काठमाडौं । गत हप्ता राजधानीमा तामझामका साथ ‘मिस नेपाल–२०१७’ प्रतियोगिता सम्पन्न भयो । प्रतियोगिताको चर्चा महिनौं अगाडिदेखि थियो । टेलिभिजनहरूले प्रत्यक्ष प्रसारण गरे । निकिता चाण्डकले बाजी मारिन् र सञ्चार माध्यममा छाइन् । अझै पनि ‘मिस नेपाल’ को चर्चा सेलाइसकेको छैन ।
‘मिस नेपाल’ मा फेसनमा मात्रै होइन, धेरै कुरामा चासो राखिन्छ । यो प्रतियोगिता कुरेर टेलिभिजन अगाडि बस्नेहरूको भीडले पनि यसको संकेत गर्छ । भलै यससम्बन्धी चर्चामा पहिलेजस्तो आकर्षण नरहेको धेरैले बताउन थालेका छन् । तत्कालीन नेकपा माओवादी भर्खर खुला भएको बेला ‘मिस नेपाल’ को चर्चा निकै चुलिएको थियो । महिलालाई बजारमा बेच्न राखिएको सोकेसको ‘वस्तु’ सरह व्यवहार भएको भन्दै उसले विरोध गरेपछि त्यसको पक्ष र विपक्षमा बहस हुँदा यसको चर्चा आवश्यकताभन्दा बढी नै हुन पुगेको थियो ।
‘मिस नेपाल’ भएकै भोलिपल्ट ‘मिस्टर नेपाल–२०१७’ प्रतियोगिता थियो । आर्मी अफिसर्स क्लबमा प्रतियोगिता सम्पन्न पनि भयो र ‘मिस्टर नेपाल २०१७’ घोषणा गरियो । बानेश्वरका २२ वर्षीय अक्षय रायमाझी मिस्टर नेपाल भए । तर, थोरैले मात्र पढे होलान् मिस्टर नेपाल प्रतियोगिताको समाचार र मिस्टर नेपाल को भए भन्ने जानकारी ।
महिलाहरूलाई लक्ष्य गरिने ‘मिस नेपाल’ र पुरुषलाई लक्ष्य गरिने ‘मिस्टर नेपाल’ को चर्चा उस्तै हुनुपर्ने हो जस्तो लाग्छ । तर, सबैलाई थाहा छ समान चर्चा छैन यी दुई प्रतियोगिताको । यो वर्षमात्रै होइन, सुरुदेखि नै ।
निकिता चाण्डक ‘मिस नेपाल’ भइन् भनेर देश÷विदेशमा थाहा हुने तर अक्षय रायमाझी ‘मिस्टर नेपाल’ भए भनेर किन थाहा हुँदैन ?
“मिस्टर नेपालको चर्चा भएन भनेर रोइरहनुको म अर्थ देख्दिनँ, प्रतियोगिता सफल बनाउन धेरै पक्षको हात हुन्छ, सबैभन्दा पहिला त आयोजक स्वयंकै हात हुन्छ,” मिस्टर नेपालको निर्णायक मण्डलमा बसेकी अभिनेतृ सरिता लामिछाने भन्छिन्, “मिडियाले हामीलाई साथ दिएन भनेको पनि सुनेँ । आफू पहिला राम्रो हुनुपर्छ । मिडिया आफैँ खोज्दै आउँछ ।”
सरितालाई प्रतियोगिताको निर्णायक मण्डलीप्रति पनि चित्त बुझेको रहेनछ । “मलाई जुरीमा बस्नुपर्यो भनेपछि मैले अरू जुरी मेम्बरको नामावली मागेको थिएँ । तर, प्रतियोगिता स्थल पुग्दा मलाई उपलब्ध गराइएका जुरी मेम्बरको नाम र त्यहाँ उपलब्ध जुरीमा फरक थियो,” उनले भनिन्, “प्रतियोगितामा देशभरबाट प्रतिनिधित्व थियो । सहभागीहरूले सपना बोकेर आएका हुन्छन् तर के त्यो सपना साकार पार्ने अवसर आयोजकले पूरा गर्न सकेको छ ?”
सरिताले ‘मिस्टर नेपाल’ को पनि ‘मिस नेपाल’ को जस्तै छवि बनाउन आयोजकलाई सुझाव दिइन् । उनले ‘मिस नेपाल’ भइसकेपछि काम गर्ने वातावरण उपलब्ध हुने तर ‘मिस्टर नेपाल’ लाई त्यस्तो अवसर प्राप्त नहुने हुँदा यसको महत्त्व कमजोर भएको गुनासो गरिन् ।
कार्यक्रमको व्यवस्थापन राम्रो नभएको भन्दै उनले व्यवस्थापकले ‘प्रोटोकल’ समेत मिलाउन नसकेको गुनासो गरिन् । उनको सुझाव छ, मिस्टर नेपाल छायाँमा पर्नुको कारणबारे आयोजक स्वयंले समीक्षा गर्नुपर्छ ।
निर्णायक मण्डलकै अर्का एक सदस्य भन्छन्, “आयोजकको ठूलो कमजोरी महसुस मैले पनि गरें । नायिका भनेर एनाउन्स गरियो तर उनले कुन फिल्म खेलेकी हुन् मलाई थाहा थिएन । कार्यक्रमको गरिमाअनुसार निर्णायक हुनुपर्छ जस्तो मलाई लाग्छ ।”
नाम उल्लेख नगर्ने सर्तमा उनी भन्छन्, “आयोजकले स्पोन्सरसमेत खोज्न सकेको देखिएन । यस्तै कमजोरी दोहोरिँदै आएकाले पनि होला सायद, सोचेजस्ता प्रतियोगी सहभागी नभएको मैले पाएँ ।”
आयोजक एक्सपोज नेपालका अध्यक्ष दिनेश शाही भने मिस्टर नेपालको चर्चा र चार्म नहुनुमा सञ्चारमाध्यम नै मुख्य कारण भएको जिकिर गर्छन् । “हामीसँग विज्ञापन छाप्नका लागि पर्याप्त पैसा थिएन । स्पोन्सर नभएपछि विज्ञापन छाप्न पाएनौं,” अध्यक्ष शाहीले भने, “मिस नेपालको विज्ञापन लाखौं रुपैयाँमा दैनिक पत्रिकामा छापिन्छ, मुख्य पृष्ठमा । त्यही डिलमा समाचारको डिल हुन्छ । सिङ्गो पेजमै समाचार आउँछ ।”
“जिरो बनाउने र हिरो बनाउने पनि मिडिया नै हो । मिस नेपालको समाचार मुख्यपृष्ठमा छाप्ने मिडियाले मिस्टर नेपालको समाचार भित्री पृष्ठको एउटा कुनामा छापिदिन्छन्,” शाहीले भने, “यस्तो किन हुन्छ भनेर हामीले सोध्यौं, उहाँहरूले भन्नुभयो– पहिलो पृष्ठमा केटीको फोटो छापियो भने पत्रिका बिक्छ तर केटाको फोटो पहिलो पेजमा छापियो भने पत्रिका बिक्दैन, फिर्ता आउँछ ।”
सुरुका वर्षमा ‘मिस नेपाल’ नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वल्र्ड’ मा जान्छ तर ‘मिस्टर नेपाल’ जाँदैन भनेर आफूलाई प्रतिप्रश्न गरिने गरेको प्रसङ्ग उठाउँदै शाहीले भने, ‘‘गत वर्षदेखि ‘मिस्टर नेपाल’ पनि ‘मिस्टर वल्र्ड’ मा जाने व्यवस्था गरिएको छ, तर त्यसमा कसैले चासो देखाएनन् ।’’