सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका ३४७ बस्ती पहिरोको उच्च जोखिममा देखिएका छन् । यस वर्षको बाढी पहिरोमा ५६ जनाको मृत्यु, १९ जना घाइते र २८ वेपत्ता भएपछि जिल्ला प्राकृतिक प्रकोप अध्ययन, न्यूनीकरण तथा सहजीकरण कार्यदल बनेको थियो । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला पार्टी कमिटीसमेत मिलेर गरेको अध्ययनमा १२ स्थानीय तहका विभिन्न बस्ती पहिरो, बाढीको जोखिममा देखिएको कार्यदलका सदस्य कृष्णगोपाल तामाङले जानकारी दिए ।
ती जोखिमयुक्त बस्तीमा ११ हजार १ सय ९ परिवार रहेको र उनीहरूलाई सुरक्षित स्थानमा सार्नुपर्ने तामाङले बताए । त्यसो त सरकारले सिन्धुपाल्चोक र बागलुङलाई विपत् संकटग्रस्त क्षेत्र पनि घोषणा गरेको छ । र, विश्व बैंकले दिन लागेको करिब ६ अर्ब रुपैयाँ ती जिल्लामा पुनर्निमाणमा खर्चने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेको छ ।
गृहमन्त्री रामबहादुर थापा बादललाई बुझाइसकिएको प्रतिवेदनअनुसार जिल्लाको पश्चिमोत्तर हेलम्बु गाउँपालिकाका २१, पश्चिमी क्षेत्रमा पर्ने मेलम्ची नगरपालिकाका २०, उत्तरमा पर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकामा १७ वटा बस्ती जोखिममा रहेका छन् ।
मध्यक्षेत्रको इन्द्रावती गाउँपालिकामा १२ वटा, सदरमुकाम रहेको चौतारा साँगाचोक गढी नगरपालिकामा ४७, जुगल गाउँपालिकामा ३४ र बलेफी गाउँपालिकामा ५२ बस्ती जोखिममा रहेका छन् । सुनकोसी गाउँपालिकामा ७, पूर्वी क्षेत्रको लिसङ्खुपाखरमा १८, त्रिपुरासुन्दरी गाउँपालिकामा १८, बाह्रबीसे नगरपालिकामा ३६ र भोटेकोसी गाउँपालिकामा ६४ बस्ती पहिरोको जोखिममा रहेको देखिएको जिल्ला समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिए ।
त्यसमध्ये जुगल गाउँपालिका–२ को लिदी, सानो नाम्फा, जुगल ३ को बोल्दे पहिरोको उच्च जोखिममा रहेको तामाङको भनाइ छ । बोल्देको पुरानो स्कुल, डाँडागाउँ, घट्टेखोला, कुन्डिम्राङमा झण्डै १६० परिवार सार्नुपर्ने भएको उनको भनाइ छ । गत साउन ३० गते पहिरो गएर ३९ जनाको मृत्यु भएको लिदीको १ सय ६४ घरपरिवार पनि तत्काल स्थानान्तरण गर्नुपर्ने देखिएको उनको भनाइ छ । त्यहाँका पहिरोपीडितहरूलाई अहिले सामुदायिक वन क्षेत्रमा राखिएको छ ।
भोटेकोसी गाउँपालिका–३ को लार्चा, बाह्रबीसे नगरपालिका ५ को जम्बु, मेलम्ची नगरपालिका ४ को ठूलो थकनी, सोही नगरपालिका ४ कै अमले र हेलम्बु गाउँपालिका ५ को बोल्देका गरी १ सय ८८ घरपरिवारलाई तत्कालै सुरक्षित ठाउँमा सार्नुपर्ने आवश्यकता देखिएको तामाङको भनाइ छ । त्यसका लागि सुरक्षित ठाउँको समेत पहिचान गरी गृहमन्त्रालयलाई प्रतिवेदन हस्तान्तरण गरिएको तामाङले जानकारी दिए ।
पछिल्लो ६ वर्षमा ३ हजार ८ सयको ज्यान गयो
सिन्धुपाल्चोकमा २०७२ वैशाख १२ र २९ गतेको भूकम्पमा समेत गरी पछिल्लो ६ वर्षमा ३ हजार ८ सय ८२ जनो ज्यान गएको छ । भूकम्पअघि २०७१ साउन १७ गते गएको जुरे पहिरोमा १ सय ५६ जनाको मृत्यु भएको थियो । २७ जना घाइते भएका थिए । २०७२१ वैशाख र त्यसपछिका परकम्पनमा ३ हजार ५ सय ६२ जनाको निधन भएको थियो । त्यसपछिका विपत्तिमा परी पछिल्लो ६ वर्षमा १७४ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ । तर, अन्य वर्षको तुलनामा यस वर्ष क्षति ज्यादा भएको तामाङ बताउँछन् ।
कार्यदलले सिन्धुपाल्चोक विपत्तिको केन्द्र बन्नुको बाह्र कारण औंल्याएको छ । जिल्लामा विपत् जोखिम न्यूनीकरण र विकास निर्माण कार्यबीच आवश्यक तालमेल नमिलेको, भूकम्पका कारण भू–बनोट कमजोर, जीर्ण बन्न पुगेको र भिरालो पहाडका कारण वर्षेनी पहिरो आदि भवितव्य निम्तिएको औंल्याएएको छ ।
पछिल्लो समय सिन्धुपाल्चोकमा नदी, खहरे दोहन तीव्र बनेको छ । पहिरो गएको जुरेमा समेत क्रसर उद्योग फस्टाएको छ । इन्द्रावती, सुनकोसी, बलेफी आदि खोलाहरूमा दोहन बढेको निष्कर्ष निकालिएको छ ।
मापदण्ड नपुर्याइ ग्रामीण, कृषि सडक खन्ने परिपाटी पनि पहिरोका कारण बनेको कार्यदलको ठहर छ । भू-उपयोग योजना, भवनसंहिता निर्माण नहुँदा भूकम्पपछि पनि व्यवस्थित बसोबास बस्न नसकेको, घरहरू बन्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसबाहेक, एकीकृत सूचनाको अभाव, संकटको आकलन नहुनु, नदी आपतकालीन अवस्थाका लागि दक्ष र यथेस्ट मानव सा्रेत, उपकरण, बन्दोबस्ती र राहत सामग्री आदि नहुनुलाई पनि कारण देखाइएको छ । अन्तरनिकाय संघ प्रदेश र स्थानीय तहबीचसंघ, प्रदेश र स्थानीय सरकारहरूले मापदण्डबमोजिमका सवारीसाधनहरू सञ्चालन र व्यवस्थापनमा पर्याप्त ध्यान नदिँदा पनि क्षति निम्तिएको कार्यदलको ठहर छ ।
प्रतिवेदनको पूर्णपाठ :