
जनकपुर । प्रदेश २ मा बिहीबार नेपाली सेनाका ११ जनासमेत ६३ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये पर्सामा मात्रै ३९ जना रहेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले जनाए ।
पर्साको वीरगन्ज महानगरपालिकामा सात वर्षीया बालिकासमेत चार महिला र १९ पुरुषगरी २३ जना, नेपाली सेनाको चण्डी प्रसाद गणका पाँच जना, श्रीपुर आर्मी ब्यारेकका पाँच जना र वीरगन्ज कारागारका एक जना सैनिक जवान, नारायणी अस्पतालका दुई जना समेत ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा तीन जना, शहिदनगर नगरपालिकाका तीन जना र कर्मचारी सञ्चय कोष, लक्ष्मीनियाँ गाउँपालिका तथा आन्तरिक मामिला मन्त्रालयका एक–एक जना गरी ९ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, महोत्तरीमा दुई जना, बारामा दुई जना, सर्लाहीमा सात जना र रौतहट, सप्तरी तथा सिरहामा एक–एक जनागरी प्रदेश २ मा कुल ६३ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ ।
बिहीबारसम्म यस प्रदेशमा कुल पाँच हजार तीन सय ३५ जना संक्रमित भएकोमा २१ जनाको मृत्यु भएको छ भने तीन हजार दुई सय ५५ जना निको भएर अस्पतालबाट घर फर्केका छन् ।