
जनकपुर । प्रदेश २ मा सोमबार कोरोना भाइरस संक्रमित तीन जनाको मृत्यु भएको छ । धनुषामा ५० वर्षीय एक पुरुष र पर्साका २० वर्षीया तथा ४५ वर्षीया दुई जना महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले पुष्टी गरेको छ ।
सोमबार मृत्यु भएका तीन समेत यस प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या २९ पुगेको छ । ती मध्ये धनुषाका दुई जना, महोत्तरीका एक जना, सिरहाका एक जना, सप्तरीका दुई जना, रौतहटका दुई जना, बाराका दुई जना र पर्साका १९ जना रहेका छन् ।
त्यस्तै, सोमबार पर्सामा ९२ जनासमेत यस प्रदेशमा एक सय ५३ जना नयाँ संक्रमित थपिएका छन् । रौतहटमा १९ जना, सर्लाहीमा २२ जना, बारामा चार जना, महोत्तरीमा तीन जना र धनुषामा १३ जना संक्रमित थपिएका छन् । प्रदेशमा कुल संक्रमितको संख्या छ सय १३ जना महिलासमेत पाँच हजार आठ सय ९४ पुगेको छ ।
तीमध्ये सोमबार २२ जना पुरुष र चार जना महिलासमेतगरी अहिलेसम्म तीन हजार तीन सय ८३ जना निको भएर घर फर्केका छन् ।
यस प्रदेशमा सोमबार जम्मा एक हजार जनाको पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको छ । अहिलेसम्म ६९ हजार दुई सय ८० जनाको स्वाब संकलन गरिएकोमा चार हजार सात सय २२ जनाको नतिजा आउन बाँकी रहेको छ ।