कविवर माधवप्रसाद घिमिरेसँगै नेपाली साहित्यको एउटा काल र प्रवृत्तिको पनि अन्त्य भएको छ । नेपाली साहित्यको इतिहासमा ‘आधुनिक काल’ भनिएको कालखण्डको आरम्भमै चम्किएका कविवर घिमिरे एक सय एक वर्ष बाँचेर अस्ताए । कविवर घिमिरेले नेपालीमा कविता देख्न थाल्दा लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठहरू नामचलेका कवि थिए । यिनीहरूको बीचमा विद्रोह नगरेरै अलग पहिचान बनाउन सक्नु कविवर घिमिरेको विशेषता थियो । विषय छनोटका दृष्टिमा घिमिरे पूरै स्वच्छन्दतावादी (रोमान्टिक) छन् । शैलीका दृष्टिमा भने चरम परिस्कारवादी देखिन्छन् । साहित्यका यी दुई धाराको अनुपम संम्मिश्रण कविवर घिमिरेले नेपाली साहित्यलाई दिएका छन् । अत्याधुनिक कुनै प्रवृत्ति वा वादको आग्रह दृष्टिबाट जस्तो देखिए पनि माधवप्रसाद घिमिरेले नेपाली साहित्यको सिंगो धाराको प्रतिनिधित्व गर्छन् ।
कविवर घिमिरेले छन्दमा मात्र लेखे । लोक र शास्त्रीय छन्दमा लेखिएका उनका कविता मीठा गीतजस्ता छन् भने उनले लोक र आधुनिक भाकामा लेखेका गीतहरू प्राञ्जल काव्यात्मक छन् । यस्तो कौशल उनका पूर्ववर्ती देवकोटा, पौड्याल र सम, समकालीन गोपालप्रसाद रिमाल, सिद्धिचरण श्रेष्ठ कसैमा पनि देखिँदैन । देवकोटा आफ्ना भाव प्रवाहको वेग थाम्नै असमर्थ छन् । परिस्कार त उनका लागि व्यर्थको अल्झो हो । पौड्याल शैली र प्रवृत्ति दुवैमा शास्त्रीयतावादको घेराभित्रै छन् । यद्यपि, परम्परागत स्वच्छन्दतावाद नेपाली कविहरू सबैको साझा प्रवृत्ति हो । समको शैली शास्त्रीय भए पनि प्रयोगवादी छ । दर्शनमा कविता कि कवितामा दर्शन पाठन अलमलिन्छ । राजनीतिक चेतनाले काव्य र साहित्यलाई थिचेको छ रिमाल र श्रेष्ठहरूमा । कविवर घिमिरे यी सबैभन्दा फरक छन् । देवकोटा, पौड्याल र सममात्र हैन श्रेष्ठ र रिमाल पनि घिमिरेभन्दा कतिपय पक्षमा उत्कृष्ट छन् । तर, काव्यात्मकतामा भने घिमिरे बेजोड छन् ।
माधवप्रसाद घिमिरेलाई चिनाउने सरकारले दिएका पदविहरू पक्कै होइनन् । उनको कीर्ति त उनैका कृति हुन् । ‘राष्ट्रकवि’ नभनिएकै भए पनि कविवर घिमिरेको नेपाली साहित्यमा र नेपालीका मनमा पनि यही स्थान र सम्मान पाउने थिए । उनका कालजयी गीत र कविता नेपाली माटो र मुटुका अभिव्यक्ति हुन् । यसैले कविवर घिमिरे नेपाली जनताका कवि भएका हुन् । गद्य कविता रुचाउनेले कविवर घिमिरेका कविताको स्वाद थाहा नपाएका हुनसक्छन् । तर, रुचाउनेहरूले भने उनका कवितामा आफ्ना आँसु र हाँसो दुवै पाउँछन् । नारामा रमाउनेहरू रमाउँदै गरून् साहित्य स्वान्तः सुखाय ठान्न त पाइन्छ नै । ‘दिनहुँ केही नयाँ सिर्जनामा’ र ‘सिर्जनाको सोखमा आफैँलाई बिर्सनुमा’ ‘सच्चा सुख’ देख्ने कविप्रति हार्दिक श्रद्धाञ्जली !