पोखरा । गण्डकी प्रदेश सांसद मोहन रेग्मीले सामन्य रुघाखोकी लागेपछि कोरोना आशंकामा १४ गते स्वाब दिए । स्वाब दिएर रिपोर्ट नआउँदासम्मका चार दिन सांसद आफ्नै काममा व्यस्त भए । जनताका गुनासा लिएर सरकारी अड्डादेखि मन्त्रीसम्म भेट्ने काम गरे । बुधबार मात्रै उनले सामाजिक विकास नरदेवी पुनमगरलाई भेटे ।
सामाजिक विकासमन्त्रीलाई भेटेपछि भौतिक सांसद रेग्मी भौतिक पूर्वाधार विकास मन्त्रालय गएका थिए । त्यहाँ मन्त्री र कर्मचारीको अनलाइन बैठक चल्दै थियो । मन्त्री व्यस्त भएपछि उनी सचिवको कार्यकक्षमा बसे । सचिव इश्वरचन्द्र मरहट्टालाई भेटे । केहीबेर भलाकुसारी पनि भयो । सांसद निस्किए ।
चार दिनपछि सांसद रेग्मीको रिपोर्ट बिहीबार पोजेटिभ आयो । उनलाई भेटेकी सामाजिक विकासमन्त्री पुन अहिले आफ्नै सरकारी निवासमा क्वारेन्टिनमा बसेकी छन् । एकदुई दिनभित्रै उनले पनि स्वाब परीक्षण गराउने स्वकीय सचिवले जानकारी दिए ।
रिपोर्ट पोजेटिभ आएपछि सांसद रेग्मी पोखरा ८ स्थित होम आइसोलेसनमा छन् । यता, सांसदमा कोरोना भेटिएपछि भौतिक पूर्वाधार विकास मन्त्रालयमा भने कर्मचारी र मन्त्रीबिच खटपट देखिएको छ ।
सांसद होम आइसोलेसनमा बसेपछि बिहीबार नै भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता हरिदत्त पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे, “हिजो यस मन्त्रालयमा पाल्नुभएका स्याङजाका एकजना सभासदज्यूलाई कोरोना लागेको आज पुष्टि भएको हुनाले भौतिक पूर्वाधार विकास मन्त्रालय, गण्डकी प्रदेशका सम्पूर्ण कर्मचारीहरुलाई आइसोलेसनमा बस्नुपर्ने अवस्थामा । कम्तीमा एक हप्ता सेवा अवरुद्ध हुन सक्ने ।”
यता, बिहीबार नै मन्त्रालयमा कर्मचारीहरुको अनौपचारिक बैठक पनि बस्यो । त्यो अनौपचारिक बैठकले आइतबारसम्म कार्यालयको काम मात्र गर्ने भन्ने सहमति गरेको छ । यसको अर्थ, जनताले मन्त्रालयबाट पाउने सेवा पाउने छैनन ।
मन्त्रालयका प्रवक्ता पौडेल भन्छन, “हामीलाई पनि कोरोनाको जोखिम छ । औपचारिक निर्णय त भएको छैन, तर, थोरै कर्मचारी मात्र आउनुहुन्छ होला ।”
मन्त्रालयका सचिव इश्वरचन्द्र मरहट्टाले शुक्रबार र शनिबार होम आइसोलेसनमा बस्ने र आइतबार स्वाब दिइने जानकारी दिए । “उहाँ (सांसद) हिजो मसँग एकछिन बस्नुभएको थियो । आजको दिन गइहाल्यो, दुई दिन होम आइसोलेसन बस्ने र अनि स्वाब परीक्षण गराउने कि भन्ने कुरा भएको हो ।”
उनका अनुसार यो बीचमा जनताले मन्त्रालयबाट पाउने सेवा भने बन्द हुनेछन् । “अफिसियल काम चाहिँ छुट्टाछुट्टै बसेर गर्छौं, जनता आउने काम चाहीँ हुँदैन । जनतालाई नि सर्छ कि भन्ने जोखिम भयो,” उनले भने ।
तर, कर्मचारीहरुले गरेको यस निर्णयबारे विभागीय भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत भने बेखबर छन् । मन्त्रालयका कर्मचारीले फेसबुकमा लेखेको कुरामा पनि उनको चित्त दुखाइ छ । मन्त्रीले भने सेवा बन्द हुनेबारे आफूलाई कुनै जानकारी नरहेको र हुँदा पनि नहुने बताए ।
“मन्त्रालय बन्द हुने, सेवा बन्द हुने भन्ने केही भएको छैन, त्यो हरिदत्तलाई सोध्नुपर्छ । खै उहाँले के भनेर लेख्नुभयो, मैले फेसबुकमा देखें । के भनेर लेखेको हो ? कसको आदेशले लेखेको हो ?” उनले प्रश्न गरे । बिहीबार आफू दिनभर मन्त्रालयमा रहेको र कुनै किसिमको बैठक, निर्णय नभएको भन्दै कर्मचारीको उक्त अनौपचारिक निर्णयलाई मन्त्रीले अस्वीकार गरे । कर्मचारीहरु ओभर भएकोसमेत भन्न भ्याए ।
“म आफैं मन्त्रालयमा छु, व्यक्तिले मनलाग्दी फेसबुकमा लेखेको कुरालाई आधिकारिक कसरी मान्ने ? मन्त्रालयले कुनै आधिकारिक निर्णय गरेको नै छैन । किन गर्ने ? त्यहाँ अलि ओभर नै भएकोजस्तो बुझिएको छ,” उनले आक्रोश पोखे ।