काठमाडौं । एकातिर कतारमा रहेका नेपालीलाई साउदी अरबले लगाइदिएको नाकाबन्दीसँगै अब के होला ?भन्ने अन्योल छ । अर्कोतिर कतारमा रहेका नेपालीका नेपालमा रहेका आफन्तजनलाई कसरी उनीहरु सुरक्षित रहन्छन् भन्ने चिन्ता छ । यही मेसोमा आइतबार काठमाडौंको अनामनगरस्थित युनियनहाउसमा कतारमा रहेका नेपाली कामदारको समस्यालाई समेटेर बनाइएको डकुमेन्ट्री ‘द डेजर्ट इट्स अस’ प्रदर्शन भइरहेको थियो ।
फिल्म क्रिटिक्स सोसाइटी (फिक्सन) को नियमित श्रृङ्खला सन्डे मुभीमा केसाङ छेतेन निर्देशित ‘द डेजर्ट इट्स अस’ मा नेपाली मजदुरले त्यहाँ काम गर्दा भोग्नु परिरहेका समस्यालाई जस्ताको तस्तै देखाइएको छ । आफन्तबाटै ठगिएका पीडितको हृदयविदारक कथा, कतारको उकुसमुकुस गर्मीमा खुला आकासमुनी काम गर्नुको बाध्यता अनि साँझमा सुँगुरको खोर जस्तो टहरामा खाँदाखाँद बस्दाको मनै रुने यथार्थलाई केसाङले डकुमेन्टी«मा उनेका छन् ।
उक्त डकुमेन्ट्रीका प्रोटागोनिष्ट देवेन्द्र भट्टराई, लामो समय कतारमा बसेर कान्तिपुरका लागि रिपोर्टिङ गरेका कान्तिपुर दैनिककै होम कार्कीले कतारमा रहेका नेपाली मजदुरले दिनानुदिन भोग्दै आएको समस्यालाई सम्झिएका थिए ।
“हाम्रो काम रिपोर्टिङ भन्दा पनि त्यहाँ रहेका नेपालीलको उद्धार गर्ने र दुःख सुन्ने हुन्थ्यो,” भट्टराई र कार्कीले त्यहाँ रहँदाका घटना सम्झँदै भने, “दिनदिनै दूतावास जाने र नेपाल फर्काउने अथवा समस्या समाधानका लागि पहल गर्ने हुन्थ्यो ।”गाउँबाट आएका निरक्षर नेपाली त्यहाँ अलपत्र परिरहेका देख्दा मनै रसाउने गरेको कार्कीले सुनाए ।
करिब एक दशक अगाडि खिचिएको उक्त डकुमेन्ट्रीभन्दा केही फरक भए पनि धेरै नेपाली अझै पनि अर्धदक्ष मजदुरकै रुपमा जाने हुँदा अपेक्षा गरे अनुसार परिवर्तन भने हुन नसकेको उनले बताए ।
“दिनभरी काम गरेर आयो, मध्यरातमा मोबाइलमा नेपालीको मिसकल आउँथ्यो । कसैलाई अफ्ठ्यारो पर्यो कि भनेर कल ब्याक गर्यो,” भट्टराईले कतारमा रिपोर्टिङमा रहँदाको अनुभव सुनाए, “केको समस्या हुनु ‘मेरो कविता सुन्नुस् त भनेर कविता पो सुनाउन थाल्छन् ।” भट्टराईसँगै रहेका कार्कीले थपे, “अहिले पनि त्यहाँको अवस्था त्यस्तै हो । मलाई लाग्छ, चार लाख नेपालीमा २ लाख त कवि नै होलान् । २/३ पेज कविता छाप्नु अनि पत्रिका बिक्छ भन्थे ।”
छेउमै रहेका फिक्सनका अध्यक्ष यज्ञशले सोधे, किन सबै कवि भए त ?
“सायद मनको पीडा पोखिएको हो । ती कविता छन्दमा हुँदैनन्, व्यवसायिक हुँदैनन् । त्यसैले पनि उनीहरुको पीडा ओकलिएको हो भन्न सकिन्छ ।”
६८ मिनेट लामो डकुमेन्ट्रीले मनको भित्री तहसम्म पुगेर छुन्छ । मंगोल फेसको एक पात्र आफ्नो ओछ्यानमा रहेको पूर्व श्रीमतीको फोटो एल्बमबाट एकपछि अर्को गर्दै निकाल्छ । ओल्टाइपल्टाइ हेर्छ र देखाउँदै भन्छ– “५/७ वर्ष सँगै बसेको श्रीमती कसरी बिर्सिन सकिँदोरहेछ र ? कमाउँदै पैसा पठाइदिन्थेँ । सायद भनेजस्तो गहना दिन सकिन होला....” यसो भन्दा उसको अनुहार मलिन थियो । मातृभूमि छोड्नुको पीडा अनुहार र बोली दुवैमा घोलिएको थियो ।
अनि डकुमेन्ट्री हेरिरहेको हल भने शून्य भयो ।
डकुमेन्ट्रीमा पात्रहरु एकपछि अर्को आउँछन् । सायद दर्द र आँसुले भरिएका मान्छेहरु मात्रै कतार पुग्छन् । दुःखै दुःखले भरिएका मनहरुछन् डकुमेन्ट्रीमा । अधिकांश सहकर्मीहरुको यस्तै कथा देखेर होला, अर्को पात्र प्रतिप्रश्न गर्छ, ‘बिहे गरेर पनि के जित्नु छ र ?’
पूरै नेपालको प्रतिनिधित्व हुन्छ त्यहाँ । मिनी नेपाल भने पनि हुन्छ सायद । देवेन्द्र भन्दै थिए, “कार्यक्रममा भेला भयो भने त्यहाँ सम्पर्क समितिका अध्यक्ष र सचिव मात्रै भेटिन्छन् ।” सँगै यज्ञश हाँस्दै भन्दै थिए, “मेरो घर तनहुँ भन्ने थाहा पाएछन् । कतार–तनहुँ सम्पर्क समितिले खादा ओढाएर नै सम्मान गरे ।”
कतारले अहिले नाकाबन्दी झेलिरहेको छ । त्यसको हल्ला विश्वरभर छ । नेपालमा नहुने कुरै भएन । त्यहाँ आफन्त रहेका नेपालीहरु नेपालमा भगवानसँग प्रार्थना गरेर बसिरहेका छन् । कस्तो असर पर्छ त्यहाँ रहेका नेपालीलाई भन्ने प्रश्नमा पत्रकार भट्टराई र कार्कीले भने, “कुटनीतिक स्तरको समस्या भएकाले तत्काल समाधान भयो भने नेपालीलाई खासै असर गर्दैन । तर यो द्वन्द्व लामै समय रह्यो भने नकारात्मक असर नेपालीलाई पनि पर्छ । अहिले आएका समाचार सतही समाचारमात्रै हुन् । अवस्था भयावह हुन पनि सक्छ, त्यसबारे हतारमा समाचार लेखिनुहुँदैन भनेर सबै कुरा बाहिर आएका छैनन् ।”
निर्देशक छेतेनले कतारमा अनुमति लिएर त्यहाँ कार्यरत मजदुरको अवस्थाबारे खिच्न नपाइने भएकाले क्यामेरा लुकाएर फोटो भिडियो खेचिएको स्मरण गर्दै प्रशासनको कडाइका कारण धेरै तथ्य बाहिर ल्याउन निकै गाह्रो भएको स्पष्ट पारे ।