
काठमाडौं । हनुमान जयन्तीको शोभायात्राको क्रममा शनिबार (हिजो) पर्सामा भएको घटनाका विषयमा दुई पक्षबीच पाँचबुँदे सहमति भएको छ । सहमतिको पहिलो बुँदामा उक्त घटनामा संलग्न दोषीमाथि विस्तृत छानबिन अनुसन्धान गरी कानुनी कारबाही गर्ने उल्लेख छ ।
त्यस्तै, अन्तरधार्मिक–साम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिबद्ध रही कानुनी कारबाहीको प्रक्रियामा सहयोग पुर्याउन दुवै पक्ष सहमत भएका छन् ।
उक्त घटनामा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने र क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने सहमति भएको छ ।
सहमतिको चौथो ‘धार्मिक, सांस्कृतिक सम्प्रदायले गर्ने कुनै पनि जात्रा, पर्व, कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने, सो गरेमा कारबाहीको दायरामा ल्याउने’ उल्लेख छ ।
दुई पक्षबीच पर्सा जिल्लामा सञ्चालित सबै धार्मिक संघसंस्था तथा तत् तत् संस्थाबाट सञ्चालित विद्यालय–मदरसा इत्यादिको सूक्ष्म अनुगमन गरी अन्यथा देखिएमा कारबाहीको दायरामा ल्याउने सहमति भएको छ ।
दुई समुदायबीच झडप भएपछि पर्सा जिल्ला प्रशासनले स्थिति नियन्त्रणमा लिन आइतबार (आज) मध्याह्न १२ बजेसम्म लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको थियो ।