site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
वर्तमान सन्दर्भमा बीपीको सम्झना

महामना बीपी कोइरालाप्रति हार्दिक नमन ! बीपीको याद यस्तो सन्दर्भमा गरिँदैछ अहिले जुनबेला राजनीति हाक्नेहरुले सान्दर्भिकता गुमाउँदै छन् ।  बीपीको समझना प्रयोगात्मक बनाइए सन्दर्भ बुझाउन प्रेरणा बन्ने निश्चित छ । बीपीलाई  राजनीतिको मात्रै किन ? मान्छेको जीवनपद्धतिमा विचार सन्दर्भको पूर्णतामा बुझ्न सकिन्छ  । उहाँबारे सामान्य जानकारी लिँदा पनि मलाई लाग्छ – प्रकृति र जीवन जगत्माथि समेत उहाँले आफ्नो दृष्टि बनाउनु भएको छ र ती प्रभावोत्पादक छन् ।

बीपी कोइरालाको जीवनका अठसठ्ठी वर्षमा अधिक अवधि जेल र प्रवासमा बितेको छ । प्रजातन्त्र स्थापनापछि छोटो समयमात्र उहाँ राज्यसत्तामा रहनुभयो । त्यही छोटो समय पनि उहाँको अविस्मरणीय कर्मखण्ड बन्यो । खासमा विचार र व्यवहार संयोजनको ‘फुटनोट’का लागि त्यो समय उदाहरणीय छ । जयन्तीको १०७ औं वर्ष सम्झनामा केही विश्लेषकले युग निर्माता बीपी चिन्तनमाथि विमर्श गरेका छन् । बीपी सन्दर्भ हो । समय समाजको गतिशील छ । समयले सान्दर्भिकता थप्न माग्छ तर चेतना सन्दर्भ विलुप्त हुँदैन । बीपी त्यही हो । 

जेल, प्रवास र राज्यको पदीय जिम्मेवारीमा रहेका सबै बखतलाई बीपीले सिर्जनशील र रचनात्मक बनाउनु भएको छ । नेपाली कांग्रेसलाई स्थापनाको चार वर्षभित्रै एकसय चार वर्षको राणा शासन ढाल्ने हैसियतमा पुर्याउने उहाँको सांगठनिक नेतृत्व कौशल चमत्कारकै हो । संस्थापक नेता बीपी कोइरालाले यति छिटै नेपाली कांग्रेसलाई जनमनमा स्थापित गर्नुको जगका सक्रियता, विचार, चरित्र र अन्तर्राष्ट्रिय पहिचान आधार हुन् ।

KFC Island Ad
NIC Asia

छोटै समयमा हजारौं नेता कार्यकर्ता र नागरिकलाई प्रजातन्त्रको पक्षमा लामबद्ध बनाउने उहाँको योगदान आधुनिक नेपालको पहिलो उज्यालो वा अहिले र भविष्यको लागि समेत चेतना खोजीमा प्रकाश हुनेछ । सरकारी सत्ता पर्तिर अर्को कुनै चेतनाको झुल्के किरणसम्म नभेटेको जहानियाँ रुढ रैती ‘नागरिक’को बेला बीपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादी प्रयत्न कति दुरुह वा असाध्य थियो ? सायद, आधुनिक प्रविधियुगका भोक्ताको कल्पनाभन्दा बाहिर छ ।      

बीपीको राजनीतिको केन्द्रीय तत्त्व सरकारी सत्ता थिएन । त्यो सत्ता जनताको पक्षमा परिणाम दिने साधन वा ऊर्जा हो, साध्य मानवीय र जनताको पक्षमा प्रतिफल प्राप्त गर्नु हो । प्रजातन्त्र, समाजवाद, साहित्य, धर्म, संस्कृति वा प्रकृतिमाथिको उहाँको समग्र दृष्टि मानवीय पक्षमा केन्द्रित छ । उहाँ मानिस, त्यसैले अभौतिक, अगोचर देव र दानवभन्दा भिन्न लौकिक जीवन जगत्को पक्षमा उभिनुभयो । मान्छे असल बन्न सक्ने प्रवृत्ति प्रेरणा दिनुभयो । 

Royal Enfield Island Ad

विकृत परिवेशबीच अहिले बीपीमाथिको विमर्श बहस झन् खाँचो खड्किएको छ । उहाँको देश नेपालमा यतिबेला क्रमशः प्राज्ञिक अनुसन्धान शून्य छ भन्न मिल्छ । व्यक्तिगत प्रयत्न स्तुति भयो तर अनुसन्धानको संस्थागत अनुराग शिथिल छ । राजशाहीको बेला गराइने ताबेदारी अनुसन्धानको युग सकियो तर लोकतन्त्रको जेठ १५ गते बर्खा बखान गर्नेहरुले प्राज्ञिक अनुसन्धानलाई भित्ता ठेली रहेका छन्  । 

प्राज्ञिक बहसलाई अनुत्पादक मान्ने जमातको जकडमा राष्ट्र फसी रहेको बेला, यही कारण ‘जीवनोपयोगी’ भन्दै प्राविधिक कौशललाई सर्वेसर्वा शिक्षा बताइरहेका छन् । के प्राज्ञिक वा बौद्धिक अनुसन्धान अनुत्पादक हो ? प्राज्ञिक र प्राविधिक अनुसन्धानबीच समन्वय गर्न नचाहनेहरु प्राज्ञिक उत्पादन प्रविधि प्रयोगको दर्शन बन्ने विश्व तथ्यलाई स्वार्थवश उपेक्षा गरिरहेका छन् । 

प्राज्ञिक संस्थाको स्वतन्त्र अनुसन्धानलाई बाधित गर्ने कम्युनिस्ट शैली हो । यस कारण पनि बीपी चिन्तनप्रतिको बहस संस्थागत छैन, व्यक्तिगत सीमाभित्र मात्रै संकुचित छ । स्वयं उहाँबाट स्थापित नेपाली कांग्रेस पनि यस मामलामा चुकेको छ । बीपी कांग्रेसको मात्रै होइन, विचार र चिन्तनशीलहरुको समेत हो । बीपीप्रति कन्जुस्याइँको अर्थ अरु कुनै मान्यताले यहाँ उहाँको पूर्ति गर्न सक्दैन ।

विचार,  विवेक र उन्मुक्त वैयक्तिक अभिव्यक्तिमाथि अनुदार अहिलेको सरकारी सत्ता आलोचनात्मक चेतप्रति बाधक छ । यही कारण बहुआयामिक बहस दमित छ । अवसर प्राप्ति वा सरकारी कोपभाजनको भयले धेरै ‘स्वघोषित’ बौद्धिक विवेकमाथि लगाम लगाइरहेका छन् । ऋतु अनुसार ‘काक काक, पिक पिक’ भनेको यथार्थ उद्घाटित भएको छ ।  

यस्तै अँध्यारोमा प्रा डा. अभि सुवेदीजस्ता उद्भट अध्येता पनि छन् जसले बीपीको गहराइ बुझेर उद्घाटित गर्छन् । जननेता, जननायक र महामना बीपीले मागेर लिएको उपाधि होइन । अरुले मूल्यांकन गरेका विशेषण हुन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री चाहिं जनताले दिएको उहाँको स्वआर्जन हो । महामनालगायत बीपी सापेक्ष विशेषणको मर्म प्रा.डा. सुवेदी र अर्का विद्वान् केदारभक्त माथेमाले व्यक्त गर्नु भएको हो । 

मेरो जानकारी भएसम्म नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बीपीको वैशिष्ठ्य यसपटक गम्भीर बुझाइमा विश्लेषण (नयाँ पत्रिका,जयन्ती दिवसमा) गर्नुभएको छ । आधुनिक नेपालको परिकल्पनाकार, त्यसबखत बीपीले नेपाललाई प्रशासनिक इकाइ मात्र जस्तो भन्नु वा परराष्ट्र नीतिमा बीपीको दृष्टिलाई निधिले गहिरो अध्ययनमा प्रस्तुत गर्नुभएको छ । 

यस्तै सर्वोच्च नेता गणेशमान सिंहले तत्कालीन कम्युनिस्टहरुलाई मिलाएर नेतृत्व गर्नुभएको छयालीस सालको आन्दोलन बीपीको प्रस्तावभन्दा बाहिर थिएन निधिले उद्धरण दिनुभएको छ । उपसभापति निधिको बिछट्टै विशद् गाम्भीर्यको गुरुत्व पनि यो लेखले बहन गरेको माने । बीपीले आफूलाई राष्ट्रिय राजनीतिमा सामेल गराएको कृतज्ञ खुलासा पनि निधिले गर्नुभएको छ ।   

चौधौं महाधिवेशन सम्मुख सभापति पदका उम्मेदवार  (दाबा)  कांग्रेस उपसभापति निधिको यो लेख अर्थपूर्ण त छँदैछ । त्यसभन्दा अतिरिक्त उहाँको सुझबुझ र अध्ययनको गहिराइ पनि लेखले कुशल बहन गरेको छ । जुनसुकै तहको किन नहोस् तर कांग्रेसमा यस्तो वैचारिकी क्षमता स्खलित छ । भन्नैपर्छ वरिष्ठ नेता रामचन्द्र पौडेल विचार र चरित्रको मामलामा अहिलेको संस्थापनभन्दा उत्तम उदात्त हुनुहुन्छ । कांग्रेसमा नैतिक चरित्रका पात्रहरु धेरै छन् । निधि स्वयं पनि हो । 

लहरै नाम लिँदा महामन्त्री शशांक कोइराला, डा.शेखर कोइराला, प्रकाशमान सिंह आदि सबै नैतिक चरित्रका इमानदार पात्र हुन् । क्षमता आआफ्ना हैसियत अनुकूल हुन्छ नै । बीपीलाई बुझ्ने आआफ्नै ढर्रा होलान् । समेट्ने, सुन्ने र विधिको मर्ममा हिँड्ने आन्तरिक लोकतन्त्रसँग भयभीत वा पेल्ने र ठेल्ने सभापति शेरबहादुर देउवाको निष्ठुरताले कांग्रेसका यस्ता हजारौं पात्र अहिले ‘किं कर्तव्य विमूढ’ बनाइएका छन् । 

पदको हैसियतले सभापति, अध्यक्ष वा प्रधानमन्त्री जो छ त्यसको ‘पराक्रमी’ गुटलाई संस्थापन भन्ने पहिचान राजनीतिमा सरल छ । लाग्छ वा बहस होला, संस्थापनको मान्यता पदको परिधिमात्रै होइन, विचार र चरित्रमा संस्थापनको प्रतिनिधित्व अर्कैले लिएको स्वीकृति पनि स्थापित गर्नु न्याय हुन्छ । कांग्रेसमा यस्तै छ । 
पदीय संस्थापन सभापति देउवाको छ तर वैचारिक संस्थापन पौडेलसमेत उल्लिखित नामले पाउने स्पष्ट आधार छ । सभापति देउवा गुटको उपसभापति निधि वैचारिक चरित्र राख्ने अपवादमध्ये एक असल पात्र । उहाँ छायामा दमित होइन, अभिव्यक्त हुनसक्ने कारण । 

बीपीलाई कांग्रेसको मात्र ठान्ने र कांग्रेसले पनि आफ्नो मात्रै मान्ने कारण राष्ट्रिय राजनीति र जीवनमा खासै प्रभाव नराख्ने नेतालाई खुट्टा लगाएर कम्युनिस्टहरुले थैथै गरेको विचित्र तस्बिर पनि यहाँ छ । आफ्ना नेता, अग्रजलाई सम्मान वा अनुकरण गर्नु स्वाभाविक आचरण हो । यसको  आलोचना असंगत हुन्छ । बेलुनको साइजभन्दा धेरै हाबा दिनु पनि त्यस्तै असंगत हो । राज्य संयन्त्र सरकारी यस्तै प्रतिकार्यमा चालित भएको द्रष्टाशक्ति राख्नेको दृष्टिमा अवश्य परेको छ ।

यस्ता सन्दर्भबीच कांग्रेसले बीपीको यादमा शब्दगुच्छा वर्षाउँदै छ । यादमा तीन दिने कार्यक्रमको जानकारी पार्टी कार्यालयले दिएको छ । नीति, नैतिकता, विधि र विचारलाई नजिकै वाग्मतीको प्रदूषित प्रवाहजस्तै बनाएको आजको कांग्रेस नेतृत्वले राजनीतिक प्रदूषणमा कम्युनिस्ट सरकारसँग पदचाप मिलाएको  छ । भोलि संलिएलान्, त्यो सम्भावनाको सपना हो तर अहिले वाग्मतीको दूषित पर्यावरण र नेपाली राजनीतिको कम्युनिस्ट प्रदूषण यथार्थ हो । प्रदूषणले आकण्ठ डुबेको कांग्रेस नेतृत्वले यी तीन दिनमा के सबक लेला ?

नेपाली कांग्रेसले मूर्धन्य, इज्जतदार नेताहरु उत्पादन गरेको हो । जसको अविस्मरणीय योगदानवीच कुण्ठा, विवाद पनि थिए होलान् तर बीपीको चामत्कारिक व्यक्तित्वको प्रशंसा ती सबैले गरेका छन् । कारण ती सबैको प्रेरणा बीपी, ती सबैबाट प्रेरित हुन पनि जान्नुहुन्थ्यो । कांग्रेसको अग्रगामी इतिहास सित्तै निर्माण भएको होइन ।
मलाई लाग्छ, बीपीलाई बुझ्ने र बुझाइलाई उदार, हार्दिक अभिव्यक्ति दिने विषयमा सबैभन्दा  स्पष्ट सहकर्मी गणेशमान सिंह हुनुहुन्छ । उहाँसँग भेटको सौभाग्यमा सुनेको र सर्वमान्य गणेशमान सिंह अलिकति पढेर पनि मैले उहाँको स्पष्टता बुझेको हुँ । नेपाली जनताको राजनीति गर्ने हो भने बीपी विमर्श र अनुशरण कांग्रेसको लागि पुनर्जीवन हो । लुते र लोलुप धारणाले हल्लिने चरित्रको अर्थ छैन ।  
    
          
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro