मुलुकभर संक्रमण फैलिएपछि शासकहरू अहङ्कारको पर्खालबाट बाहिर चियाउन थालेको भान परेको छ । तर, अझै पनि शासकहरूले यथार्थ नबुझेको वा आफ्नो कमजोरी भने स्वीकार गर्न तयार नभएको देखियो । उपत्यकाका सास्ंसदहरूको ध्यानाकर्षण पत्र बुझ्ने क्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बन्दाबन्दी खुकुलो भएपछि आवागमन बढेकाले काठमाडौं संक्रमणको केन्द्र बनेको भनेका छन् । यो उनको गलत ठहर हो । तर अब कोभिड– १९ सँग सँगै बाँच्नुको विकल्प छैन भन्नु भने यथार्थ हो । सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक उपप्रधानमन्त्री पोखरेलका कथनबाट सरकार अझै पनि संक्रमण नियन्त्रणका लागि विज्ञहरूले सुझाएको उपाय स्वीकार गर्न तयार नभएको सन्देह उत्पन्न हुन्छ । निषेध र नियन्त्रणका उपायहरू विफल भएको देखिसकेपछि पनि त्यसैमा जोड दिनु विकेकहीन मूर्खता हो ।
संक्रमण समुदायस्तरमा फैलनुमा सरकारको गलत दृष्टिकोण, नीति र बदनियत मूल जिम्मेवार छ । शासकहरू र ‘सरकारी विज्ञ’ जति नै अस्वीकार गरे पनि सुरुमा संक्रमितको परीक्षणमा प्रयोग गरिएको पटक्कै भर पर्न नसकिने आरडीटी नामको किटको प्रयोग र भारतबाट घर फर्कनेहरूलाई नाकामा छेकेका कारण संक्रमण समुदायमा फैलन पुगेको हो । आरडीटी परीक्षणका आधारमा समुदायमा जान दिइएकाबाट कोभिड—१९ को संक्रमण कति संख्यामा भयो र तिनको सम्पर्क पहिचानमा खेलाँची गर्दा त्यसले कति संक्रमण फैलायो भन्ने व्यवस्थित अध्ययन त भएको छैन होला तर सामान्य विवेककै आधारमा पनि अहिले समुदायमा संक्रमण पुग्नुमा त्यति बेलाको बदनियत र गल्ती जिम्मेवार थियो भन्न सकिन्छ । नत्र, चार महिना बन्दाबन्दी गर्दा संक्रमणको कडी पक्कै तोडिने थियो ।
व्यापक विरोध हुँदाहुँदै पनि आरडीटीको प्रयोगमा सरकारले जोड दिनु र अझै पनि त्यो गल्ती थियो भनेर स्वीकार नगर्नु शासकहरूको आँखा अझै नखुलेको लक्षण हो । विगतका यस्ता गल्ती स्वीकार गरेर सच्याउन तयार नहुँदासम्म संक्रमण नियन्त्रणका दिशामा प्रभावकारी पहल हुन सक्तैन । करिब ६ महिना देशलाई बन्दाबन्दीमा राख्दा र राजधानीका नाका थुन्दा पनि संक्रमण त देशभर समुदायमै पुग्यो । अर्थतन् त्र ध्वस्त भयो । सबैभन्दा बढी दिनहुँ निबेक गरेर खानेहरू भोकै मर्न थाले । अहिले नै केही सामाजिक संस्था र परोपकारीहरूले खाना नखुवाउने हो भने काठमाडौंको सडकमा भोकाहरू धमाधम ढल्ने जोखिम देखिन्छ । यसैले अब सरकारले संक्रमण रोक्ने जत्तिकै प्राथमिकता भोकै मर्न नदिने उपायलाई पनि दिनुपर्छ । उपत्यका आवतजावत गर्न रोकेमा संक्रमण नियन्त्रित हुन्छ भन्ने अर्को भ्रमबाट पनि सरकार र उपत्यकाका जनप्रतिनिधि मुक्त हुनुजरुरी छ । उपत्यका फर्कन नपाइने डरले दसैंमा घर गएनन् भने संक्रमण र भोकमरी दुवै फैलने जोखिम हुन्छ । बरु, उपत्यकाबाट जाँदा र आउँदा राम्ररी पहिचान देखिने अभिलेख राख्दा पछि सम्पर्क पहिचान गर्न पनि सहज हुनेछ । निषेध र नियन्त्रणबाट नथामिएको संक्रमण समुदायलाई सजग र सक्षम बनाउन सके रोकिन सक्छ । कोभिड—१९ सँग सँगै बाँचनु भनेको महामारीसँग आत्मसमर्पण गर्नु होइन भन्ने शासकहरूले स्वीकार गरे हुन्थ्यो ।