जति नै आशावादी भए पनि अहिले देशको अवस्था सन्तोषजनक देखिँदैन । कोभिड—१९ को संक्रमणले तर्साउनुभन्दा पहिले नै आर्थिक, सामाजिक र राजनीतिक कुनै पनि क्षेत्रको अवस्था आशालाग्दो थिएन । तैपनि, नेपाली जनताले जसोतसो गुजारा चलाउँदै आएका थिए । कोभिड—१९ को व्यवस्थापनमा सरकारले देखाएको बदनियत, अहंकार र मूर्खताले त झन् नेपाली जनतालाई आक्रान्त नै बनाएको छ । सहरका गरिबहरू विशेषगरी दैनिक मजदुरी गरेर गुजारा चलाउनेहरू परोपकारीको दयामा बाँच्नुपर्ने भएको छ । काठमाडौंको रत्नपार्कमा वितरण हुने खाना खानेहरूको भिडले देखाएको छ यो मुलुकको अवस्था राम्रो छैन । नारायणगढलगायतका सहरमा बाँडिने खाना खान आउनेमा मागेर गुजारा गर्नेहरूको भन्दा पसिना बगाएर खानेहरूको संख्या धेरै छ । यसबाट पनि सिद्ध हुन्छ सरकार कतै न कतै नराम्ररी चुकेकोे छ ।
नेपाली युवा रोजगारीका लागि विदेश जाने चलन नौलो वा अनौठो होइन । अहिले त रोजगारीकै लागि नेपाली दुनियाँका लगभग सबै मुलुकमा पुगेका होलान् । मूलतः मध्यपूर्व, मलेसिया, कोरिया, जापान नेपालीका रोजगार गन्तव्य मुलुक हुन् । त्यसो त युरोप र अमेरिका पनि पुगेकै छन् । तर, रोजगारीकै खोजीमा पनि सजिलै र धेरै जाने मुलुक त भारतै हो । कोभिड—१९ को संक्रमण फैलन थालेपछि भारतबाट लाखौं नेपाली युवा फर्केर आएका थिए । उनीहरू आउँदाभन्दा पनि भारतमा अहिले संक्रमण बढेको छ । नेपालीहरू धेरै जाने दिल्ली र मुम्बईजस्ता महानगरहरूको अवस्था नेपालको भन्दा पनि भयावह छ । तर, नेपाली युवा फेरि भारततर्फ जान थालेका छन् । ज्यानको माया त यिनलाई पक्कै छ । ज्यानकै बाजी थापेर पनि रोजगारीको खोजीमा युवा विदेश जानुपर्ने बाध्यता देशका लागि लज्जा र ग्लानिको विषय हो । यस्ता बाध्यतामा भएका युवालाई कम्तीमा पनि महामारी साम्य नहुँदासम्म गाउँमै रोक्न राज्यले किन सकेन ? कहीँ न कहीँ त यस देशका शासकहरू पक्कै चुकेका छन् ।
कोभिड—१९ को संक्रमण रोक्न सरकारले बन्दाबन्दी र निषेधाज्ञाको सहारा लियो । बन्दाबन्दीकै बेलामा स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको पुष्टि सरकार आफैँले गरेको छ । यद्यपि,स्वास्थ्य सामग्री आपूर्तिमा अनियमितता गर्नेहरूमाथि स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने जसरी कारबाही भने भएको देखिएन । सरकारी नीतिका कारण उद्योग, व्यापार र सेवा व्यवसाय ठप्प भए । वित्तीय कारोबारसमेत रोकियो । सार्वजनिक यातायात रोकिएको त ५ महिनाभन्दा बढी भइसक्यो । विद्यालयहरू बन्द छन् । तर, संक्रमण भने भयावहरूपमा फैलेको फैलेकै छ । सरकारले धेरै काम गरेको विवरण दिएको छ । राज्यको ढुकुटीबाट कोभिड—१९ का नाममा अर्बौं खर्च गरिएको छ । केही काम त पक्कै गरेको होला । संक्रमित व्यक्तिको पहिचान र परीक्षणको संख्या बढेको देखिएको पनि छ । तर, बन्दाबन्दी र निषेधाज्ञा जारी गरेर जनजीवन कष्टकर बनाउँदा पनि समुदायमा संक्रमण फैलन रोक्न सकिएन । राज्यको ढुकुटीबाट अर्बौं रुपियाँ खर्च हुने, देशको उद्योगधन्दा, व्यापार, व्यवसाय सबै चौपट हुने, श्रमजीवीहरू मागेर खानुपर्ने अवस्थामा पुग्ने तर संक्रमण झन् झन् बढ्ने ! नेपालसँगै शत्रुता छैन भने आग्रह, अहंकार र बदनियत नराखी खुला छलफल र विमर्श गरियोस् । सरकारी विज्ञबाहेक अरूका राय पनि सुनियोस् र महामारीबाट जनतालाई र देशको अर्थतन्त्र ध्वस्त हुनबाट बचाइयोस् । सरकार त अर्को चुनावपछि फेरिएला तर देश उठ्नै नसक्ने गरेर थला पर्नेछ । सरकार कतै न कतै त पक्कै चुकेको छ ।