
काठमाडौं । करिब महिनादिन अघि एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भयो- महेन्द्र बहुमुखी क्याम्पस दाङका आंशिक प्राध्यापक संघले क्याम्पस प्रमुखको कुर्सी जलाएको दृश्य । प्राध्यापक भएर पनि यस्ता निम्नस्तरको काम गर्ने भन्दै चौतर्फी आलोचना भयो । तर प्राज्ञिक वर्गले किन यस्तो गतिविधिलाई आन्दोलनमा समेटे ? कोरोना महामारीका बीच पनि किन प्राध्यापकहरू आन्दोलनरत छन् ?
भदौ १ मा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वविद्यालय अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७ जारी गर्यो । आंशिक प्राध्यापकहरूको लामो समयदेखि भइरहेको आन्दोलनलाई सम्बोधन गर्दै उक्त निर्देशिका विश्वविद्यालयले जारी गरेको हो । तर संघले निर्देशिकाले आंशिक प्राध्यापकको समस्या सुल्झाउनु सट्टा झन् बढाएको भदै त्यसलाई अस्वीकार गर्दै देशव्यापी रुपमा निर्देशिका जलाएका छन् । निषेधाज्ञा नभएका उपत्यकाबाहिरका आंगिक क्याम्पसहरूमा निर्देशिका जलाउने काम भदौ १५ र १६ मा भएको छ ।
१४ वर्षदेखि त्रिविका विभिन्न आंगिक क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकको व्यवस्थापनका लागि मंसिर ८, ०७४ मा तत्कालीन मन्त्रिपरिषद्ले एक हजार ४२० दरबन्दीलाई स्वीकृति दिएको थियो । लगत्तै नवगठित अर्थमन्त्री युवराज खतिवडाले जारी गरेको श्वेतपत्रमा अघिल्लो मन्त्रिपरिषद्ले गरेको सो निर्णय उल्लेख थियो । तर कार्यान्वयन भएन । कार्यान्वयन हुन नसक्नुमा त्रिविका पदाधिकारी र क्याम्पस प्रमुखको हात रहेको प्राध्यापक संगीता दाहालको बुझाइ छ । कोरोना महामारीका कारण चैत ७ देखि नै विश्वविद्यालय बन्द भयो । तलबी कर्मचारीलाई त दसैं बिदा भइहाल्यो । सुतीसुती तलब पाइने । तर पढाएर मात्र खान पाउनेका लागि यो भोकको कहर बन्यो । वैशाख १९ मै संघले विश्वविद्यालयलाई जीवनयापनका लागि सहयोगको अपिलसहित ज्ञापनपत्र बुझायो । वैशाख ३१ मा समस्या समाधान गर्न भनिएकामा विश्वविद्यालयले जेठ १ देखि एक साताको समय माग्यो । जेठ ८ मा पुनः अर्को विज्ञप्ति निकालेर समस्या समाधानका लागि संघले आग्रह गर्यो । यसबीच अनलाइन कक्षा सुरु भयो । वर्क फ्रम होमअन्तर्गत सुरु भएका कक्षामा कतिले साउनदेखि त कतिले कात्तिकदेखि नै पारिश्रमिक पाएका छैनन् । यस्तै, आंशिक प्राध्यापकले शैक्षिक सत्रको सुरुमै पाउनुपर्ने नियुक्ति नपाएको, नियुक्तिको अभावमा हाजिरी नभएको र काम गरेको महिनौंसम्म पारिश्रमिक नपाएको अवस्था छ ।
वैशाखदेखि नै सुरु भएको सांकेतिक आन्दोलन दाङमा क्याम्पस प्रमुखको कुर्सी जलाउनेदेखि निर्देशिका जलाउनेसम्म पुगेको छ ।
बौद्धिक मजदुरले ६ महिनादेखि पारिश्रमिक पाएनन्
त्रिविको नियमअनुसार प्रतिसाता ६ घण्टी पढाउने शिक्षक आंशिक प्राध्यापक हुन् । त्रिविको प्राध्यापक र कर्मचारीले जस्तो तलबी कर्मचारी होइनन् । उनीहरूले पढाएको गनेर पैसा पाउँछन् । त्यसैले आफूहरू बौद्धिक मजदुरभन्दा माथि नरहेको उनीहरूकै तर्क छ । संघका महासचिव केशव चन्दका अनुसार करार र स्थायी प्राध्यापकभन्दा आंशिक प्राध्यापकले बढी घण्टी पढाउँछन् । तर न्यूनतम आवश्यकता त परको कुरा कति आंशिक प्राध्यापकहरू ६ महिनादेखि पारिश्रमिक पाएका छैनन् ।
चन्द शंकदेव क्याम्पसमा अंग्रेजी विषय पढाउँछन् । चैतमा लकडाउन भएपछि उनले अनलाइनमा पढाउन थाले । तर करार र स्थायी शिक्षकले हाजिर नगरे पनि तलब पाउँछन् भने चन्दले पढाए पनि तलब पाउन सकेका छैनन् । आंशिक प्राध्यापकले हाजिर नगरी तलब बुझ्न पाउँदैनन् ।
यस्तै, प्रध्यापक दाहाल पनि अन्यायमा परेकी छन् । ०६५ देखि नै पद्म कन्या क्याम्पस (पिके)मा सोसल वर्क पढाइरहेकी दाहाल अहिले बेरोजगार छिन् । उनले आफ्नो विषय पहिले नै पढाएर सकाएकी थिइन् भने प्रयोगात्मक कक्षाहरू मात्र बाँकी छन् । क्याम्पस बिदा भएकाले पूर्ण घण्टीको तलब उनले पाउने छैनन् । सानैदेखिको पढाउने रहर र यसैमा भविष्य बनाउँछु भनेर प्राध्यापन सुरु गरेकी दाहाल संर्घषका दिन सम्झँदै भन्छिन्, “कुनै दिन त राम्रो होला, म आशावादी छु, चाहे मेरो कार्यकाल आंशिक प्राध्यापककै रुपमा किन नबितोस् ।’’ उनी १३ वर्षदेखि आंशिक प्राध्यापकका रुपमा काम गरिरहेकी छिन् ।
दाहालका अनुसार ०६३ सालदेखि आंशिक प्राध्यापकका रुपमा काम गरेका सबै करारमा परिणत भइसके । सुरुमा आंशिक शिक्षकका रुपमा प्राध्यापन गर्ने र २ वर्षपछि प्रक्रियागत रुपमा स्वतः अस्थायी हुने चलन थियो । भविष्य राम्रो देखेकाले उनी यसैमा अनवरत लागिन् । सोसलवर्कमा विद्यार्थी आकर्षण ज्यादा भएकाले उनी पूरै समय पीके क्याम्पसलाई नै दिइन् । सातामा २४ घण्टी पढाउँछिन् । विद्यार्थीको र कामको चाप बढी र सेवा-सुविधा कम नहुँदा गल्ती गरिएछ कि भन्ने उनलाई लाग्दो रहेछ । बाहिरबाट हेर्दा क्याम्पस पढाउने, छिमेकी र आफन्तमा गौरव बढेपनि पारिश्रमिक लिने बेला मजदुरजस्तो निरीह हुनुपरेको उनको अनुभव छ । सोसल वर्क विभागमा विभागीय प्रमुखसहित तीन प्राध्यापक मात्र रहेकामा एकजना प्राध्यापक विदेश गएकाले सबै कक्षा आंशिक प्राध्यापकहरूले चलाउँछन् ।
आंशिक प्राध्यापकको हकहितका लागि यसअधि पिके क्याम्पसको संयोजक रहेकी दाहाल भन्छिन्, ‘‘आश्वासन सबै बाँड्छन् । हुन्न कोही भन्दैनन् । तर काम कोही गर्दैनन् । कहिले फलानोको कारण त कहिले राजनीतिक दललाई दोष दिन्छन् । राजनीतिक दलमा भएको भए चाप्लुसी गरेर उहिल्यै नियुक्ति मिलिसक्थ्यो ।’’
विश्वविद्यालयको सम्पूर्ण कक्षाभारको ७० प्रतिशत कक्षाभार आंशिक प्राध्यापकले धानिरहेको संघका अध्यक्ष डा. महेशकुमार गजुरेल बताउँछन् । चितवनस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा ०६९ देखि क्लिनिकल साइकोलोजी पढाइरहेका गजुरेल सातामा ३६ घण्टी पढाउँछन् । भन्छन्, ‘‘त्रिविले व्यवस्थापनभन्दा पनि विस्थापित गर्न खोजेको छ, त्यसैले निर्देशिका मान्दैनौं । नयाँ विषय थपेको छ, आंशिक प्राध्यापकविना सम्भव छैन । हामीलाई समान काम र ज्याला चाहिन्छ । निषेधाज्ञा खुल्नेबित्तिकै देशव्यापी आन्दोलन गर्छौं ।’’
यस्तै, लामो समयदेखि पढाइरहेका आंशिक प्राध्यापकलाई स्वतः करार गर्नुपर्ने महासचिव चन्दको माग छ । भन्छन्, ‘‘निर्देशिकामा विश्वविद्यालयलाई नियमन गर्ने र विश्वविद्यालयमा आंशिक प्राध्यापकल् पढाइरहेका कक्षालाई कसरी व्यवस्थापन गर्ने भन्ने मात्र कुरा छ ।’’
वर्तमान संकटकालीन अवस्थामा सरकारलाई दबाब दिन संघले अहिले शैक्षिक गतिविधिमा भाग नलिने र अनलाइन कक्षा लिन बन्द गरेको छ । उपत्यकाबाहिर निषेधाज्ञा नभएका ठाउँमा निर्देशिका जलाइएको छ । बागलुड पोखरा, नेपालगन्ज, सुर्खेत, जनकपुर, धनकुटालगायतका आंगिक क्याम्पसमा निर्देशिका जलाइएको छ ।
नयाँ निर्देशिका नै लागु हुने
रजिस्ट्रार पेशल दाहालका अनुसार संघको माग निर्देशिकाले नै पूरा गर्ने दाबी गर्छन् । भन्छन्, ‘‘विश्वविद्यालयको आवश्यकता, क्षमताअनुसार काम गर्ने हो । त्यही ढंगले निर्देशिका जारी गरेका छौँ ।’’
उनले निर्देशिकामा प्राध्यापकको पारिश्रमिक बढाइएको बताए । यस्तै, आंशिक प्राध्यापककमा कार्यरत रहेर २ वर्षपछि स्वतः करार हुने व्यवस्था कहिल्यै नरहेको उनको तर्क छ । उनका अनुसार ०६५ मा लामो समयसम्म पढाएका शिक्षकलाई तत्कालीन सरकारले नै दरबन्दी थपेर करार गरेको हो । भन्छन्, ‘‘आफ्नो भविष्य जहाँ देखिन्छ, त्यही बस्ने हो, एक-दुई वर्ष काम गरेपछि थाहा भइहाल्छ, अवस्था कस्तो छ भनेर ।’’
यस्तै, त्रिविले ५ महिनाअघि नै सेवा आयोगमार्फत दरबन्दी खुलाएको र पुनः विज्ञापन खुलाउने उनले जानकारी दिए । तर विज्ञापन दरबन्दी लोकसेवा आयोगले नभई सेवा आयोगले खुलाएका कारण भित्रभित्रै सेटिङ गरी राम्राभन्दा हाम्रा मान्छे भर्ने काम भएको संघका अध्यक्ष गजुरेलको आरोप छ । भन्छन्, ‘‘त्यही भएर सो परिक्षमा भाग लिएनौँ ।’’
निर्देशिकामा के छ ?
त्रिविको निर्देशिकाले क्रेडिट प्रणालीअनुसार प्रतिक्रेडिट १५ हजारका दरले र वार्षिकी प्रणालीअनुसार प्रतिकक्षा ५ सय का दरले १५० घण्टा पूरा भएपछि एकमुष्ट वा सम्झौताबमोजिम हुने व्यवस्था गरेको छ । यसअघि प्रतिघण्टी आंशिक प्राध्यापकले १५ प्रतिशत कर काटेर ३०६ पाउँथे । यस्तै, सेमेस्टरको हकमा पाँच महिना र वार्षिकी प्रणालीका हकमा १० महिना मानेर सम्झौता हुनेछ । कक्षा लिएको लगबुक भरेबमोजिम मात्रै पारिश्रमिक प्राप्त हुनेछ । यस्तो पारिश्रमिक कोर्स पूरा भएपछि वा किस्ताबन्दीमा प्राप्त गर्नेछन् ।
अतिरिक्त कक्षा लिँदा एक शैक्षिक सत्रमा एक सिफ्टमा १५ क्रेडिट वा १०० पूर्णांकको पाँच विषयभन्दा बढी लिन पाइने छैन । हरेक कक्षाको अतिरिक्त कक्षाभार छुट्टाछुट्टै हुनुपर्ने, सम्झौता एक शैक्षिक सत्रका लागि मात्र हुनुपर्ने, शैक्षिक सत्र ०७७ र ०७८ देखि एउटै विषय दुई सिफ्ट भएको रहेछ भने एउटै सिफ्टमा मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ ।
निर्देशिकाअनुसार हाल कार्यरत आंशिक प्राध्यापकले निर्देशिका जारी हुनुभन्दा अघिको अवधिको साबिकबमोजिमको पारिश्रमिक पाउनेछन् । निर्देशिका लागु भइसकेपछि प्रतिकक्षा ५ सय का दरले र आगामी शैक्षिक सत्रदेखि सम्झौता गरेबमोजिम हुने सेवा सुविधा प्राप्त गर्नेछन् ।
निर्देशिकाले हरेक वर्ष अतिरिक्त कक्षाभार कोर्ष सम्झौता गर्नुपर्ने व्यवस्था गरेको छ । आगामी शैक्षिक सत्रदेखि अहिले पढाइरहेका आंशिक प्राध्यापकहरूले पनि यो सम्झौता गर्नुपर्नेछ । त्रिवि केन्द्रीय कार्यालयमा स्वीकृत नलिएको तर, सम्बन्धित विभाग र क्याम्पसबाट गठित छनोट समितिमार्फत ०७२ असार मसान्तसम्म प्रतिस्पर्धात्मक प्रक्रियाबाट नियुक्त भएकाले पनि उक्त सम्झौता गर्न सक्नेछन् ।
यस शैक्षिक सत्रदेखि सुरुका कक्षा पूर्णकालीन शिक्षकबाट सञ्चालन गर्नुपर्ने, बाँकी रहेका कक्षामा मात्र अतिरिक्त शिक्षकबाट कक्षा सञ्चालन गर्नुपर्नेछ । ‘सेक्सन’ छुट्याएको कक्षाहरूमा विद्यार्थीको अनिवार्य हाजिरी हुनुपर्छ । विद्यार्थी कम हुन गए सेक्सन मिसाउनुपर्नेछ । आन्तरिक स्रोतबाट सञ्चालन गर्ने स्वीकृति लिई सञ्चालनमा रहेका कार्यक्रमहरूको कक्षाभार गणना नहुने व्यवस्था निर्देशिकामा गरिएको छ ।
क्याप्सन :
दाङको महेन्द्र बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकद्वारा क्याम्पस प्रमुखको कुर्सी जलाइँदै । फाइल तस्बिर