्छ ।” 

मेला-महोत्सव मात्रै नभएको हो, अन्‍यथा सर्जकहरूका लागि सुरक्षित रहेका काम गर्न कुनै समस्या नरहेको उनको भनाइ छ । लगानीका हिसाबले सहज अवस्था नरेहको उनी बताउँछन् । उनका अनुसार स्टेज कार्यक्रम हुँदा केही सजिलो भए पनि अहिले लगानी उठाउन कठिन छ । यद्यपि समग्रमा नेपाली सांगीतिक उद्योग लगानीका हिसाबले भने सधैं असुरक्षित नै रहेको वसन्त बताउँछन् । 

गीतकार रमेश बीजी निरन्तरता, अपडेट र अम्मलका कारण कोरोनाको महामारीमा पनि गीत र म्युजिक भिडियोमा ठूलो परिमाणमा लगानी भइरहेको बताउँछन् । “कतिलाई त गीत-संगीतको अम्मल पनि हो । कलाकारले गीत-संगीत नगरे के गर्ने भन्‍ने पनि हुँदोरहेछ र अर्को कुरा डिजिटिल मार्केटबाट आउने थोरै रेभेन्यु पनि हो,” बीजी भन्छन्, “तर अहिले रेभेन्यु युट्युबबाट मात्रै आउने हो । त्यसबाट आउने रेभेन्युले लगानी रि-कभर हुँदैन ।” 

अस्वस्थ प्रतिस्पर्धा पनि लगानी हुनुको अर्को कारण भइरहेको उनको भनाइ छ । सहकर्मी तथा समकालीनहरूले गीत गरेपछि मैले किन नगर्ने भन्‍ने सोच हाबी भएको उनी बताउँछन् । “कतिपय नव आगन्तुक कलाकारहरू पनि लगानी जुटाएर नयाँ गीत र भिडियो बनाइरहेका छन् । पछिल्लो पटकको लगानी केही रहरले, केही अस्वस्थ प्रतिस्पर्धाले त केही साथी तथा आफन्तको सहयोगमा भइरहेको छ,” उनी सुनाउँछन् । मोटो रकम खर्च हुने भिडियोको लगानी युट्युबको बजारले नउठ्ने उनी प्रस्ट्याउँछन् ।

संगीतकार, एरेन्जर तथा स्टुडियो सञ्‍चालक बीबी अनुरागी भने सांगीतिक उद्योगमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको बताउँछन् । कोरोना महामारीमा समेत जोखिम मोलेर एउटै गीत र भिडियोमा ५/७ लाख रुपैयाँ लगानी गर्ने प्रतिस्पर्धा चलेको छ । तर यसको लगानी फिर्ता हुने सम्भावना भने निकै कम हुने उनी बताउँछन् ।

“युट्युबबाट अलिअलि पैसा आउँछ । तर यहाँ महँगा मोडल खर्च गरेर महँगोमा भिडियो बनायो भने लगानी उठेर पनि फाइदा हुन्छ भन्‍ने भ्रम छ,” बीबी भन्छन्, “तर, युट्युबबाट महँगो लगानी गरेर बनाएका भिडियोबाट लगानी उठेको कोही पनि छैन । मैले त्यस्ता मान्छे नभेटेको भए मलाई थाहा भएन तर आजसम्म मैले युट्युबबाट लगानी उठाएर ठूलो फाइदा गर्ने लगानीकर्ता भेटेको छैन ।” 

एक मुरी बीउ छरेर एक माना उत्पादन गर्ने काम भइरहेको उनको बुझाइ छ । लाखौंमा भिडियो बनाउने, रुपैयाँलाई डलरमा कन्भर्ट गरेर लाखौंको बुस्ट गर्ने अस्वस्थ प्रतिस्पर्धाले ठूलो लगानी डुबिरहेको बीबी बताउँछन् । कलाकारमा रहेको भ्रम नहटेसम्म यो अवस्था कायम रहने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  ०९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro