काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एयर ट्राफिकिङको समस्या नरहेको बताएको छ । समाचारमा आएजस्तो उच्च एयर ट्राफिकिङको अवस्था नरहेको विमानस्थलको दाबी छ ।
यद्यपि सिजनमा भने यो समस्या रहेको विमानस्थलका प्रवक्ता प्रेम ठाकुर स्वीकार्छन् । “सेप्टेम्बरबाट केही महिना केही समय होल्डको समस्या रहन्छ । तर अन्य समयामा नर्मल अवस्थामै विमानस्थल सञ्चालन भइरहेको छ,” प्रवक्ता ठाकुर भन्छन्, “सञ्चारमाध्यममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उच्च एयर ट्राफिकिङको समस्या छ भनेर समाचार आइरहेका हुन्छन् तर त्यसमा सत्यता छैन ।”
बिहान १३/१४ वटा फ्लाइट एकै पटक लुक्ला, पोखरा जान खोज्ने र सोही समयमा माउन्टेन फ्लाइट पनि सोही समयमा उडान भर्न खोज्ने कारण पर्यटकीय सिजनमा भने केही समय कुर्नुपर्ने बाध्यता रहेको प्रवक्ता ठाकुर बताउँछन् ।
“विहान ९ बजेसम्म मौसमका कारण भिजिविलिटी कम भएका कारण उडान प्रभावित हुन्छ । त्यसलाई म्यानेज गर्न केही समय पर्खिनुपर्छ । त्यो हाम्रो कमजोरीका कारण होइन, मौसमकै कारण उत्पन्न समस्या हो । यो समस्या पनि कसरी हल गर्न सकिन्छ भनेर हामी सरोकारवाला निकायसँग छलफल गर्दैछौं,” उनले भने । भौतिक पूर्वाधारको कमीका कारण सोचेजस्तो सहजै समाधान भने निकाल्न नसकिने विमानस्थल बताउँछ ।
एउटा जाहाज उडेपछि कम्तिमा डेढ देखि २ मिनेटको ग्याप राखेर मात्रै अर्को विमान उड्नुपर्छ । ९ बजेसम्म मौसम नखुल्दा यसको प्रभाव डेढ घण्टाम्म पर्छ । “पूर्वाधार कम छ । जहाजहरु थपिएका थपिएै छन् । रन वे पुरानै क्षमताको छ, त्यसको असर देखिएको हो,” उनले भने ।
नयाँ हेलिप्याड बनाइँदै
अहिले हेलिकप्टर पार्किङ गरिरहेको क्षेत्रबाट पश्चिमतर्फको खाली जग्गामा सार्ने विमानस्थलको तयारी छ । २०/२२ वटा जहाज अट्ने गरि हेलिप्याड बनाउने प्रवक्ता ठाकुरले बताए । सानोदेखि एमआई–१७ हेलिकप्टरसम्म त्यहाँ रहनेछन् ।
माउन्टेन फ्लाइट र लुक्लातर्फ उक्त हेलीप्याडबाट हेलिकप्टरले उडान भरेपछि हेकिकप्टरले रनवे क्रस गर्नुपर्दैन र जहाज उडानमा थप सहज हुने विश्वास छ । पेप्सीकोलामा रहेको गेटबाटै उक्त हेलिप्याडमा छिर्ने व्यवस्था गर्ने योजना रहेको प्रवक्ता ठाकुरले जानकारी दिए । सुरक्षाको सेटअप समेत त्यहीँ मिलाउने उनले बताए । अहिले हेलिप्याड रहेको उक्त स्थानमा भने आन्तरिक तथा बाह्य चार्टर गरिएका विमान राखिने छ । त्यहाँ ५०/६० सिट क्षमताका कम्तिमा ६/७ वटा विमान रहने छन् ।
यसका लागि विमानस्थलले एक अर्ब बजेट माग गरेको छ । सञ्चालक समितिले बजेट उपलब्ध गराएको खण्डमा यो काम सुरु हुन कम्तिमा ६/७ महिना लाग्नेछ । बजेट पाएपछि योजना निर्माणको काम सुरु हुने र त्यसपछि टेन्डरको प्रक्रियामा जाने भएकाले कम्तिमा डेढ/दुई वर्ष लाग्ने प्रवक्ता ठाकुरको भनाइ छ ।
यो हेलिप्याड बन्दैमा एयर ट्राफिकिङमा सहज भने हुने छैन । यसका लागि अर्को अन्तर्राष्ट्रिय विमानस्थल अथवा काठमाडौं नजिकै डोमेस्टिक एयरपोर्टको आवश्यकता रहेको प्रवक्ता ठाकुर बताउँछन् ।