काठमाडौं ।‘प्रतिवादी रामहरी सुवेदीको मृत्यु् भइ निजको हकमा आरोप दाबी खारेज हुने ठहरी फैसला भएकाले निजले यस अदालतमा ०७६ भदौं ३१ गते १ हजार धरौटी राखेको देखिँदा उक्त धरौटी फिर्ता पाउँ भनि म्यादभित्र निजको हकदारको निवेदन परे मुद्दा अन्तिम भएपछि फिर्ता दिनू’ विशेष अदालतले गरेको फैसला हो यो ।
विशेष अदालतका न्यायाधीश चन्द्रबहादुर सारु र डा. रवि शर्मा अर्यालको इजलाशले एक हजार घुस काण्डमा मुछिएपछि आत्महत्या गरेका मालपोल कार्यालय कलंकीका खरिदार सुवेदीलाई सफाई दिँदै यस्तो फैसला सुनाएको हो । असार ३० गते भएको फैसलाको पूर्णपाठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कमजोर अनुसन्धानका आधारमा मुद्दा लगाएको ठहर गर्दै सुवेदीलाई सफाइ दिइएको छ । सुवेदीले ०७६ असोज ६ गते आत्महत्या गरेका थिए ।
फैसलाको पूर्णपाठमा अख्तियारले मुद्दामा दाबा गरेका जिकिरहरु कमजोर भएको पनि उल्लेख छ । अख्तियारका अनुसन्धान अधिकृत प्रविण पोख्रेलको प्रतिवेदनका आधारमा सुवेदीविरुद्ध एक हजार घुस लिएको आरोपमा मुद्दा चलाइएको थियो । लेखापढी व्यवसायी कृष्ण प्रसाद घिमिरेले सुवेदीको गोजीमा हात लगेको सीसीटिभी फुटेज, उनीहरुको बयान र प्रत्यक्षदर्शीको जिकिर गर्दै अख्तियारले आरोपपत्र दायर गरेको थियो ।
मुद्दा लगाउने यस्तो कमजोर आधार
फैसलाको पूर्ण पाठमा भ्रष्टाचार हुनका लागि के हुनुपर्छ भन्ने व्याख्या गरिएको छ । सर्वोच्च अदालतले यसअघि प्रतिपादन गरेको नजिरमा ‘भ्रष्टाचारको कसूर स्थापित हुनका लागि प्रतिवादीले आफू वा अरु कुनै व्यक्तिलाई गैर कानुनी लाभ पुर्याएको भन्ने कुरा प्रत्यक्ष, सार्थक र विश्वासपरक प्रमाणबाट शंकारहित तवरले पुष्टि भएको हुनुपर्दछ ।’
तर, अख्तियारले सुवेदीले घुस लिएको दाबा गरेको एक हजार कुनै काम गर्न वा नगराउनका लागि दिएको पुष्टि गर्न सकेको देखिँदैन । त्यस्तै, उसले लिएको बयान र प्रत्यक्षदर्शीको जिकिर पनि पुष्टि हुन नसकेको फैसलामा जनाइएको छ ।
अख्तियारको अनुसन्धान खरिदार सुवेदीलाई लेखापढी व्यवसायी घिमिरेले उनको गोजीमा हात लगेको सीसीटिभी फुटेजबाट सुरु हुन्छ । ‘गोप्य रुपमा खिचिएको सिसिटिभी फुटेजको दृश्यमा घिमिरेले सुवेदीको खल्तीमा नै हात पुर्याई घुस दिएको दृश्य देखिएको भन्ने वस्तुस्थिती विवरण र प्रतिवादीहरुले मौकामा गरेको बयानलाई मुख्य आधार प्रमाणका रुपमा ग्रहण गरी भ्रष्टाचारजन्य कसुर गरेको भन्ने नेपाल सरकारको दाबी’ रहेको थियो । जसमा सुवेदीले घुस नलिएको बयान गरेका थिए भने घिमिरेले घुस नभई फोटोकपी प्रयोजनका लागि ५ सय दिएको बयान दिएका थिए ।
फैसलामा यस्तो ठहर
विशेष अदालतले फैसलामा भ्रष्टाचार हुनका लागि केही काम गर्न वा नगराउनका लागि रकम दिइएको हुनुपर्ने उल्लेख छ । घटनामा प्रतिवादी बनाइएका घिमिरेले सुवेदीसँग केही काम गर्न वा नगराउनका लागि पैसा दिएकोतर्फ अख्तियारको अनुसन्धान मौन छ । मौकामा बयान गर्दा सुवेदीले घिमिरेको पुर्जा बनाइदिए बापत १ हजार खाजा खान दिएको बयान गरेका थिए । त्यस्तै, अर्का प्रतिवादी घिमिरेले फर्पिङमा जग्गा किन्नका लागि मोठ भिडाउनका लागि एक हजार दिएको बयान गरेका थिए ।
प्रतिवादीहरुले दिएको बयानअनुसारको काम मालपोत कार्यालय कलंकीबाट भएको वा नभएको, कारवाहीका अवस्थामा रहेको-नरहेको र सो काम गर्ने ठाउँमा सुवेदी रहेको-नरहेको अख्तियारको अनुसन्धानमा खुलेको छैन । यस्तो अवस्थामा विना प्रयोजन घुस लिने, दिने अवस्था नरहने फैसलामा ठहर गरिएको छ । त्यस्तै, सीसीटिभी फुटेजमा पनि एक हजार दिएको प्रष्ट नदेखिएको र प्रत्यक्षदर्शीबाट पनि घुस लिएको-दिएको देखेको प्रमाणित गर्न नसकेको उल्लेख छ ।
“रामहरी सुवेदीलाई फोटोकपी गर्नका लागि ५ सय दिएको भनी अदालतमा गरेको बयानकै आधारमा उक्त रकम घुसवापत दिएको अर्थ लगाइ प्रतिवादीलाई भ्रष्टाचारजस्तो गम्भीर कसुरमा कसुरदार ठहर्याउन न्यायसम्मत हुने देखिँदैन”, विशेष अदालतको फैसलामा भनिएको छ । त्यस्तै, विशेष अदालतले नगद बरामद नभएको भन्दै घिमिरेले पनि घुस दिएको पुष्टि नभएको भन्दै सफाइ दिएको छ ।