ठूला छिमेकी हुँदा आडभरोसा जति हुन्छ त्यसभन्दा बढी डरत्रास र जोखिम हुनेरहेछ । संसारभर देखिएको ‘साँढेको जुधाइमा बाच्छाको मिचाइ’ प्रवृत्तिबाट नेपाल पनि जोगिन सकेको छैन । इतिहासमा त कतिपय पटक भारत र चीनसँग नेपालले युद्ध नै गर्नुपरेको थियो । बीसौं शताब्दी यता प्रत्यक्ष भिडन्त त भएको छैन तर भारत र चीनको विवाद र मेलमिलाप दुवैमा नेपालले भने पाउनेभन्दा बढी गुमाएको छ । हालैका महिनाहरूमा भारत र चीनको सीमामा तनाव बढेको छ । यही कारणले भारत र चीनले सीमा क्षेत्रमा सैनिक गतिविधि बढाएको समाचार सार्वजनिक भएका छन् । यस क्रममा भारतसँगै चीनले पनि सीमामा सैनिक गतिविधि बढाउँदा त्रिदेशीय सीमा क्षेत्रमा पर्ने नेपाली भूभागको आकाशमा भारतीय सैनिक विमानको गतिविधि बढेकोे समाचार आएको छ । नेपाली आकाशमा भारतीय सैनिक गतिविधि बढ्दा सीमा क्षेत्रका बासिन्दा भने त्रसित भएको हुनुपर्छ ।
आपसी सम्बन्ध सुमधुर भएका बेला चिनियाँ र भारतीय शासकहरूले नेपाल सरकारको सहमति नै नलिई नेपाली भूभागसमेतबाट व्यापार नाका खोल्ने सम्झौता गरे । नेपालसँग मित्रताको जति नै गुड्डी हाँके पनि चिनियाँ र भारतीय शासकले नेपालको सार्वभौम सत्ताको कसरी उपेक्षा गर्छन् भन्ने यो ज्वलन्त उदाहरण हो । लिपुलेकबाट व्यापार नाका खोल्ने चीन र भारतको सम्झौताप्रति नेपालले आपत्ति जनायो । चीनले सामान्य प्रतिक्रिया प्रकट गरे पनि भारतले आपत्तिको समेत बेवास्ता गरेको थियो । भारतसँगको लिपुलेकवाला सम्झौता सच्याउन पहल नगरेकाले चीनको प्रतिक्रिया पनि औपचारिकतामात्र रहेछ भन्ने स्पष्ट हुन्छ । भारतले त लिपुलेक, लिम्यिाधुरा र कालापानी क्षेत्रको नेपाली भूभागमा कब्जा नै गरेको छ । नेपालले आफ्नो भूभाग समेटेर जारी गरेको नक्सालाई अमान्य घोषित गरेर आफ्नो बलमिचाहा नियत सिद्ध पनि गरेको छ । समग्रमा नेपालले सिक्नुपर्ने पाठ हो — आफ्नो गाँठो बलियो बनाउनु छिमेकीको भर नपर्नू ।
काठमाडौंमा सत्ताको लुछाचुँडीमा रमाएकाहरूका लागि सीमामा ‘जंगे पिलर’ उखेलिँदा, हराउँदा वा सारिँदा खासै चिन्ताको विषय हुने गरेको छैन । शासकको विलासमा मेची र महाकाली पारिका सबै भूभाग लडाइँमा हार्दा त फरक परेन । पश्चिमी छेउको विकट भूभागमा भारतले कब्जा गर्दा काठमाडौंका शासकहरूलाई केही फरक नपर्ने रहेछ । बेलाबखत राष्ट्रियता र सार्वभौम सत्ताका नाममा केही चटक देखाउन सके जनताको आँखामा छारो हाल्न सकिइहाल्दो रहेछ । तर, सीमामा बस्नेहरूले त यिनको हेलचेक्य्राइँ, उदासीनता र बदनियतको फल भोग्नुपर्छ । चिनियाँ गतिविधिको निगरानी गर्न नेपाली आकाशमा भारतीय हवाइ गस्ती बढेको हो भने कुनै पनि क्षण झडप हुनसक्ला । त्यस अवस्थामा निर्दोष नेपाली नागरिकले पनि त्यस्तो झडपबाट हुने विध्वंश भोग्नुपर्ने हुनसक्छ । नेपाल सरकारले भारतीय वा चिनियाँ पक्षको भिडन्त रोक्न त नसक्ला तर नेपालीको जिउधनको सुरक्षा गर्ने कर्तव्यबाट त विमुख हुन मिल्दैन । यसैले नेपाली भूभागमा भारतीय हवाई गस्ती भएको हो भने तत्काल बन्द गर्न नेपाल सरकारले भारतसँग कूटनीतिक माध्यमबाट प्रयास थालोस् । साथै सीमा क्षेत्रका जनतालाई सुरक्षाको भरोसा पनि दिलाउनु आवश्यक देखिन्छ । कमिसन र नियुक्तिमात्र हैन सुरक्षा पनि सरकारकै जिम्मामा जो हुन्छ ।