सत्ता र जनताबीच संवाद तथा विश्वास टुटेपछि हुने अनर्थ बिहीबार ललितपुरको पुलचोकमा भएको छ । रातो मछिन्द्रनाथको रथ तान्न ललितपुरको पुल्चोक पुगेका श्रद्धालुहरूलाई तितरबितर पार्न प्रहरीले पानीका फोहोरा र अश्रुग्याससमेत प्रहार गर्योे । उत्तेजित भिडले प्रहरीलाई ढुंगामुढा पनि गरेको थियो । काठमाडौं उपत्यकाका तीनवटै सहरमा निषेधाज्ञा जारी गरिएको छ । तर, मलमास नलाग्दै मछिन्द्रनाथको रथ बुङ्मती पुर्याउनु पर्ने मान्यताका कारण श्रद्धालुहरू निषेधाज्ञाकै बीच रथ तान्न अग्रसर भएका हुन् । कोभिड—१९ को संक्रमण नियन्त्रणका लागि भन्दै उपत्यकामा पटकपटक थप गर्दै यही भदौ २४ गतेसम्म निषेधाज्ञा लगाइएको छ । स्थानीय जनताको भावनाप्रति संवेदनहीन बनेको आरोप लागेको प्रशासनले रथ तान्न नदिन प्रहरी प्रयोग गरेर रोकेपछि सर्वसाधारसमेत आक्रोशित भएका छन् ।
सरकारको विवेकहीन काम गराइको विरुद्ध कुनै न कुनै दिन जनआक्रोश विस्फोट हुने अनुमान धेरै पहिले नै गरिएको हो । स्थानीय जीवनशैली र परम्पराको बेवास्ता गर्दै जनताको परम्परागत आस्थालाई बल प्रयोग गरेर दमन गर्न सकिने ठान्नु स्वयंका मूर्खता हो । यसअघि उपत्यकामा निकै तामझामसहित सम्पन्न हुने जात्राहरू रोकिँदा पनि जनता यति आक्रोशित भएका थिएनन् । रातो मछिन्द्रनाथको रथ मलमास नलाग्दै बुङ्मती पुर्याउन पर्ने र सरोकारवाला सरकारी निकाय गुठी संस्थान वा स्थानीय प्रशासनले सुरक्षितरूपमा रथ त्यहाँ पुर्याउन कुनै अग्रसरता नदेखाएपछि श्रद्धालुहरू आफैँ अगाडि सरेको देखिन्छ । उनीहरूले कानुनीरूपमा निषेधाज्ञा उल्लंघन गरेको देखिए पनि रथ तान्ने काम सरकारविरुद्ध लक्षित थिएन । व्यवस्थापनको ढंग नपुग्दा लगभग अर्थहीन हुन पुगेको निषेधाज्ञाकै कारण दिक्क भइसकेका सर्वसाधारण प्रहरी दमनबाट सडकमा उत्रिए भने संक्रमण र अशान्ति दुवै फैलन सक्छ ।
रथ तान्न खोज्नेहरूसँग मलमास नलाग्दै रथ बुङमती पुग्ने प्रबन्ध मिलाउन छलफल गरिएको भए सम्भवतः झडपको स्थिति उत्पन्नै हुने थिएन । किनभने श्रद्धालुहरूको चिन्ता रथ मलमास नलाग्दै बुङमती पुर्याउनु नै हो । त्यति गर्न सके उनीहरूको जीवनशैली र संस्कृतिसँग शताब्दीयौंदेखि जोडिएको आस्था एवं परम्परा जोगिनेछ । यस्तो अवसरमा जनप्रतिनिधिहरूले प्रशासनलाई जनताको भावना बुझाउनुपर्छ । हुनत, उपत्यकाका जनप्रतिनिधि कोभिड—१९ को संक्रमण नियन्त्रणको अभियानमा कतै देखिनसकेनन् । तैपनि, स्थानीय संस्कृति र परम्परा जोगाउन र जनता तथा प्रशासनबीच अविश्वासको अवस्था बन्न नदिन अहिले उनीहरूको मध्यस्थता उपयोगी हुनेछ । स्थानीय अगुवा, रातो मछेन्द्रनाथको जात्राका गुठीयारहरूलगायत सरोकारवालासँग सल्लाह गरेर मलमास नलाग्दै रथ बुङमती पुर्याउन र त्यसक्रममा कोभिड—१९ को संक्रमण बढ्ने जोखिम पनि हुन नदिन उपाय आजै पहिल्याउनु उचित हुनेछ ।
प्रशासकहरूलाई थाहै हुनुपर्ने हो रथ यात्राका विभिन्न कामहरू पुस्तौँदेखि परिवारहरूको जिम्मा लगाइएको छ । संसारकै प्राचीनतम सांस्कृतिक व्यवस्थापनको नमुना मानिने रथयात्रामा राज्यको पनि उत्तिकै भूमिका रहन्छ । मछिन्द्रनाथको रथयात्रा विश्व सांस्कृति सम्पदाको नेपालमा रहेको धरोहर हो । यसैले दमन र निषेधको भाषा छाडेर सरकारले तत्काल संवाद र सल्लाह थालोस् । सुरक्षाकर्मीको पहरामा सम्बन्धित गुठीयारहरूमात्र सुरक्षितरूपमा सामेल भएर रथ तान्ने काम गरिएका परम्परा धानिने र निषेधाज्ञा पनि पालन हुने हुन्छ । श्रद्धालुहरूमाथि बल प्रयोग गरेकोमा माफी मागोस् । नेपालका सांस्कृतिक धरोहर मास्ने कम्युनिस्ट सरकारको प्रकट अप्रकट नियत होइन भने जनतासँग माफी मागेर सुध्रिन हिचकिचाउनु पर्दैन । रथयात्रा रोकियो भने अनिष्ट हुन्छ भन्ने जनविश्वास छ । तत्कालको अनिष्ट टार्नका लागि पहिले जनताको आक्रोश मत्थर हुने उपाय गर्नु आवश्यक ।