
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनकोसी मरिन बहुउदेश्यीय डाइभर्सन आयोजनालाई चाँडो सम्पन्न गर्नेगरी समाधान खोज्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।
सुनकोसी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको ‘वर्तमान ठेक्का कार्यान्वयनको अवस्था समस्या एवं चुनौती’को अवस्थाबारे बुझ्दै उनले राष्ट्रिय गौरवको आयोजनालाई चाँडो निर्माण सम्पन्न गर्नेगरी समाधान खोज्न निर्देशन दिए ।
“सुनकोसी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको प्रगतिको बारेमा प्रधानमन्त्रीज्यूले समेत बारम्बार चासो राख्दै आउनुभएको छ, यो आयोजना निर्माणमा किन ढिलाइ भयो ? चाँडो निर्माण सम्पन्न गर्नेगरी समाधान खोज्नुहोस्,” ऊर्जामन्त्री खड्काले भने ।
मन्त्री खड्काले काम पाइन्छ भनेर एउटै ठेकेदार कम्पनीले कम शुल्कमा ठेक्का हालेर धेरै आयोजना लिने र समयमै काम सम्पन्न नगर्ने प्रवृत्तिका कारण देशको विकासमा ढिलाइ भएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
“देश नै बर्बाद हुनेगरी काम गर्नुहुन्छ, अर्बौं रकम खर्च गर्दा पनि प्रगतिशून्य छ, यस्तो तरिकाले कसरी मुलुकको विकास हुन्छ ?” उनले प्रश्न गरे । काम गर्दा विपद् र जोखिम हुने भएकाले त्यसलाई ध्यान दिएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
ऊर्जा, जलस्रोत तथा सिाचाइ मन्त्रालयअन्तर्गत नै रहेको भेरी बबई डाइभर्सन बहुउदेश्यीय आयोजना समेत चार वर्षमा बन्नुपर्नेमा ६ वर्ष पुग्दा जम्मा ६० प्रतिशतमात्र प्रगति हुनु ज्यादै दुःखको कुरा भएको मन्त्री खड्काले बताए । उनले आयोजनाको बारेमा ध्यान दिन समेत ठेकेदार कम्पनीलाई आग्रह गरे ।
सन् २०२१ मा पहिलो ठेक्का लगाएर सुरुङ खन्ने काम सम्पन्न भए पनि हेडवर्क्स निर्माणको काम भने सुस्त गतिमा भएको पाइएपछि मन्त्री खड्काले यसमा तत्काल समस्या समाधान गरी गति लिन निर्देशन दिए ।
सन् २०२७ मा हेडवर्क्स निर्माण सम्पन्न गर्नुपर्ने भएपनि झन्डै आधा समय बितिसक्दा जम्मा ८.८१ प्रतिशतमात्र प्रगति भएकोमा मन्त्री खड्काले असन्तुष्टि जनाएका हुन् ।